लामो समयदेखिको कोरोना महामारी विस्तारै मत्थर हुन थालेको छ । मनसुनी वर्षा पनि बाहिरिदै छ । अब घुम्ने मौसम शुरु भएको छ ।
मुलुकभित्रका घुम्ने थुपै्र गन्तव्यहरु मध्ये बुद्ध जन्मस्थल लुम्बिनी अधिकांशको रोजाइमा पर्ने ठाउँ हो । लुम्बिनी घुम्ने उपयुक्त मौसम अब शुरु हुंदैछ । दशै पछाडिको मौसम यहाँ घुम्नका लागि उत्कृष्ट मौसम हो ।
पूर्व पश्चिम राजमार्ग वा गौतमबुद्ध विमानस्थल हुंदै लुम्बिनी पुग्ने पर्यटकहरुका लागि अहिले फराकिला सडकहरु बनेका छन् । बिना झण्झट पर्यटहरु लुम्बिनी पुग्ने वातावरण बनेको छ ।
कोभिड महामारी शुरु भएपछि लुम्बिनी नपुगेकाहरुका लागि लुम्बिनी फेरिएको महसुस हुनेछ । लुम्बिनी विकास कोष परिसरको सडक ४ लेनमा विस्तार भएकाले यहाँ पुग्ने वित्तिकै नौलो अनुभूति हुनेछ ।
केन्जो टाङ्गेले सन् १९७८ मा बनाएको लुम्बिनी गुरुयोजना अनुसार लुम्बिनीको मूल प्रवेशद्वार महिलवार बजारमा रहेको अहिलेको ५ नम्बर द्वार होइन । अहिलेको नयाँ बसपार्क अगाडि रहेको १ नम्बर द्वार नै लुम्बिनीको मूल प्रवेशद्वार हो ।
लुम्बिनी विकास कोषले पर्सा चोकमा लुम्बिनी गुरुयोजना क्षेत्र भित्र प्रवेश गर्ने मूलद्वार बनाइरहेको छ । यही द्वारबाट पसेर बुद्ध जन्मस्थल लुम्बिनीको औपचारिक भ्रमण शुरु गर्न सकिनेछ ।
आध्यात्मिक लाभ प्राप्तिका लागि लुम्बिनी घुम्ने आफ्नै विधि छ । लुम्बिनी गुरुयोजनाले लुम्बिनी भ्रमणको विधि समेत व्याख्या गरेको छ । ११ सय ५५ विगाहा क्षेत्रफलमा फैलिएको लुम्बिनीलाई ४ भागमा विभाजन गरेर त्यसको महत्व दर्शाउंदै लुम्बिनी घुम्ने विधि बनाइएको हो ।
लुम्बिनीको पर्साचोक स्थित नवनिर्मित प्रवेशद्वारबाट भित्र पसेपछि उत्तरतर्फको क्षेत्र लुम्बिनी गुरुयोजनाले छुट्याएका चार भाग मध्येको एक भाग हो । यो क्षेत्रलाई गुरुयोजनाले नयाँ लुम्बिनीग्राम भनेको छ । यो लुम्बिनीको प्रवेश क्षेत्र पनि हो ।
बाहिरको संसारलाई लुम्बिनीको आध्यात्मिक माहोलसँग जोड्न यो क्षेत्रले भूमिका खेल्छ । यो क्षेत्रलाई भौतिक संसार पनि भनिन्छ । यहाँ भौतिक सुख र सुविधाहरु भोग्न पाइन्छ । सस्तो, आरामदायी र सुविधासम्पन्न गरी तीन किसिमका होटलहरु यहाँ छन् ।
तीर्थयात्रीहरुले आफ्नो गच्छेअनुसारका होटलहरुको छनोट गरेर यहाँ बस्न सक्छन् । आफुले रोजेका र खोजेके चीज वस्तुहरु खान पनि पाउँछन् । तर अहिले लुम्बिनी विकास कोष क्षेत्र भित्रका यी होटलहरुमा मात्र पर्यटक अटाउंदैनन् ।
लुम्बिनी विकास कोष क्षेत्र बाहिर पनि दर्जनौं होटल छन् । ती होटलहरुलाई पनि नयाँ लुम्बिनी ग्राम मानेर रात बिताउन सकिन्छ । यहाँको बसाइले लुम्बिनी आएको र पवित्र आध्यात्मिक क्षेत्रमा रहेको अनुभूति गराउनेछ ।
