लोकतन्त्र भनेका विचारहरु बीचको स्वस्थ्यप्रतिस्पर्धा हो ।विचारहरु बीचको स्वस्थ प्रतिस्पर्धा नै बहुलवाद हो । बहुलवाद एकलको विपरीतार्थक शब्द हो । एक पार्टी मात्रको राज्यसत्ता बहुलवाद हैन । बहुलवादमाधेरै विचारहरु अर्थात पार्टीहरु बीचको प्रतिस्पर्धा हुन्छ । त्यसैले बहुलतावादप्रति प्रतिबद्ध पार्टीहरुका बीच मतदाताहरुले उनीहरुको नीति तथा कार्यक्रम हेरी भोट हाल्छन् ।
बहुमत प्राप्त दल सत्तामा जानु र अल्पमतमा परेको पार्टी विपक्षमा बस्नु लोकतान्त्रिक पद्धति हो । यही नै बहुलवाद पनि हो । नेपाली राजनीतिमा बहुलवादको विकास सही ढङ्गगले हुन सकेको छैन । अहिले मिलिमतो र आलोपालोको आधारमा लोकतान्त्रिक पद्धतिमा विचलन ल्याइएको छ । नेपाली लोकतन्त्र सही ट्रयाकमा हिंडेको छैन ।
नेपालमा २००७सालको जनक्रान्तिको पृष्ठभूमिमा विचारहरु जन्मेका थिए ।विचारहरुमा आस्था राख्ने समूहहरुको झुण्ड नै पछि विधानमा बाँधिदै दलमा बदलिए ।हरेक दलहरुले आआफ्ना विचारहरु सत्य हुन् भनेर दाबा गर्ने र आपसमा द्वन्द्व चलिरहने हुँदा दलीय द्वन्द्व व्यवस्थापनका नयाँ पद्धतिहरु विकसित हुन थाले ।
त्यसै क्रममा संसदीय लोकतन्त्रको विकास भएको हो । यसको विकाससँगै समाजमा सहअस्त्वि समानता, स्वतन्त्रता सहिष्णुताका मूल्यहरु स्थापित हुदै जान थालेका छन् । अनेकता बीच एकता ल्याउनको लागि संविधान बन्ने प्रक्रिया खासगरी संविधान सभाको प्रक्रिया विकास भयो । दलहरु बीचको द्वन्द्व व्यवस्थापनको लागि जनतालाई सम्प्रभू बनाएर बहुदलीय लोकतन्त्र स्थापना गरियो ।
लोकतन्त्रमा विभिन्न पार्टीहरु बीच स्वच्छ प्रतिस्पर्धा हुनु पर्छ । जुन विचार समूह (पार्टी) ले बहुमत ल्याउँछ त्यही नै सत्तामा जान्छ र अल्पमत प्रतिपक्षमा बस्छ । त्यो नै सच्चा लोकतन्त्र हो ।
हामीले चुन्ने भनेको विचार समूह हो । नेपालमा प्रजातान्त्रिक समाजवाद बोकेको विचार छ । जुन विचार नेपाली कङग्रेसले बोकेको छ । बहुदलीय जनवाद एक्काइसौ शताब्दीको जनवाद भन्नेहरु छन् । तिनीहरुमा एमाले, माओवादी, समाजवादी पर्छन् । एकथरि मालेमाहरु जनगणतन्त्र नेपाल बनाउने क्रान्तिकारी विचार राख्छन् । जुन विचारको वैद्य, विप्लव र मोहन विक्रम सिंहले नेतृत्व गर्छन् । नेपालमा पहिचान र सम्मान बोकेको विचार पनि छ । जुन विचार जसपा र केही जनजाति पार्टीहरुले प्रतिनिधित्व गर्छन् । एकथरि संवैधानिक राजतन्त्रवादी छन् । यसमा राप्रपाहरु पर्छन् ।
यी सबैका प्रकृतिहरु केलाउँदा सजातीय पहिलो विचार समूह कङग्रेस, दोस्रो विचार समूह एमाले माओवादी समाजवादी हुन् । तेस्रो सजातीय विचार समूहमावैद्य, विप्लव(अल्पमत बहुमत) रोहित र मोहनविक्रम सिंह पर्छन् ।चौथो विचार समूहमासंवैधानिक राजावादी पर्छन् । यी मूलतः चार प्रकृतिका विचार समूहहरु सजातीय नश्लहरु हुन् । न्यूनतम पनि यी विचारहरु बीच प्रतिस्पर्धा हुन सकेको भए लोकतान्त्रिक पद्धति बलियो हुने थियो । तर अहिले विजातीय समूहरु बीचको गठबन्धन भएर सत्ता कसरी हत्याउने भन्ने रणनीतिमा लागेका देखिन्छन् । उनीहरु विचारमा भन्दा पनि अङ्कगणितमा अल्झिएका छन् ।
