रुपन्देही। यौनिक तथा लैङ्गिक अल्पसंख्यकका सवालमा सरकार अझै संवेदनशील हुन नसकेको गुनासो गरिएको छ ।
द एशिया फाउण्डेशनको सहयोगमा साहसी कदम नेपालले आज बुटवलमा आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यकका सवालमा सरोकारवालाबीच प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा बोल्दै उनीहरुले नीतिगत समस्या र कानुनी अड्चनले नागरिकता बनाउन, विवाह गर्न र अन्य आय आर्जनको काम गर्न समस्या भएको उल्लेख गरे ।
गोष्ठिमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकले पहिचान सहितको नागरिकता लिने प्रावधान नहुँदा अध्ययन गर्न र रोजगार गर्न समेत समस्या भएको बताए । उनीहरुले संबिधानमा भएका प्रावधान समेत कार्यान्वयन नहुँदा समस्या भोग्नु परेको गुनासो गरे । उनीहरुले जीवनसाथी रोज्ने अधिकार सुनिश्चित गर्न समलिङ्गी विवाहलाई कानुनी रुपमै मान्यता दिन माग गरे ।
कार्यशाला गोष्ठिको उद्घाटन गर्दै पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका सवालमा तीनै तहका सरकार संवेदनशील हुनुपर्ने बताउनुभयो । प्रदशे सरकार अहिले सरकार गठनमै अलमलिएकाले ऐन, कानुका विषयमा छलफल हुन नसकेको उल्लेख गर्दै कानुन निर्माण र आरक्षणका कुरामा अझै दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।
प्रदेश सभा सदस्य जमुना ढकालले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय पछिल्लो समय निकै अगाडि पुगेको बताउँदै आवश्यक सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
प्रदेशसभा सदस्य हेमा बेल्बासे केसीले प्रदेश सभामा यो समुदायका ब्यक्तिहरुको पक्षमा कानुन बनाउन पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सुशिला बेल्बासेले सबैको साझा प्रयत्न हुन सके यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सवाल सम्बोधन हुने बताउनुभयो ।
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता इन्दिरा आचार्यले राज्यले लिङ्गका आधारमा कसैलाई विभेद गर्न नहुने बताउनुभयो । महिलालाई नै दोस्रो दर्जाको ठान्ने पितृसतात्मक समाजले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहिचान स्विकार्न नसकेको धारणा राख्दै अब समाज बदल्नुपर्ने बताउनुभयो । यो समुदायका सवाल सम्बोधन गर्न सरकारले बलियो कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ ।
निल हिरा समाजका मानव अधिकार परियोजना निर्देशक भूमिका क्षेष्ठले लिङ्गका आधारमा हुने हिंसा नियान्त्रणका लागि आवश्यक संयन्त्र निर्माण गर्न आग्रह गर्नुभयो ।
साहसी कदम नेपालका अध्यक्ष आनिक रानाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक भएकै कारण समाजले स्विकार नगर्दा आत्महत्याका घटना बढेको उल्लेख गर्नुभयो ।
होमोफोयिबा, बाइफोयिबा र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवको अवसर पारेर आयोजना गरिएको गोष्ठी पश्चात १४ बुदे घोषणापत्र सार्वजनिक गरिएको साहसी कदम नेपालका महासचिव रेशम न्यौपानेले जानकारी दिनुभयो ।