लुम्बिनीको पवित्र माटोमा बसेपछि राती देखिनै एक किसिमको मनोविज्ञान विकास हुने विश्वास गरिन्छ । शान्ति र आध्यात्मिक लाभ प्राप्तिका लागि मानसिक रुपमा तयार पार्ने काम यो क्षेत्रको बसाइले गराउँछ ।
पहिलो दिन
लुम्बिनी प्रवेश गर्दाको पहिलो दिन होटलमा झोला बिसाएर यो क्षेत्र घुम्न सकिन्छ । शान्ति स्तुपा यसै क्षेत्रमा छ । यो क्षेत्र खासगरी लुम्बिनीको जैविक विविधता अबलोकनका लागि महत्वपूर्ण मानिन्छ ।
विभिन्न प्रकारका बोटविरुवा, जडिबुटी, निलगाई, बंदेल, हरिण लगायतका जीवजनावर, लुम्बिनीकै नगरपंक्षी चरा सारस यसै क्षेत्रमा देखिन्छन् ।
अहिले यो क्षेत्रमा प्राणी जगतका लागि पोखरीहरुमा पानी जम्मा गरेर राखिएको छ । सिमसार क्षेत्र विकासका लागि यसले सहयोग गर्छ । यहाँ घुम्न स—साना गोरेटो सडकहरु बनाइएको छ ।
करिव ५ सय प्रजातिका चरा अवलोकन पनि यहाँ गर्न सकिन्छ । यो क्षेत्रमा थुप्रै विकासका काम हुंदैछन् । लाइट एण्ड साउण्ड सिस्टम जडान गरेर यस क्षेत्रलाई रात्रिकालीन भ्रमणका लागि योग्य बनाइदैछ ।
भर्खरै रोपिएका विभिन्न फलफुलका बिरुवाहरु हुर्किरहेका छन् । केही वर्षभित्रै यो क्षेत्र थप हरियालीले भरिपूर्ण हुनेछ ।
यहाँ पर्यटक सूचना केन्द्र र लुम्बिनी विकास कोषको प्रशासनिक भवन निर्माण सम्पन्न भएर सञ्चालनमा छन् ।
यहाँ डोम आकारका कूल ८ वटा भवनहरु बन्दै छन् । लुम्बिनी विकास कोषले यी भवनहरुलाई लुम्बिनीको धरोहरका रुपमा लिएको छ ।
बैंक, प्रहरी, उपचार भवन, ट्राभल एजेण्ट र रेष्टुरेष्टका लागि यस्ता भवनहरु बन्नेछन् ।
क्याम्पिङ् गर्ने ठाउँ समेत बन्दैछ । अन्डरग्राउन्ड टेलिकम्युनिकेशन, विद्युतीय विस्तार र ढल निकासको काम शुरु भएका छन् ।
यसै क्षेत्रमा हाइ स्कूल तथा अस्पतालको परिकल्पना समेत गुरुयोजनाले गरेको छ । यहाँ भर्खरै निर्माण भएका दुइवटा खानेपानी टंकीले लुम्बिनीको आकर्षण थपेको छ । यो क्षेत्र घुम्न शुरुको एक दिन पूरै लगाउन सकिन्छ ।
दोस्रो दिन
अर्को दिन बिहानै उठेर नित्यकर्म गरेपछि लुम्बिनीको अर्को पवित्र क्षेत्रमा प्रवेश गरिन्छ । यो क्षेत्र केही सानो छ तर निकै महत्वपूर्ण छ । यसलाई गुरुयोजनाले सांस्कृतिक क्षेत्रको रुपमा पहिचान दिएको छ ।
यसलाई बौद्धिक संसार पनि भनिन्छ । किनकी यो क्षेत्र ज्ञान पाइने क्षेत्र हो । लुम्बिनी, यसको इतिहास, प्राचीन र पुरातात्विक महत्व, कपिलवस्तु क्षेत्रको महत्व, लुम्बिनी क्षेत्रको जैविक विविधता, सांस्कृतिक तथा प्राकृतिक महत्व, बौद्ध दर्शन र यसका महत्वहरु बुझ्न, पढ्न र देख्न यसै क्षेत्रमा म्यूजियम छ ।
पुरातात्विक उत्खननहरुबाट प्राप्त थुप्रै प्राचीन र ऐतिहासिक सामग्रीहरुको अध्ययन गर्न यसले निकै ठूलो सहयोग गर्छ ।
