रुपन्देही । गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको भन्दै केही तस्बिर र भिडियो भाइरल भयो । चाउमिन खुवाउने बहानामा बालिकालाई भगाउन खोजेको भन्दै स्थानीयले एक महिलालाई नियन्त्रणमा लिए ।
यो दृश्य रुटिन अफ बुटवल बन्द, तिलोत्तमा खबर डबली, रानीमहल, तिलोत्तमा सिटीलगायतका फेसबुक पेजबाट सेयर भएपछि लाखौले हेर्ने र सेयर गर्ने काम भयो । केहीबेरमै भिडियो भाइरल बन्यो । जिल्लामा बालबालिका चोरको हल्ला निकै फैलियो ।
मंगलापुरमा साँझ एक अपरिचित महिलाले एक बच्चा झाडीको बाटो लगिरहेको देखेर रोकेर सोधपुछ गर्दा भाग्न खोजेको र तुरुन्त मंगलापुर पुलिसलाई खबर गरी पक्राउ गरेको भनी गलत हल्ला फिंजाइयो । प्रहरीले सोधपुछ गर्दा यो घटना गलत भएको पुष्टि भयो ।
भारतीय महिलाले चोरेर लैजाँदै गरेको भनि गलत प्रचार गरेको यो घटना प्रहरीलेले आफन्तलाई सोधपुछ गर्दा बालिका उनैको छोरी भएको प्रमाणित भयो ।
बच्च चोरी गरी हिँडेको भन्ने आरोप लगाइएकी महिला पाल्पा तानसेन नगरपालिका –७ लामिडाँडा बस्ने ज्योति रञ्जन हुन् । त्यसमा देखिएकी ५ वर्षकी बालिका ज्योतिकै छोरी रहेको आफन्तले प्रमाणित गरेपछि प्रहरीले परिवारको जिम्मा लगाएको थियो ।
भारत माइती भएकी ज्योतिलाई नेपाली भाषा राम्रोसँग बोल्न नआउने भएकाले अरुको बच्चा अपहरण गरेर भारत लैजान लागेको आरोप स्थानीयले लगाएका थिए । तर, प्रहरीले अनुसन्धान पछि उनीहरुलाई छाडेको जनाएको छ ।
यसैगरी बुटवलमा केहीदिन अघि योगी भोलानाथ भट्टराईलाई आफ्ना नातीसँग हिँडिरहेका बेला बुटवलमै स्थानीयले बच्चा चोर भन्दै घेरा हाले । बच्चा चोरेको आरोप लगाउँदै भट्टराईलाई प्रहरीमा बुझाए । प्रहरीले सोधपुछ गर्नेक्रममा हजुरबुवा र नाती भन्ने खुलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठग बहादुर केसी बताउनुहुन्छ । सोधपुछ दुबैजनालाई परिवारको जिम्मा लगाइएको उहाँको भनाइ छ ।
बच्चा चोरको अनावश्यक हल्लाले समाजमा एकले अर्कोलाई हेर्न दृष्टिकोण फेरिएको छ । बजारमा नयाँ मानिस बालबालिकासँग देख्ने वित्तिकै चोरको आशंका गर्ने र अनावश्यक तनाव दिने काम भएको प्रहरीको भनाइ छ ।
अहिले सामाजिक सञ्जालमा ‘बच्चा चोर’ को अनावश्यक हल्ला फिँजाइएकाले बालबालिकामा समेत यसको नकारात्मक प्रभाव परेको छ । “बच्चा चोरको हल्लाले मेरो छोरा स्कुलबाट आउँदा हिजो निकै डराएर । म घर बाहिर भएकाले एक्कासी रुँदै फोन गर्यो”, सञ्चारकर्मी अस्मिना पाण्डे भन्नुहुन्छ, बाबु निकै डराएको रैछ, पछि फोनमा धेरै बेर सम्झाए । ”
बच्चा चोरको हल्लाले बालबालिका विद्यालय जान समेत डर मान्ने गरेका छन् । सामाजिक सञ्जालको हल्लाले बालबालिकामा मानसिक असर गर्ने भएकाले अभिभावकहरु सचेत हुनुपर्ने मनोविमर्शकर्ता सुष्मा अर्याल बताउनुहुन्छ । यो समयमा एकातिर अभिभावक पनि त्रसिद् हुने र बालबालिकालाई सचेत गराउन खोज्दा नकारात्मक असर पर्न जाने भएकाले यसमा घर, परिवार समाज सबै सचेत बन्नुपर्र्नेे उहाँको भनाइ छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले समेत विज्ञप्ति जारी गर्दै बच्चा चोरीको सामाजिक सञ्जालमा फैलाइएको प्रचार भ्रामक भएको जानकारी गराएको छ । तर, यस्ता भ्रामक