गोंड लोककथा अनुसार आर्यको आगमनभन्दा अघि यो भूमि ठूला राजाहरुद्वारा शासित थियो। यहाँ आदीपेरियोल र सुकमापेरीदेखि शुरु भई ८८ साम्बोहरुले राज गरे। यो बंशानुक्रममा बाणासुर, कलियानाग, जटासुर, रावण, अहिरावण, महिरावण र विश्रव्य तथा राजकुमारीहरु मौला, गिरिजा, गौरा, मंदोदरी, तडका, शूर्पणखा र त्रीजटा पर्छन्।
आर्यको धार्मिक ग्रन्थहरुमा आदिवासी र रावण(जो दिव्य साम्बो बंशका हुन्) दूर्भावनापूर्ण र नीच चरित्रका रुपमा प्रतिबिम्वित भएको पाइन्छ।
निकै तल गिरेर आर्यहरुले रावणलाई दुष्ट, नीच, अयोग्य, अहंकारी तथा अभिमानीको रुपमा चित्रित गरेका छन्। त्यो पनि मान्छेको रुपमा होइन, राक्षसको रुपमा। उनलाई यसरी चित्रित गरिएको छ, मानौं उनमा मानवीय दया, प्रेम, विचार, ज्ञान, सद्भावना झिनो रुपमा पनि थिएन।
वास्तवमा उनी कोही अर्को व्यक्ति जस्तै दुई हात, दुई खुट्टा, दुई आँखा र एक टाउको भएका मानिस थिए। उनी कुबेर विरेन्द्र भनेर चिनिने निकै सुन्दर राजा विश्रव्यका छोरा थिए। विश्रव्य आफू भने पुलस्त्य र त्रुणबिन्दुका छोरा हुन्। रावण वास्तवमा रावेण भनेर चिनिन्थे। निलो घाँटी भएको चरालाई गोंड भाषामा रावेण भनिन्छ। यो चरालाई उनीहरुले कुल देवताका रुपमा मान्थे।
तर आर्यहरुले आफ्ना ऐतिहासिक तथा धार्मिक किताबहरुमा रावणको वास्तविक पहिचान मेटाइदिएर सिधै आफ्नो बंशसँग जोड्न थाले। केही किताबहरुमा पुलत्स्यलाई मानसपुत्र भनिएको छ र उनलाई ब्राह्माको दिमागबाट जन्मिएको भनेर चित्रित गरिएको छ। यसरी नै कल्पित कथाहरु निर्माण गरी रावणको मूल पहिचान मेटाइदिए।
ब्राह्मा आर्य थिए र आदिवासीका लागि आर्यहरु बाहिरबाट आएका दुष्मन थिए। त्यसो हो भने विश्रव्य जस्ता अनार्य कसरी ब्राह्माका सन्तान कसरी हुन सक्छन्? आर्यले रावणलाई आफ्नो अधिनमा मात्र लिएनन्, उनलाई ब्राह्मणको रुपमा चित्रित पनि गरे। यदी उनी साँच्चिकै ब्राह्मण हुन् भने आजसम्म पनि उनको पुत्ला किन दहन गरिन्छ?