लोकतान्त्रिक प्रणालीलाई संस्थागत बनाउन सजातीय समूहहरु बिचको आपसी तालमेलको रुपमा जानु पथ्र्यो । कङग्रेस र लोसपा प्रजातान्त्रिक समाजवादको पक्षमा, एमाले माओवादी र समाजवादी सजातीय समूहहरु बहुदलीय जनवाद तथा एक्काइसौ शताब्दीको पक्षमा, वैद्य, विप्लव र मोहन विक्रम सिंह एउटा सजातीय समूहको पक्षमा,जसपा र केही जातीवादी पार्टीहरु र राप्रपाहरु एउटा सजातीय समूहको पक्षमा प्रतिस्पर्धामा आएका भए निकै राम्रो हुने थियो । यसरी प्रतिस्पर्धामा आउँदा मुलुकमा स्थिरताआउँथ्यो । यो स्वाभाविक प्राकृतिक खालको हुन्थ्यो ।
तर विडम्बना हाम्रो मुलुकमा सजातीय हैन कि विजातीयहरु बीचमा आपसी गठबन्धन भएको छ । कङग्रेस, एमाओवादी, समाजवादी, जनमोर्र्चा लोसपाबीजातीय समूहहरु हुन् । तिनीहरु बिचको गठबन्धन अपवित्र छ । त्यसरी नै एमाले राप्रपा रसजपाबीचको गठबन्धन पनि सजातीय हैन । यो पनि अपवित्र गठबन्धन हो । यी अपवित्र गठबन्धनहरु बीचमा सरकार चलाउन गाह्रो छ । एमाले राप्रपा र जसपा बीचको गठबन्धन भए पनि सरकार चलाउन गाह्रो छ । त्यसरी नै कङग्रेस, माओवादी समाजवादी लोसपा बीचमा पनि सरकार चलाउन गाह्रो छ । यी विचार समूहहरुको वाद, सिद्धान्त, नीति तथा कार्यक्रम फरक फरक छ । कोही सँग केही मिल्दैन । त्यसैले उनीहरु आपसमा मिल्दैनन् ।
त्यसैले नेपालको लोकतन्त्र समस्याग्रस्त बन्दैछ । लोकतन्त्रले असल र स्वच्छधार पकड्न सकेको छैन । राजनीतिक पार्टीका नेताहरुले लोकतन्त्रभित्र अस्वस्थ प्रतिस्पर्धाको शुरु गरेका छन् । स्वार्थवश मिलिमतो र आलोपालोका आधारमा सत्ता कब्जा गर्ने रणनीतिमा लीप्त छन् । विजातीय समूहहरु बीचको लगन गाँठोले लोकतन्त्र अस्तव्यस्त परेको छ । त्यसैले लोकतन्त्रप्रतिको संस्थागत विकास हुन सकेको छैन । संस्थागत विकास हुन नसक्दा जनतामा असन्तोष प्रकट भएको छ । यसरी हाम्रो लोकतन्त्र जानु हुँदैनथ्यो । यसमा एमाले, कङग्रेस, एमाओवादी सबै चिप्लिएका छन् ।
लोकतन्त्रमा जनताको स्वामित्व हुन्छ । उनीहरुको पहुँच र प्रतिनिधित्व हुन्छ । हुनु पर्छ । लोकतन्त्रमाजनताले जनताको लागि जनताद्वारा सरकार बनाउँछन् । जनताले नै राजश्व जम्मा गर्छन् । जनता सुशासन, पारदर्शिताको आधारमा राज्य सत्ता चलाउन चाहन्छन् । तर आश्चर्य नेपालको लोकतन्त्र त्यसरी जान सकेको छैन । यसले पार्टीका शीर्ष नेताहरुलाई ज्यादा अधिकार दिएको छ । उनीहरुले चाहेको मानिस मात्र उमेदवार हुन पाउँछन् । अहिले पनि ओली, शेरबहादुर देउवा र प्रचण्ड नै सर्वेसर्वा भए । राज्य सत्तामा जनताको र पार्टीमा पार्टी सदस्यहरुको लगाम टुटेको छ । उनीहरु नाम मात्रको सम्प्रभू सम्प्रभू भएका छन् । लोकतन्त्र नराम्रो मोडमा पुगेको छ । त्यसैले कि त छिट्टै सच्याउनु पर्छ कित मूलधारका पार्टीहरुलाई ठूलै चुनौतीको सामना गर्नुपर्नेछ ।