सूचना र दृश्यले समाजमा त्रास उत्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सामाजिक सञ्जालमा उल्लेख भए बच्चा चोरको हल्ला गलत भएको जनाएको छ । अहिलेसम्म कुनै पनि यस्ता घटनाका सम्बन्धमा उजुरी तथा निवेदन नपरेको र त्यस्तो कुनै पनि प्रकारको गतिविधि भएको नपाइएकाले हल्ला र अफवाहको पछि नलाग्न प्रहरीको अनुरोध छ । “अहिलेसम्म कुनै घटना भएको छैन । सामाजिक सञ्जालमा अफवाह फैलाउने काम भयो । यस्तो हल्लाको पछि नलागौ”, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी श्यामु अर्याल भन्नुहुन्छ ।
कतिपय व्यक्तिले अनावश्यक हल्ला तथा अफवाह फैलाएर मानिसमा डर, त्रास तथा आतङ्क सृजना गर्ने काम गरेका कारण यसका पछाडि नलाग्न उहाँको अनुरोध छ ।
बच्चा चोरको अनावश्यक हल्ला फैलिएपछि यस क्षेत्रका स्थानीय तहले समेत भ्रम नफैलाउन आग्रह गरेका छन् । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका , शिक्षा विकास तथा समन्वय इकाइ लगायत विभिन्न निकायले विज्ञप्तिमार्फत भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन् ।
बुटवल उपमहानगरपालिका कार्यालयले विगत केही दिनदेखि सामाजिक सञ्जालहरुमा व्यापक रुपमा फैलाइएको विद्यार्थी अपहरणसम्बन्धी दिग्भ्रमित गराउने खालका झुटा प्रचारहरुलाई आधार मानी केही विद्यालयहरुले समेत सूचना प्रकाशित गरेको हुँदा यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै, सामाजिक सञ्जालमा उल्लेख भएझै उपमहानगरपालिकामा कुनै घटनाहरु जानकारीमा नआएको हुँदा त्यस्ता भ्रामक सूचना, तस्वीर र भिडियोहरुको पछाडि नलाग्न सबैमा अनुरोध गरेको छ ।
त्यस्ता अपराधसम्बन्धी कुनै सूचना प्राप्त भएमा, जिल्ला प्रशासन कार्यालय रुपन्देही, नजिकको प्रहरी कार्यालय, वडा कार्यालय वा यस उपमहानगरपालिकामा जानकारी गराउनुहुन समेत उपमहानगरले अनुरोध गरेको छ ।
यतिमात्रै होइन यस उपमहानगरपालिका अन्तरगतका विद्यालयहरुले स्पष्ट आधार, प्रमाण र अनुमति विना अभिभावक तथा विद्यार्थीहरुलाई दिग्भ्रमित गराउने सूचना सम्प्रेषण गरेको पाइएमा कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।
“बच्चा चोरको अफवाहले परिवार समाजमा नकारात्मक असर गरेका कारण उपमहानगरपालिकाले विज्ञप्तिमार्फत सचेत गराउने काम गरेको छ”, उपप्रमुख सावित्रादेवी अर्याल भन्नुहुन्छ “ सचेत बनौ तर शंकाकै भरमा केही व्यक्तिमाथि आरोप नलगाऔँ ।”
त्यसो त प्रहरीका विभिन्न इकाइले पनि सूचनामार्फत गलत हल्लाका पछि नलाग्न अनुरोध गरेको छ । तर, सामाजिक सञ्जालमा भ्रामक दृश्य राखेर सेयर गर्नेक्रम रोकिएको छैन । बच्चा चोरी भयो भनेर अभिनय समेत गरेर सामाजिक सञ्जालमा राख्न थालेपछि प्रहरीले यस्त गलत सूचना दिने सामग्री नराख्न र राखेको पाइएमा कारबाही गर्ने जनाएको छ ।
“सामाजिक सञ्जालमा गलत सूचना दिनेलाई प्रहरीले कारबाही गर्नुपर्छ, यस्ता गलत हल्लाले समाज अशान्त भयो । सबैभन्दा बढि बालबालिकामा नकारात्मक प्रभाव पर्या जसले गर्दा बालबालिका स्कुल जान पनि डराउन थाले”, अभिभावक रचना पाण्डे भन्नुहुन्छ । सचेत गराउने नाममा गलत सूचना दिएर भ्रम फैलाउने कार्य बन्द रोक्नुपर्ने उहाँको भनाइ छ । रासस
———