यसो त रावणले सितालाई अपहरणमात्र गरेका थिए। बलात्कार गरेका थिएनन्। न त यातना नै दिएका थिए। सितालाई उनले छुँदासम्म पनि छोएनन्। कुनै कामूक नजरले पनि हेरेनन्। यतिसम्म की उनले गालीसम्म पनि गरेनन्। अपहरणको कारण सबैलाई थाहा छ: उनको प्रिय बहिनी शुर्पणखा।
शुर्पणखाले लक्षमणलाई देख्नासाथ उनले आफूसँग विवाह गर्न आग्रह मात्र गरेकी थिइन्। उनको ‘गल्ती’ त्यतिमात्र थियो। तर त्यसको बदला राम र लक्षमणले उनलाई पछ्याएर छोपे। त्यसपछि बाँधेर त्यतिराम्री राजकुमारीको आँखा, कान काटेर अंगभंग पारे र त्यही छाडे।
राम र लक्ष्मणले यस्तो जघन्य र अक्षम्य अपराध गरे पनि उनीहरु देवता मानिन्छन्। उनीहरुलाई मर्यादा पुरुषोत्तम तथा आदर्श पुरुष जस्ता उपाधिले सम्मान गरिन्छ। उनीहरुको पुत्ला दहन किन गरिदैंन? यता रावण भने एक गलत कदमका कारण तिरस्कृत भइरहेका छन्। यो कस्तो न्याय हो? रावण यदी साँच्चीकै ब्राह्मण हुँदा हुन् त राम र लक्ष्मणको जस्तै उनका कर्तुतहरुले पनि माफि पाइसकेका हुनेथिए।
“रामायणमा वाल्मिकीले रामको स्तुती गाएपनि जानी-नजानी रावणको महानताबारे केही प्रकाश पारेका छन्,” दलित प्यान्थरका संस्थापकमध्येका एक अरुण कांबलेले आफ्नो किताब रामायणमा सांस्कृतिक संघर्षमा लेखेका छन्।
“रावण राक्षस संस्कारको मुख्य प्रतिनिधि स्वरुप दानवका राजाका रुपमा चित्रित भएका छन्। ‘वयं रक्षाम’ उनीहरुको आदर्श वाक्य थियो। उनीहरु रक्षक थिए। ‘रक्ष’ उनीहरुको गैर-आर्य द्रविड विरासतको सन्दर्भमा प्रयोग भएको छ। यहाँ जनता, देश, वंश, धर्म, संस्कृति, सबै पञ्चतत्व र जीवन रक्षा गर्नेलाई ‘रक्षक-राक्षस’को अर्थ दिइएको छ। यीनै रक्षकहरु नै राक्षस हुन्,” कांबलेले लेखेका छन्।
यसरी नै महाराष्ट्र सरकारद्वारा प्रयायोजित एक ‘मराठी विश्वकोष’मा धेरै अध्येताहरुले ‘राक्षस’ शब्द ‘रक्षा’बाट आएको बताइएको छ। ‘वयं रक्षाम’को अनुवाद ‘हामी जो रक्षा गर्छौं’ भन्ने हुन्छ।
राक्षसहरु आदिवासी थिए। उनीहरुले आर्यन आक्रमणबाट आफ्नो संस्कार र जीवनपद्दतिलाई रक्षा गर्न चाहन्थे। यी मानिसहरु किन रक्तपिपाशुको मानिए? उनीहरुलाई राक्षसी चरित्रभएका मानिसको रुपमा किन चित्रित गरियो? रावणको १० वटा टाउका कसरी भए? उनलाई किन सधैं लामा दाँत र नङ्गा भएको कुरुप आकृतिका रुपमा देखाइन्छ?
रामायण तथा अन्य हिन्दू धर्मग्रन्थले राक्षसहरुलाई वर्णन गर्न निकै घृणित अपमानजनक शब्दको प्रयोग गरेका छन्। यसले हजारौं बर्षदेखि मानिसहरुको मानसपटलमा राक्षसहरुको घृणित छवि बनाइराखेको छ। अझ रावण त सबैभन्दा ठूलो पापीको रुपमा मानिएको छ। उनी जहिले नालायक र दुर्जन व्यक्तिको रुपमा चित्रित भएका छन्।
यदी उनीसँग १० वटा टाउको हुन्थेभने उनी कसरी आमाको कोखबाट जन्मिए? उनले कसरी खाए, सुते, बोले अथवा देखे?
