रुपन्देही । कुनै पनि औषधिको प्रयोग सही तरिकाले गरे फाइदा गर्छ । तर त्यही औषधिको प्रयोग गलत तरिकाले भएमा झनै बढि बेफाइदा गर्छ ।
त्यसैले कुनै पनि औषधिको प्रयोग चिकित्सकको सिफारिसमा मात्र गर्नुपर्ने हो । तर, हामी कहाँ जथाभावी एन्टिमाइक्रोबियल अर्थात प्रतिजैविक औषधिको प्रयोग गर्ने प्रवृत्ति छ । यसले जनस्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्य विज्ञहरु बताउँछन् । साधारण औषधिको तुलनामा एन्टिबायोटिक र एन्टिमाइक्रोबियल जस्ता औषधिको जथाभावी प्रयोगले स्वास्थ्यमा प्रतिकुल असर गर्छ ।
चिकित्सकले सिफारिस गरेको औषधिको पूरा डोज नखाने, औषधि पसलेले उमेर र तौलको अनुपातमा मात्रा मिलाएर औषधि दिन नसक्ने, कतिपय चिकित्सकले किटाणुको जाँच नगरीकनै यस्ता औषधि दिँदा समस्या हुने गरेको हो ।
चिकित्सकका अनुसार जीवाणु, भाइरस, परजीवी र फंगीजस्ता कीटाणुबाट मानवलाई हुने संक्रमण रोक्न प्रयोग गरिने औषधिलाई एन्टिमाइक्रोबियल भनिन्छ ।
यस्ता औषधिको अवाञ्छित प्रयोग हुँदा लक्षित सूक्ष्मजीवले प्रतिरोध क्षमता विकास गर्ने र तिनले गराउने रोग निको नहुने तथा बिरामीको मृत्यु समेत हुन सक्ने भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा बताउनुहुन्छ ।
उहाँका अनुसार विश्वमा एन्टिमाइक्रोबियल रेजिस्टेन्स अर्थात् प्रतिजैविक प्रतिरोध विश्वव्यापी जनस्वास्थ्यको मात्र नभई चिकित्सा विज्ञानको पनि प्रमुख चुनौतीका रूपमा देखा परेको छ । यस जटिल समस्याले गर्दा हाल उपलब्ध एन्टीबायोटिक्स लगायतका एन्टीमाइक्रोबियल औषधिहरुको प्रभावकारीता कम हुँदै गएको छ ।
“सकेसम्म यस्ता औषधिको प्रयोग कम गर्नुपर्छ, कहिलेकाही गर्नै परे चिकित्सकको सल्लाह बमोजिम कति दिन खाने, कति पटक खाने मात्रा मिलाएर खानुपर्छ”, सचिव देबकोटा भन्नुहुन्छ, “मात्रा मिलाएर औषधि सेवन गरिएन भने अर्कोपटक यही औषधिले काम नगर्न सक्छ ।”
मानिस, पशुपंक्षी तथा वनस्पतिका संक्रामक तथा सरुवा रोगहरुका जीवाणु विरुद्ध प्रयोग हुने यी औषधिहरुको सही तरिकाले प्रयोग नहुनाले प्रतिरोध विकास भई संक्रामक रोगहरुको उपचारमा बाधा उत्पन्न हुन जाने देवकोटा बताउनुहुन्छ ।
विज्ञका अनुसार पछिल्लो १६ वर्षदेखि ब्याक्टेरिया मार्ने नयाँ औषधी (एन्टिबायोटिक)को खोज हुन सकेको छैन । त्यसअघि बनाइएका एन्टिबायोटिकलाई ब्याक्टेरियाले पचाउँदै गएका छन् जसलाई एन्टिमाइक्रोवियल रेसिस्टेन्स (एएमआर) भनिन्छ । यही क्रम जारी रह्यो भने सन् २०५० मा बिरामीलाई एन्टिबायोटिकले काम नगरेर मृत्यु हुनेको संख्या प्रतिवर्ष एक करोड हुने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ । जसलाई महामारीकै संज्ञा दिइएको छ । यसको चपेटामा नेपालजस्ता विकासशील देश बढी पर्ने देखिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा वर्षेनी एक अर्व अमेरिकी डलर बराबरको एन्टिबायोटिक्स आयात हुन्छ जुन कुल औषधी आयातको ३० प्रतिशत हो । नेपाली बजारमा करिब ३६५ ब्राण्डका एन्टिबायोटिक औषधि उपलब्ध छन् र देशभित्रै लगभग ५० कम्पनीले एन्टिबायोटिक औषधि उत्पादन गर्छन् ।
पशुपंक्षी पालनबाट छिट्टै लाभ लिने उद्देश्यले एन्टिबायोटिकको गलत प्रयोग गर्ने र यस्ता मासु र दुध जन्य पदार्थको उपभोगले जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने गर्छ ।
यस्ता मासु र दुधबाट प्रतिरोधी जिवाणूहरु सिर्जना गर्ने सम्भावना हुन्छ जुन मानिसहरुमा समेत सर्न सक्ने भएकाले यस्तो औषधिको गलत प्रयोगलाई रोक्नुपर्छ भन्नुहुन्छ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. परवेज आलम ।