सूचना केन्द्र पनि यसै क्षेत्रमा छ । पर्यटकका लागि आवश्यक सम्पूर्ण सूचनाहरु यहाँ पाइन्छ । लुम्बिनीको गुरुयोजना, विकास लगायतका विषयमा बुझ्न सूचना केन्द्र जान सकिन्छ ।
त्यसपछि यसै क्षेत्रमा अन्तरराष्ट्रिय स्तरको पुस्तकालय पनि छ । बौद्ध धर्म, दर्शन वा बुद्ध जीवनी मात्रै होइन संसारभर फैलिएको बौद्ध जगतका विषयमा अध्ययन गर्न चाहनेहरुका लागि यो ठाउँ यथेष्ट छ ।
यहाँ एक दिन बिताउन सक्दा पर्यटकका लागि निकै लाभदायी हुन्छ । यो ठाउंबाट ज्ञानप्राप्ति गरेर बाहिर निस्किदा उत्साह र उमंग प्राप्त हुने विश्वास छ । यो क्षेत्रमा लुम्बिनीका धरोहर मानिने डोम आकारका भवनहरु छन् ।
ती भवनले लुम्बिनीलाई छुट्टै पहिचान दिएको छ । पुस्तकालय र म्युजियमको नजिकै पाँच हजार श्रद्धालुहरुले एकैपटक ध्यान तथा योगा गर्न मिल्ने भब्य सभाहल निर्माण भएको छ । ठूला, राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वका सभा समारोह यसै हलमा आयोजना हुनेछन् ।
तेस्रो दिन
अर्को संसार गुरुयोजनाले भनेको विहार क्षेत्र हो । विहार क्षेत्र ठूलो छ । त्यसकारण पनि यसलाई सानो बौद्ध संसार भनिन्छ ।
बौद्ध धर्म र लुम्बिनी गुरुयोजनाका ज्ञाताहरु यसलाई शुद्धिकरणको संसार पनि भन्छन । मानिसलाई साह्रै पीर पर्यो भने ऊ मन्दिर जान्छ, भगवान सम्झिन्छ, शान्त सँग बस्छ र पूजा गर्छ ।
यहाँका विहारहरुमा केही छिन बिताएपछि विस्तारै उसको मन हलुका हुंदै जान्छ । दुःखी मनलाई खुसी बनाउनकै लागि यो क्षेत्रको विहार गर्नुपर्छ भन्ने मान्यता छ । मन हलुका गर्ने वा शान्त पार्ने भनेको चित्त सफा बनाउने हो । आत्मबल बढाउने हो । यहाँ घुमेपछि राग, द्वेश, मोह, भय हराएर जान्छ ।
किनकी यहाँ भक्ति गरिन्छ । भक्ति गरेपछि विश्वास पनि पैदा हुन्छ र मन शुद्ध हुन्छ । नकारात्मक भावनाहरु हराउँछन् । पवित्र मन शक्तिशाली मन हो । अझ यहाँ त एउटा मात्र होइन, थुप्रै मन्दिर छन् ।
सबै मन्दिरमा विस्तारै घुम्दै जाँदा मन पवित्र मात्रै हुंदैन, बौद्ध जगतले भगवान मान्दै आएका गौतम बुद्धको खास जन्मस्थलमा पाइला टेक्नु अघि अघि मन शुद्ध हुन्छ र उनको दर्शनका लागि तयार भइन्छ भन्ने मान्यता छ ।
विहारहरुको भ्रमणले पवित्र भएको चित्त वा मनले हामीलाई खुसी बनाउँछ । खुसी मन लिएर पवित्र उद्यान क्षेत्र प्रवेश गर्नुअघि शान्ति दीप पुगिन्छ ।
शान्ति दीपबाट उत्तरतिर फर्केर हेर्दा केन्द्रिय नहर निकै आकर्षक देखिन्छ । यसै नहरको दुवैतिर पूर्वी र पश्चिमी बिहार क्षेत्र बिभाजन गरिएको छ ।
यो क्षेत्रमा थेरबादी विहार, महायानी, बज्रयानी बिहार, स्तुप तथा ध्यान केन्द्रहरु निर्माण गर्ने लक्ष्यका साथ विभिन्न बिहार र गुम्बाका लागी ४३ वटा प्लटहरु छुट्टाईएको छ ।