रावण खासमा १० टाउके थिएनन्। उनीसँग एउटा मात्र टाउको थियो। उनी मानव थिए, हामी जस्तै। उनकी पत्नी थिइन्। बच्चाहरु थिए। आमाबाबु र आफन्तहरु पनि थिए। उनीसँग करुणा, भावना, सोचाइ, खुसी र दुख सबै थिए। उनीसँग १० वटा टाउको थिएन। बरु १० वटा व्यक्तिको जति क्षमता भने थियो। उनी शास्त्र, भगवान र प्रकृतिका बारेमा अथाह ज्ञान भएका पाराङ्गत बुद्धिजीवि थिए।
उनी निकै बहादुर र युद्धकलामा प्रशिक्षित थिए। एक बलिया राजा थिए। उनको राज्य धनि र समृद्ध थियो। उनको घर सुनले भरिएको हुथ्यो। उनीजस्तो धनी अरु कोही पनि थिएन। उनका आर्य दुष्मनहरु उनको रुप, गुण, साहस, बुद्धि र धनको डाह गर्दथे। यहीँ इर्ष्या कै कारण कारण आर्य इतिहासकारहरुले उनलाई एक घृणित खलनायकका रुपमा चित्रित गरेका हुन्।
रावणकी पत्नी मंदोदरी एक मयदानव वा मयसुरा भनिने गोंड राजाकी छोरी थिइन्। आज जहाँ दिल्ली भनेर चिनिन्छ त्यहाँ उनको प्राचिन राजधानी मयनार थियो भन्ने विश्वास गरिन्छ। मयसुरा वैज्ञानिक थिए। आज उनलाई वास्तुकलाका संस्थापक भनेर पनि चिनिन्छ। उनले धेरै किल्ला र दरवारहरु निर्माण गरेका थिए। हामी मयसभा वा मायासभा(मायाको महल)सँग परिचित छौं। मयदावनले महलभित्र छिर्न खोज्नेलाई थुन्न यस्तो विल्डिङ बनाएका थिए। यो महल निर्माण गरेलगत्तै उनले मयमतम् लेखे, जसलाई वास्तुशास्त्रको ग्रन्थ भनेर चिनिन्छ।
मयदानव रावणका सल्लाहकार पनि थिए। विवाहमा उनले रावणलाई रामायणमा उल्लेख गरिएको उड्न सक्ने रथ अर्थात पुष्पक विमान उपहार दिएका थिए।
आफ्नो पुस्तक ‘प्रदुषित रामायण’मा श्रीकान्त शेट्टीले राम उतीसारो बलियो, सह्रनीय, धनि, बुद्धिमान अथवा युद्धकलामा प्रशिक्षित नभएको लेखेका छन्। उनले रावणलाई उनका भाई विभिषणले धोका दिएका कारण राम बाँचेको भनी उल्लेख गरेका छन्।
रावण १८ कलामा पाराङ्गत थिए। उनीले मन्त्र फुक्न र जादू देखाउन जानेका थिए। उनको लंका लक्ष्मी कै बरदान पाएजस्तो धनि थियो। एकातर्फ निकै धनि र समृद्धशाली रावण, अर्कातर्फ सानोतिनो जमिन्दार राम, यी दुई कसरी तुलनीय छन्?
रावण साम्बो(शम्भू)को पूजारी थिए। उनले आदिवासी समाजका मानिसहरुको आत्मरक्षाका लागि ठूला लडाइँ लडेका छन्।
तर रामका क्रियाका कारणहरु उतिसारो राम्रा थिएनन्। रावणलाई मारेपछि उनले सितालाई भनेका छन्, “मैले यो तिम्रो लागि लडेको थिइनँ। तिमीले मेरो बंशमा ल्याएको अपमानलाई हटाउनका लागि लडेको हुँ। तिमी अब जहाँ चाहन्छु त्यहाँ जान सक्छौं, अब तिम्रो बाटो खुला छ। अथवा तिमी मेरा जुनसुकै भाईहरुसँग पनि बस्न सक्छौ।” यो कुराले के रामलाई भगवान बनाउँछ त?
त्यहाँ रावणलाई निठूर मुटु भएको, रिसाहा, नीच, अभिमानी र घमण्डी व्यक्तिको रुपमा पोत्न निकै ठूलो षड्यन्त्र रचिएको थियो किनभने उनी एक आदिवासी राजा थिए।
यी सबै कुराहरु थाहा पाइसकेपछि रावण राक्षस थिए भन्ने कुरा विश्वास गर्न गाह्रो हुन्छ। त्यैपनि आर्य ब्राह्मणहरुले किन रावणलाई घृणा गर्छन्?