एन्टीमाइक्रोबियल औषधि रेजिस्टेन्सले गर्दा मानव स्वास्थ्यमा देखिने प्रतिकूल असर न्यूनीकरणका लागि सबै क्षेत्र र समुदायले समयमा नै प्रभावकारी कदम चाल्न आवश्यक रहेको उहाँको भनाइ छ ।
निर्देशक आलमका अनुसार एन्टिमाइक्रोबियल अन्तर्गत एन्टिबायोटिक्स÷एन्टिब्याक्टेरियल, एन्टिप्यारासाइटिक, एन्टिभाइरल र एन्टिफंगलजस्ता औषधि पर्दछन् । विभिन्न कारणले कीटाणु बलियो भई एन्टिमाइक्रोबियल औषधिले शरीरमा काम गर्न छोडेको अवस्था अर्थात् कीटाणुलाई औषधिले जित्न नसकेको अवस्थालाई एन्टिमाइक्रोबियल रेजिस्टेन्स वा प्रतिजैविक प्रतिरोध भनिन्छ । जुनसुकै उमेर समूहका र जुनकुनै ठाउँमा बसोवास गर्ने व्यक्तिलाई एन्टिमाइक्रोबियल रेजिस्टेन्स हुन सक्छ ।
हर्ड इन्टरनेशनलका कार्यकारी निर्देशक डा.शुशील बरालका अनुसार एन्टिमाइक्रोबियलको जथाभावी प्रयोग, कमजोर स्वास्थ्य प्रणाली, कमजोर संक्रमण नियन्त्रण तथा रोकथाम व्यवस्था, सबैको गुणस्तरीय स्वास्थ्य सेवामा पँहुचको अभाव, आफूखुसी औषधि प्रयोग गर्ने चलन र समुदायमा एन्टिमाइक्रोबियल रेजिस्टेन्सबारे उपयुक्त ज्ञान र सचेतनाको अभाव नै समुदायमा एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई बढाउने प्रमुख कारण हुन् ।
एन्टिमाइक्रोबियल प्रतिरोधी सुक्ष्म जिवाणु फैलिन नदिन चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक आदि औषधिको प्रयोग जथाभावी नगर्ने, असल कृषि र पशुपालन र उत्पादन अभ्यास गर्न उहाँको सुझाव छ ।
औषधिको जथाभावी प्रयोग र आफुखुशी औषधिको प्रयोगका कारण नै समस्या बढेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
“डाक्टरले बिरामीको स्वास्थ्य जाँच गरी कति दिन औषधी खाएपछि ब्याक्टेरिया मर्छ भन्ने भनेर हिसाबकिताब गरेर नै औषधिको सिफारिस गर्नुहुन्छ । तर, प्राय बिरामीले ५ दिन लेखेको औषधी सञ्चो भयो भने तीन दिन मात्रै खाएर छोड्नुहुन्छ”, स्वास्थ्यकर्मी मैना सुवेदी भन्नुहन्छ ।
चिकित्सकले भने अनुसार औषधि प्रयोग नगर्ने आमप्रवृत्ति भएकाले यसलाई बदल्नु जरुरी रहेको उहाँ बताउहुन्छ । सकेसम्म एन्टिमाइक्रोबियल औषधिको प्रयोग नगर्ने र गर्नै परे बिचमै छोड्न हुँदैन भन्ने कुराको सचेतना जगाउन आवश्यक रहेको उहाँको सुझाव छ ।
विश्व स्वास्थ्य संगठनले एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई १० प्रमुख स्वास्थ्य खतराको सूचिमा राखेको छ । त्यसैले नेपालले पनि यस विषयमा चासो दिदै सरकारका नीति र कार्यक्रममा यसलाई समावेश गरेको लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पुष्पराज पौडेलको भनाइ छ ।
नेपालमा बढ्दो जनस्वास्थ्य चुनौतीका रूपमा देखा परिसकेको एन्टिमाइक्रोबियल रेजिस्टेन्सको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले विभिन्न नीति–निर्माण गर्नुका साथै सप्ताह व्यापी कार्यक्रम गरेर जनचेतना जगाउने काम गरेको पौडेल बताउनुहुन्छ । नेपालले १९९० को दशकबाट एन्टिमाइक्रोबियल रेजिस्टेन्सबारे चासो दिदै आएको हो, तर ठोस प्रगति अझै देखिएको छैन”, मन्त्रालयका प्रवक्ता पौडेल भन्नुहुन्छ ।
यसको नियन्त्रणमा सरकार मात्र होइन स्वास्थ्यकर्मी, कृषक तथा पशुपालक तथा सबै सरोकारवाला जिम्मेवार रहेको उहाँ बताउनुहुन्छ । “ हामीले एन्टिमाइक्रोबियल रेजिस्टेन्सको रोकथामका लागि सचेतना अभियान चलाएका छौ । सरोकारवालासँग यो विषयमा छलफल गरेका छौँ, अगामि दिनमा सबैसँग सहकार्य अघि बढ्छौँ”, प्रवक्ता पौडेल भन्नुहन्छ ।