रुपन्देही । तपाइँले बुटवलमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने गुणस्तर कायम राखी उपभोक्ताको हितलाई ध्यान दिएर मात्रै सामग्री बिक्री गर्नुहोला । होइन भने बुटवल उपमहानगरपालिकाको कारबाहीमा पर्नुहोला ।
कालाबजारी, खाद्य मिसावट, म्याद नाघेको खाद्य तथा पेय पदार्थको बिक्री वितरण भएको गुनासो निरन्तर बढ्दै गएपछि उपमहानगरले अनुमगन गरी त्यस्ता व्यवसायीलाई धमाधम कारबाही थालेको छ । पहिलो चरणमा सचेत गराउँदा अटेर गरेका व्यवसायीलाई कारबाही गरिएको हो ।
उपमहानगरका उपप्रमुख तथा अनुगमन समितिका संयोजक सावित्रादेवी अर्याल नेतृत्वको अनुगमन समितिले अखाद्य वस्तुको उत्पादन र बेचबिखन गरी उपभोक्ताको जिउज्यान र स्वास्थमा खेलवाड गर्ने व्यवसायीलाई ऐन अनुसार कारबाही सुरु गरिएको छ । दिनहुँ जसो उपमहागर क्षेत्रका अधिकांश खाद्यान्न विक्री गर्ने पसल, मासु पसल, मिष्ठान्न भण्डार होटल तथा स्पा सेन्टर र फलफूल तथा तरकारी थोक बिक्री पसलमा अनुगमन भइरहेको छ ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक अर्यालको नेतृत्वमा उपभोक्ता हित संरक्षण मञ्च बुटवल, रुपन्देही व्यपार संघ र बुटवल उद्योग वाणिज्य संघका प्रतिनिधी अनुगमन टोलीले निरन्तर बजार अनुगमन गरेको छ ।
बजारलाई स्वच्छ र स्वस्थ बनाउन अनुगमनलाई निरन्तरता दिइएको उपप्रमुख तथा अनुगमन समितिका संयोजक अर्याल बताउनुहुन्छ । “पहिलो चरणमा अनुगमन गरी सचेत गरायौँ, दोस्रो चरणमा सुधार नभएको पाइएपछि कारबाही नै गरेका छौँ”, उहाँ भन्नुहुन्छ ।
उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने कुनै पनि पसल र व्यवसायीलाई नछाड्ने उहाँको भनाइ छ । अबको चरणमा बजारमा जाँदा कमजोरी भएको पाइए पसल नै सिल गर्नेसम्मको तयारी रहेको संयोजक अर्यालले बताउनुभयो । “गतवर्ष दुग्ध जन्य पदार्थमा मिसावटको गुनासो आएपछि दुधडेरीमा निरन्तर अनुगमन गर्यौँ, पछि जाँच गर्दा दुध खान लायक भएको पाइयो, अहिले अन्य पसल र व्यवसायको निरन्तर अनुगनमा छौँ”, उपप्रमुख अर्याल भन्नुहुन्छ ।
यो वर्ष ७५ खाद्यान्न विक्री गर्ने पसल , ४५ मासु पसल, २६ मिष्ठान्न भण्डार, २४ होटल तथा स्पा सेन्टमा अनुगमन गरिएको छ । यस्तै १७ वटा फलफूल तथा तरकारी थोक बिक्री पसलमा अनुगमन गरी उपभोक्ता ठगी गर्नेलाई कारबाही गरिएको छ ।
बुटवलमा सबैभन्दा बढि खाद्यान्न, मासु र मिष्ठान्न भण्डार कारबाहीमा परेका हुन् । उत्पाादन तथा उपभोग्य मिति नभएका अखाद्य सामानको बिक्री गर्ने ५ खाद्यान्न पसलबाट चिउरा, पिठो, चामल, कुरमुरे, दाल, टिमुर छोप, ओखर घाँजी, सुपारी, नरिवल, मसला, मेथी, चिनी लगायतका सामान जफत गरी नष्ट गरिएको अनुगमन तथा सरसफाई शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिनुभयो । यी पसललाई रु ४० हजार जरिवाना गरिएको भने मूल्यसूचि राख्न निर्देशन समेत दिइएको छ ।
खाद्यान्न मात्रै होइन बुटवलका विभिन्न क्षेत्रमा अखाद्य मासु बिक्री गर्ने पसललाई समेत कारबाही गरिएको छ । भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवल उपमहानगरपालिकाले मासु पसलहरु र सप्लायर्सहरुमा अनुगमन गरेको हो । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक परीक्षण गर्दा कम गुणस्तर भेटिएका, मिसावट गरेका र अखाद्य वस्तुको बिक्री गरी उपभोक्ता ठगी गर्ने पसल कारबाहीका परेका हुन् ।
जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म ४५ वटा मासु पसल र सप्लायर्समा अनुगमन गरी १ सय ३५ किलो अखाद्य मासु र ४ प्याकेट अखाद्य ससेज नफत गरी नष्ट गरिएको छ ।
कारबाहीमा पर्नेमा गोलपार्कको स्याङ्जा मासु पसल, पूरानो बसपार्क स्थित न्यू मेहदी मासु पसल, कालिकानगरस्थित न्यू रहमान मासु पसल, नेपालगञ्जरोड स्थित साफिक फ्रेस हाउस, जाफिर मासु एण्ड सप्लायर्स र अकबाल मासु पसल छन् । यी मध्ये न्यू मेहदीले खसीको मासु भनि बाख्रीको मासु ब्रिकी गर्दै आएकाले कारबाही गरिएको हो ।