अन्य धेरै राक्षसहरु जस्तै रावण पनि आर्यको बलिदान-रिवाजको बिरोधमा थिए। जतिबेला त्यस्ता अनुष्ठानहरु आयोजना गरिन्थे राक्षसहरुले आएर विथोलिदिन्थे। तर, किन उनीहरु त्यसको बिरोधमा थिए त? कांबले लेख्छन्, “रामायणमा वर्णन गरिएका कर्मकाण्डमा मद्यपान, जनावरको बलिदान तथा खाद्यान्न जलाउने जस्ता कार्य हुने गरेको उल्लेख छ। हजारौं गाई/गोरु काटिन्थे। हजारौं महिलाहरु बलात्कृत हुन्थे। अपमानित हुन्थे।”
रावणले त्यस्ता कर्मकाण्डको बिरोधमात्र गर्दैनथे, उनले त्यस्ता हर्कत गर्नेलाई मृत्युदण्ड वा त्यस्तै खाले कडा सजायको घोषणा गरेका थिए। किनभने रावण प्रकृति पूजक थिए-निलो घाँटी भएको चरा(रावेण) उनको वंशको ‘टोटेम’ थियो। उनले महिलाहरुको सम्मान गर्थे। आमाको पूजा गर्थे।
यसबाट हामीले भन्न सक्छौं, रावण यो भूमिको वास्तविक वासिन्दा थिए र गोंड संस्कृतिमा विश्वास राख्दथे। उनी एक समतावादी थिए। प्रकृति पूजक थिए। न्यायलाई कायम राख्थे।
सामूहिक आदिवासी परम्परासँग तालुक राख्ने भएकाले ब्राह्मणहरुसँग उनका लागि घृणा थियो । त्यसैले उनीहरुले रावणलाई अभिमानी र घमण्डी करार गरिदिएका थिए।
हजारौं बर्षदेखि गोंडहरुले रावणलाई आफ्ना राजा मान्दै आइरहेका छन्। आफूहरु उनका सन्तति भएको विश्वास मान्छन्। आज पनि मध्यप्रदेश र महाराष्ट्रको सिमामा रहेका गोंड वंशका आदिवासीहरुले ठूलो भक्तिका साथ रावणको पूजा गर्छन्। दशहरासम्मका ९ दिन उनीहरुले रावणलाई धुमधामका साथ सम्मान गर्छन्। यहाँ रावणका नाममा मन्दिर बनाइएका छन्। मध्ये भारतका गोंडहरुले पनि रावणका लागि बर्त बस्छन् र उनको पूजा गर्छन्।
केही अध्येताहरुको तर्क छ रावण साँच्चिकै गोंड राजा थिए। यी अध्यताहरुमा ईयी रामसामी, जो पेरियारका नामले परिचित छन्, हँसमुख संकलिया, भेनकटेश आत्राम, एलके मादवी, भदान्त आनन्द कौशल्यायन, एलएस सागर र मोतिरावण कंगाली पर्छन्।
मादवीको तर्क छ, रावण ताड कुलका थिए जो ताड (Palm) रुख प्रजातिसँग जोडिएका छन्। उनी लेख्छन्, “गोंडी भाषामा ‘रा’ भनेको ताडको रुख हो र ‘वण’ भनेकव जंगल हो। त्यसैले रावणको अर्थ ताडको जंगल भन्ने हुन्छ। शुर्पणखाको नाम पनि ताडको रुखसँग सम्बन्धित छ। उनको नामले सुन्दर नाक, आँखा र कान भएकी भएकी महिला जसको सुन्दरता ताडको पातसँग मिल्छ भन्ने कुरा अर्थ्याउँछ। मंदोदरीको नाम भने बर्षाका भगवान भ्यागुता हो भन्ने विश्वाससँग जोडिएको छ।”
भारतमा रावणप्रति समर्पित गोंड समूदायको पुजास्थलहरु छन्। जसलाई राउड भनिन्छ। ठूलो समूदायमा गोंड परिवार भएका जुनसुकै स्थानमा पनि रावणको पूजा अस्तित्वमा छ। आजपनि धेरै आदिवासीले दिवालीको समयमा रावणका छोरा मेघनादको पूजा गर्छन्। महाराष्ट्रको अन्द्रपूर जिल्लामा रहेको चन्दगढमा गोंडले रावण पूजाको पुरातन संकृति पछ्याएका छन्। सोही जिल्लाकै बाबुपेठमा ठूलो रावणको दश टाउके ढुङ्गाको मूर्ति छ जसको पुजा गर्ने गरिन्थ्यो।
