रुपन्देही । बुटवलमा भोलिदेखि लुम्बिनी केबलकार सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगर र पाल्पाको तिनाउ गाउँपालिका —३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र बसन्तपुर जोड्ने लुम्बिनी केबलकार निर्माणको काम सकिएपछि भोलि सोमबारदेखि सञ्चालनमा आउने भएको हो ।
तिनाउ नदी वारिपारि आधार (बेस) स्टेसन राखेर निर्माण गरिएको लुम्बिनी केबलकारको प्राविधिक परीक्षणको काम सकिएपछि व्यवसायिक रुपमा सञ्चालनको तयारी गरिएको आज आयोजित पत्रकार सम्मेलनमा केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।
“जेठ १५ गते बिहान ८ बजेदेखि आम सर्वसाधारण चढ्न पाउने गरी व्यवसायिक सञ्चालनमा आउँछ–अध्यक्ष ढकालले भन्नुभयो–‘जेठ २५ गते औपचारिकरुपमा प्रधानमन्त्रीबाट उद्घाटन हुन्छ ।”
लुम्बिनी केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । स्थानीयको साथ र सहयोगले केबुलकार छिटै सञ्चालनमा ल्याउन सफल भएकाले स्थानीयको पनि अपनत्व महसुस गराउन टिकट शुल्कमा छुट गरिएको अध्यक्ष ढकालले बताउनुभयो ।
उहाँले केबलकार सञ्चालनसँगै यो क्षेत्रका बासिन्दामा राजधानी अभावको महशुस नहुने दाबी गर्नुभयो । राजधानी दाङ सर्दा रुपन्देहीको ब्यापार व्यवसायमा परेको असरलाई पुर्ति गर्ने र रुपन्देही फेरि गुल्जार हुने अध्यक्ष ढकालको भनाइ छ “यो परयोजना सञ्चालनसँगै यो क्षेत्रको मुहार बदलिने छ । ”, उहाँले भन्नुभयो ।
बुटवल भैरहवाका तुलनामा बसन्तपुरको तापक्रम कम हुने भएकाले गर्मी छल्न र प्राकृतिक सौन्दर्य अवलोकन गर्न अन्तरिक पर्यटक र भारतीय पर्यटक आउने उहाँले बताउनुभयो । कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गे धारा, पोखरी आदि संरचनाहरू निर्माणले वसन्तपुर एउटा धार्मिक गन्तव्य बनेकाले विभिन्न क्षेत्रका पर्यटकहरु आउने उहाँको विश्वास छ ।
बुटवलको वडा नं ३ मा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका वडा नं ३ बसन्तपुरमा टप स्टेशन रहेको केबलकारले यी दुबै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा २५ प्रतिशत छुट दिने घोषणा समेत गरेको छ ।
नेपाल उद्योग वाणिजय महासंघको समेत अध्यक्ष रहेका ढकालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सुचारुरुपमा सञ्चालन गर्न भारतसंग हवाई रुटको अनुमति लिन महासंघले प्रधानमन्त्रीलाई दवाव दिएको बताउनुभयो ।
बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाईमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ ।
२.६ किलोमिटर दुरीको लुम्बिनी केबलकारमा संसारकै राम्रो मानिएको अष्ट्रियन प्रविधिको मनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोन्डुला (यात्रु बोक्ने डिब्बा) रहेका आयोजना प्रमुख गोकुल साउदले बताउनुभयो ।
टप स्टेशनमा भारतको गुवाहटीमा रहको कामाख्यादेवीको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ ।
केबलकार आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने बाल उद्यान, स्काई जीप लाइन निर्माणको क्रममा छन् ।
केबलकार सञ्चालनमा आएसंगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पांचतारे होटेल, लगायत संरचना निर्माण हुने साउदले बताउनुभयो ।
एक हजार दर कायम गरिएएको टिकट शुल्कमा विद्यार्थीलाई २५ प्रतिशत छुट गरिएको र ८० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क गरिएको छ । यस्तै फरक क्षमता भएका नागरिकलाई दुईतर्फी टिकट शुल्क ३७५ मात्र कायम गरिएको छ ।
उद्घाटनका अवसरमा सीमित अवधिका लागि नेपाली नागरिकलाई दुईतर्फी रु ७५०, भारतीयलाई भारु ७५० र तेस्रो मुलुकका विदेशीलाई २२ अमेरिकी डलर कायम गरिएको प्रालिले जनाएको छ ।
आईएमई ग्रुपले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाडौँको चन्द्रागिरि र हालै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।
बुटवल बमघाटदेखि पाल्पा वसन्तपुरसम्मको तीन किलोमिटर क्षेत्रमा निर्माण गरिएको केबलकारले बुटवल ३ को चुरे सामुदायिक वन समेतको ३.१६ हेक्टर र पाल्पाको तिनाउ–३ को चिउरीडाँडा न्याउली सामुदायिक वन समेतको ३.११ हेक्टर गरी ६.२७ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ । केबलकार परियोजनाले २५ वर्षका लागि त्यहाँको वन क्षेत्र प्रयोग गर्न पाउनेगरी सरकारले स्वीकृति दिएको हो ।