जसमध्ये पूर्वी विहार क्षेत्रमा थेरावादी वौद्ध सम्प्रदायका १३ वटा मूलुकहरुमध्ये नेपाल लगायत ७ वटा मुलुकका आकर्षक विहारहरु निर्माण भइसकेका छन् ।
पश्चिमी विहार क्षेत्रमा महायानी सम्प्रदायका २९ मुलुकमध्ये २१ वटा मुलुकहरुले आफ्नो संस्कृति झल्कने आकर्षक विहारहरु बनाइसकेका छन् । ती मध्ये केही विहारहरु निर्माणाधिन छन् । बाँकी मुलुकहरुले निर्माणको काम थालेका छैनन् ।
वीचमा सङ्लो पानी सहितको नहर आकर्षक देखिन्छ । खुट्टाले चलाउने ध्वनी प्रदुषणरहित डुंगाबाट यो नहरको सयर गराउने योजना गुरुयोजनामा छ । यद्यपी अहिले मोटरबोट संचालनमा छन् ।
यसलाई विस्तारै विस्थापित गर्ने योजना लुम्बिनी विकास कोषको छ । नहरको दुवैतर्फ हाल रहेको सडक क्षेत्रमा विभिन्न रंगिविरंगी फूलहरु रोप्ने काम शुरु भएको छ ।
केन्द्रीय नहरवाट कोरियन विहार जाने सडकको दुवैतिर पनि बगैंचा निर्माण भइरहेको छ । त्यहाँ लस्करै ठडाइएका फलामका पोलहरु हटाएर अझ भब्य र आकर्षक देखिने इटालियन पोलहरु राखिएका छन् ।
जसका कारण रातीको समय केन्द्रिय नहर क्षेत्र निकै मनमोहक देखिन्छ । जलयात्रा, पैदलयात्रा वा विद्युतीय रिक्सामार्फत यहाँका विहारहरु पालैपालो घुम्न सकिन्छ ।
चौथो दिन
गुरुयोजना भित्रका तीनवटा क्षेत्र घुमेपछि पवित्र र शान्त मन लिएर अन्तिम दिन मूख्य क्षेत्र पवित्र उद्यान क्षेत्रभित्र प्रवेश गरिनेछ ।
सिंगो लुम्बिनी भ्रमण गरेपछि आध्यात्मिक लाभ प्राप्तिका लागि पवित्र उद्यान क्षेत्रभित्र प्रवेश गर्नुअघि चित्त सफा हुनुपर्ने मान्यता अनुरुप अघिल्लो तीन दिनको समय यहाँ बिताउनु परेको हो ।
यही क्षेत्रमा शाक्यमुनी गौतम बुद्धले पहिलो पाईला टेकेका थिए । यो पबित्र उद्यान क्षेत्रलाई चारैतिरबाट गोलाकार पोखरीले घेरिएको छ ।
भगवान बुद्धको जन्म भएकाले यस क्षेत्रलाई सृष्टिको एक प्रतिबिम्व पनि मानिएको छ । गोलाकारको अर्थ पृृथ्वी पनि हो । पृथ्वी यस्तो ग्रह हो जहाँ जीवन छ ।
जीवनका लागि पृथ्वीमा दुइ भाग पानी र एक भाग जमिन भएजस्तै पवित्र उद्यान क्षेत्रमा पनि दुइ भाग पानी र एक भाग जमिन छ ।
अर्को अर्थमा यो क्षेत्रलाई मायादेवीको गर्भको रुपमा व्याख्या गरिएकोे छ । त्यसैले यो गर्भाकारमा निर्माण भएको छ । गर्भ भित्र पानी र पानी भित्र भ्रुण रहेजस्तै यहाँ बाहिरी घेरामा पानी र भित्री भागमा पवित्र मायादेवी मन्दिर छ ।
त्यस्तै यसलाई अनन्त घुमिरहने घडीको रुपमा पनि लिइन्छ । गोलो घेरा अनन्त हुन्छ । कहिल्यै अन्त्य हुंदैन । घुमिरहन्छ । सृष्टिका सवै ग्रहहरु गोलाकार छन् । सिंगो सौर्यमण्डल पनि गोलाकार छ ।
त्यसैले यसलाई पनि अनन्त गोलाकार सृष्टिको रुपमा व्याख्या गरिएको छ । यो पवित्र क्षेत्र भित्र भगवान बुद्धको जन्म भएकाले यो क्षेत्रको दर्शन लुम्बिनी पुगेका दर्शनार्थीले अन्तिम दिन मात्र गर्नुपर्ने मान्यता छ ।