पेशवाको शासनकालमा यो मूर्तिलाई गोबर र ढुङ्गा प्रहार गरी तोडफोड गरिएको थियो। पछि ब्राह्मणहरुले उक्त मूर्तिलाई दश टाउके दूर्गाको भनी पूजा गर्न थाले र रावणलाई गोंडी राजाका रुपमा पूजा गर्ने ऐतिहासिक कर्मकाण्डको विधिवत् अन्त्य गरिदिए। त्यैपनि चन्दगढ किल्लाको बिनबा गेडमा अझै पनि रावणको कलात्मक मूर्ति अवस्थित छ।
नागपूरको गरोबा चोक ‘गर’ पूजाको स्थल हुने गर्दथ्यो। गर काठबाट बनेको एक पवित्र संरचना हो जसलाई रावण र मेघनादको प्रतिक मानिन्छ। यो चोकलाई पहिले पहिले गर चोक भन्ने गरिन्थ्यो। महाराष्ट्र, मध्यप्रदेश, छत्तिसगढ, आन्द्रप्रदेश, तेलांगना र कर्नाटकका गोंडहरुले रावणलाई गरको रुपमा पूजा गरिरहेका छन्।
सन् १९९१ देखि महाराष्ट्रको गढिचिरौली जिल्लाको परसवाडी गाउँमा मणिरावण दुगा गुरुजी रावण पूजा र रावण महोत्सव मनाइँदै आएको छ।
महोत्सवमा रावणको एउटा मूर्ति स्थापना गरिन्छ र दश दिनसम्म उनको जीवनका बारेमा विभिन्न प्रवचन तथा विमर्षहरु सञ्चालन गरिन्छ। यहाँ रावणको कथा निकै धुमधामका साथ मनाइन्छ। यी क्षेत्रमा दशहरामा रावणको पुत्ला दहन गर्न पुरै रोकिएको छ। यहाँका मानिसहरु रावण आफ्नो राजा हो भन्ने कुरामा प्रतिवद्ध छन् र उनको पुत्ला दहन गर्न दिदैंनन्। त्यसरी नै अमरावतीकी महानंदा टेकम पछिल्लो दशकदेखि आफ्नो जिल्लामा पुत्ला जलाउने कार्य रोक्न र रावणको पूजालाई पुनर्स्थापना गर्न लागि परेकी छन्।
सन् १८६८ मा कानपूरमा एउटा भयंकर रावण पूर्ति खडा गरिएको थियो। प्रत्यक साल दशहरामा यो स्थानलाई खुला गरिन्छ र रावण महोत्सव मनाइन्छ। महाराष्ट्रको अमरावतीस्थित मेलघाटमा कोर्कु गोंडहरुले ठूलो महोत्सव आयोजना गर्छन्। महोत्सवमा रावण, मेघनाद र कुम्भकर्णको पूजा गरिन्छ।
गोंडी र कोर्कु लोक गीतहरुमा रावणको निकै सुन्दर वर्णन हुने गरेको छ।
एक उदाहरण यस्तो छ:
जब हाम्रा राजा लंकाबाट हिड्छन्
धरती पनि हल्लिछ
उनको चाल त्यती शक्तिशाली छ
उनको मुकुट मणि, मोति र हिराले चम्किन्छ
सुर्यको चमक उनको शान्त अनुहारमा झल्किन्छ
सुन्दर राजा रावण
सिताले उनको सुन्दरता देखिन्
र, उनलाई पछ्याउने निर्णय लिइन्
यी सुन्दर पंक्तिबाट थाहा हुन्छ, आदिवासी संस्कृतिमा रावणको कद ठूलो र सम्मानित छ। यस्ता गीत तथा रावणका लोक कथाहरुमा हामीले उनको सुन्दरता, बहादुरी, बुद्धिमत्ता र प्रकृतिप्रतिको भक्ति तथा समृद्ध लंकाको बारेमा थाहा पाउँछौं।
-मराठी भाषामा रहेको यो लेखलाई द कारवांका लागि रुजुता दातेले अंग्रेजीमा र लुम्बिनी टाइम्सका लागि अंग्रेजीबाट जीवराज चालिसेले नेपालीमा अनुवाद गरेका हुन्।