रुपन्देही । महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा सम्पन्न भएको छ । हेफर इन्टरनेशनलन नेपालमा सञ्चालनको २५ वर्ष पुरा भएको अवसरमा आयोजना गरिएको उत्सवको आज समुद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देश समृद्ध बनाउन महिलाले राज्य सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
नेपालको ५० प्रतिशत बढि जनसंख्या ओगटेका महिलाको सशक्तीकरण गर्न सके नेपालले प्रगति हासिल गर्ने उहाँको विश्वास थियो । पुरातनवादी दृष्टिकोणका कारण महिलाहरुलाई पछाडि पारिएको जनाउँदै उहाँले अब महिलाहरु नेतृत्व तहमा आउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधीसभाका सदस्य गोकर्ण विष्टले सामाजिक न्याय, समानता र विश्वव्यापी भाइचाराको विकास गर्न आवश्यक रहेकामा जोड दिनुभयो । रोजगारीको अभावमा हरेक वर्ष लाखौ युवा विदेशीन बाध्य भएको अवस्थामा महिलामा आत्मविश्वास जगाएर समानताका आधारमा अघि बढ्न हेफर जस्ता संस्थाको सहकार्य निकै फलदायी हुने बताउनुभयो ।
अर्का पूर्वमन्त्री तथा प्रतिनिधीसभाका सदस्य देवेन्द्रराज कडेँलले गरिबीको रेखामुनी रहेको समुदायलाई सहकारीमार्फत जीवनस्तर उकास्ने काम राजयको भएपनि यसमा हेफरको योगदान भएको चर्चा गर्नुभयो ।
नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल, नेपाली कांग्रेसका प्रमुख सचेतक तुलाराम घर्ती र नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले महिलाले सञ्चालन गरेका सहकारी समुदायमा स्थापित भएको जनाउँदै त्यस्ता सहकारीमार्फत महिलाहरुको आर्थिक सशक्तीकरण भएको बताउनुभयो ।
हेफर इन्टरनेशनलका प्रमुख वित्तिय अधिकृत मार्सिया रस्मुसेनले हेफरलाई महिलाले अभिभावको रुपमा लिएकामा गर्व लागेको बताउनुभयो । हेफरले साझेदारीलाई महत्व दिँदै स्थानीय तह, र नीजि क्षेत्रसँग जोडिएर काम गर्दै आएको बताउनुभयो ।
हेफर नेपालका बरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीले २५ वर्षअघि २५ जना महिलाबाट शुरु भएको संस्थामा अहिले २५५ सहकारीका झण्डै ४ लाख परिवार जोडिएको बताउनुभयो ।
यस अवधिमा समूह र सहकारीमा आवद्ध महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरण, क्षमता विकास गर्दै वाखा, दुध, स्थानीय जातको कुखुरा, तरकारी, वंगुर लगायतका कृषि तथा पशु मुल्यश्रृंखलाको क्षेत्रमा सहयोग र सहजिकरण गर्दै आएको उहाँको भनाइ छ ।
हेफरका राष्ट्रिय निर्देशक शुभनारायण महतोले सामाजिक रुपान्तरणका लागि विभिन्न स्थानीय तहसँगको समन्वयमा काम गर्दै आएको बताउनुभयो ।
हेफरका कार्यक्रम निर्देशक डा. तिर्थराज रेग्मीले युद्धको समयमा अनाथ बालबालिकालाई दुध बाँडेर शुरुवात भएको यो संस्थाले पछि दुधको सट्टा गाई दिनुपर्छ भन्ने सोंच राखेर एक सय २५ देशका साढे तीन करोड परिवारसम्म पुग्न सफल बताउनुभयो ।
कृषि व्यवसाय प्रवद्र्धनका लागि उत्पादनका सामाग्री, सेवाहरु, वित्तिय व्यवस्थापन र सहयोग, बजार र समन्वयका क्षेत्रमा काम गरिदै आएको साना किसानहरुका सहकारीहरुले १६० वटा संकलन केन्द्र तथा ४७८ वटा उपकेन्द्रहरु निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिका संघका महासचिव भिमप्रसाद ढुंगाना, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ लगायत स्थानीय तहका प्रतिनिधीहरु र सहकारीका प्रतिनिधीले महिलाको जीवनस्तर उकास्न हेफरको कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो ।
सामाजिक महिला उद्यमी महिला सञ्जालका अध्यक्ष पार्वती न्यौपानेले सञ्जाल मार्फत साना किसान मैत्री नीति निर्माण संलग्न भई सरकारसँगको समन्वय, साझेदार र सहयोगमा कृषि उत्पादन र उत्पादकत्व वृद्धिका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
साना किसानले उत्पादन गरेका कृषि तथा पशु उपजको बजारीकरणको समस्या समाधान गर्न र बजारको पहुँचको सुनिश्चितताका लागि ७७ वटा सहकारीले हेफरको सहयोगमा ढ्वानीका साधन संचालनमा ल्याएका छन आज ३२ वटा सहकारीले थप ३२ वटा ढुवानीका साधन सहयोग प्राप्त गरेका छन् ।
सहकारीको मुल्याङ्कन र बार्षिक प्रगतिका आधारमा एक सहकारीले राष्ट्रिय स्तरको पुरस्कार र तीन वटा सहकारीले क्षेत्रिय स्तरको पुरस्कार प्राप्त गरेका छन् ।
दाङ्ग जिल्लाको लमही नगरपालिका वडा नं. ९ मा अवस्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले रु ३ लाख नगद र सम्मान पत्र सहित राष्ट्रिय स्वर्णिम प्रतिभा पुस्कार प्राप्त गरेको छ ।
त्यस्तै सिन्धुली जिल्लाको धौली नगरपालिका वडा नं. ८ मा अवस्थित प्रयास सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित प्रतिभा सामाजिक उद्यमी महिला सहकारी, कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा अवस्थित विहानी सामाजिक उद्यमी महिला सहकारीले रु १ लाख ५० हजार नगद र सम्मानपत्र सहित क्षेत्रिय स्वर्णिम प्रतिभा पुरस्कार प्राप्त गरेका छन ।
बुद्ध जन्मस्थल लुम्बिनीको अन्तराष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा हेफर इन्टरनेशनल नेपाल र सामाजिक उद्यमी महिला सञ्जाल नेपालको आयोजनामा गरिएको उत्सवमा देशभरका विभिन्न सामाजिक उद्यमी महिला सहकारी संस्थाहरुवाट चार हजार ५०० महिला सहभागी भएका थिए ।