गोल पोखरी भित्र मायादेबी मन्दिर, पबित्र कुण्ड,अशोक स्तम्भ, पुरातात्विक महत्वका भग्नावशेषहरु, प्राचीन लुम्बिनीग्रामका अवशेषहरु मात्र रहने गरी अरु कुनै पनि संरचना निर्माणका काम गर्न रोक लगाईएको छ ।
उत्तर पश्चिमबाट आउने बाढीको पानी पवित्र क्षेत्रभित्र पस्न बाट रोक्नका लागि गोलाकार नहरहरु बनाईएको हो । पबित्र क्षेत्रलाई बिश्व आरक्षण समाजको १ देखि ६ डिसेम्बर १९९७ को सभाले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो ।
पवित्र क्षेत्रमा दायांँ बायांँ वा पूर्व पश्चिम गरी दुई क्षेत्रमा दुई– दुई सय जनासम्म साधक साधिकाहरु अटाउने ध्यानकुटी र गोलाकार नहरको बाहिर पवित्र पुरातात्विक क्षेत्रको हेरचाहका लागि पुरातात्विक कार्यालय बनाइएको छ ।
गोलाकार पोखरी बाहिर एउटा विशिष्ट अतिथिगृह र अर्को अति विशिष्ट अतिथिगृह बनाउने योजना समेत छ । उद्यान क्षेत्रभित्र बुद्धको जन्म भएको स्थान, मायादेबी मन्दिर, मायादेबीले स्नान गरेको चिसो र तातो पानीयुक्त २ वटा कुण्ड भएको पोखरी, अशोक स्तम्भ र त्यस वरिपरी प्राचीन बिहार, चैत्य आदिका भग्नावेशषहरुको संरक्षण गरी आगन्तुक तीर्थयात्रीको मनलाई शान्त र शीतल पार्न बुद्धकालीन प्राचीन बगैचालाई झल्काउने गरि विभिन्न फूल र बिरुवाहरु रोपिएका छन् ।
तर यहाँ रहेका ४१ वटा उद्यानका प्लटहरु मध्ये ३ वटा प्लटहरुमात्र तयार भएका छन् । बाँकी सवै प्लटहरुलाई यसैवर्षदेखि सून्दरीकरण गर्ने योजना छ । पवित्र उद्यान क्षेत्रमा गुरुयोजना अनुसार निर्माण गर्ने ठूला संचरनाहरु करिव सम्पन्न भएका छन् ।
उद्यानलाई परिक्रमा गरेको पोखरी सफा गर्ने काम बाँकी छ । अहिलेको पोखरीलाई दोब्बर बढाएर घांस तथा झारहरु उम्रिन नमिल्ने गरि सफा गर्ने र पोखरी वरिपरिको भिरालो जमिनमा दुवो, फूल तथा छहारी दिने स–साना रुख रोप्ने काम शुरु भएको छ ।
पोखरीका विभिन्न ५ स्थानमा पानीका रंगिन फोहोराहरु बनाउने योजना समेत छ । पोखरीमा जलचर प्राणीहरु र चराचुरुड्गिको आगमन वृद्धि गर्न उनीहरुको वासस्थान सुरक्षित गरेर यसको सुन्दरीकरण गर्ने योजना छ ।
आगामी वर्षभित्र यसको निर्माण कार्य पुरा हुनेछ । पोखरीको डिलमा बनेको परिक्रमा पथमा ईंटा छाप्ने काम पनि पुरा भइसकेको छ । तर यसको मर्मत सम्भार राम्रो हुन सकेको छैन ।
पोखरी सुन्दरीकरणका कामसंगै यसको मर्मत सम्भार गरेर अझ सुन्दर बनाइने छ । पवित्र उद्यान क्षेत्रभित्रका पवित्र सम्पदाहरु घुमेर, ध्यान केन्द्रहरुमा ध्यान बसेर, सुन्दर बगैंचाहरुको अवलोकन गर्दै यसअघि मूलद्वार भनिने महिलवार प्रवेशद्वारबाट बाहिर निस्केपछि मात्र लुम्बिनीको भ्रमण सकिनेछ ।