अनगुमनका क्रममा मापदण्ड पूरा नगरेका, बधस्थल फोहोर र अव्यवस्थित पाइएका, मासु पसल र अन्य पसलहरु एकैठाउमा राखेका, व्यवसाय दर्ता नगरेकाजस्ता मासु पसल तथा सप्लायर्सहरुलाई चेतावनी दिदै सुधार गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका, अखाद्य मासु बिक्रीका लागि राखेका पसलहरुबाट ४० हजार जरिवाना गराइएको छ ।
बुटवलमा राम्रो नाम कमाएका मिष्ठान्न भण्डार तथा पसलहरु नै कारबाहीमा परेका छन् । अखाद्य तेलको प्रयोग गरी मिठाई बनाउने गरेको पाइएपछि बुटवलको गणपति मिष्ठान्न भण्डार सहित ६ वटा मिष्ठान्न भण्डार कारबाहीमा परेका छन् । यी मिष्ठान्न भण्डारबाट अखाद्य अवस्थामा रहेको १८ लिटर तेल, मिठाइ १४ किलो, नमकिन ६ पोका, पेय पदार्थ १४ बोतल जफत गरी नष्ट गरिएको छ भने रु ९० हजार जरिवाना असुल गरिएको छ ।
अनुगमन समितिले उपमहानगरका २४ होटल तथा विभिन्न स्पा सेन्टरमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा होटलका भान्सा कोठा फोहर भएको पाइएकाले सफा राख्न निर्देशन दिइएको छ । यस्तै उपमहानगरका फलफूल तथा तरकारी थोक बिक्री पसलमा अनुगमन गरी ५० किलो सडेको फलफूल जफत गरी नष्ट गरिनुका साथै दर्ता र नवीकरण नभएका व्यवसायीलाई तत्कालै दर्ता गर्न निर्देशन दिइएको छ । सडेको तरकारी र फलफूल बिक्री गर्ने पसललाई रु १५ हजार जरिवाना गरिएको छ ।
उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर बजारमा बिक्रीका लागि राखिएका आँप, केरा, अंगुर, काउली, भिण्डी, सिमला र टमाटरमा विषादी परीक्षण गरिएको छ । भारतका विभिन्न स्थान तथा, कपिलवस्तुको कृष्णनगर, दाङ र नवलपरासीको त्रिवेणीबाट ल्याएका तरकारी तथा फलफूलमा विषदी परीक्षणका लागि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला, ईकाई बुटवलमा पठाइएको थियो । कार्बामेट र अर्गानोफस्फेट समूहकिटनाशक विषादीको परीक्षण गर्दा नतिजा राम्रो आएको अनुगम शाखा प्रमुख पोखरेल बताउनुहुन्छ । “हामीले फलफूल र तरकारीको विषादी अवशेष परीक्षणका लागि पठायौँ, नतिजामा सबै उपभोग योग्य भनेर आएको छ”, उहाँले भन्नुभयो ।
संविधानको अनुसूची–७ मा संघ र प्रदेशले साथै अनुसूची–८ मा स्थानीय तहले उपभोक्ता अधिकार संरक्षण गर्नुपर्ने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन, ०७४को दफा ११ ले स्थानीय सरकारले उपभोक्ता अधिकारसम्बन्धी कानुनको कार्यान्वयन र नियमनको व्यवस्था गरेकाले उपभोक्ता हितलाई ध्यान दिँदै निरन्तर अनुगमन गरिएको उपप्रमुख अर्यालको भनाइ छ ।
नेपालको संविधान ०७२को मौलिक हकका रूपमा धारा ४४ मा ‘उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ, गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुनेछ’ भनेको छ ।
राज्यका नीति तथा निर्देशक सिद्धान्तअन्तर्गत धारा ५१ मा जवाफदेही र प्रतिस्पर्धा कायम गर्न नियमनको व्यवस्था, आपूर्ति, सञ्चय, सुरक्षा र सुलभ तथा प्रभावकारी वितरणको व्यवस्था, कालोबजारी, एकाधिकार, कृत्रिम अभाव सिर्जना गर्ने र प्रतिस्पर्धा नियन्त्रण कार्यको अन्त्य गरी राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई व्यापारिक स्वच्छ तथा अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने संवैधानिक व्यवस्था गरेको छ ।
संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न उपभोक्ता संरक्षण ऐन, ०७५ ल्याइएको छ । उपभोक्ता संरक्षण ऐन, ०७५ले उपभोक्तालाई सहज पहुँचको अधिकार, प्रतिस्पर्धात्मक मूल्यमा छनोट गर्न पाउने अधिकार, वस्तु वा सेवाबारे सु–सूचित हुन पाउने अधिकार प्रदान गरेको छ । तर उपभोक्ता आफ्नो अधिकारबारे सचेत छैनन् ।
बजारमा राखिएका खाद्यान्न, फलफूल लगायत विभिन्न सामाग्रीको गुणस्तर कस्तो छ ? उचित मूल्य छ की छैन, उत्पादन र उपभोग गर्ने मिति सहि छ की छैन भनेर उपभोक्ताले कमै हेर्ने भएकाले व्यवसायीले जस्तोसुकै सामान पनि बिक्री गर्ने गरेका छन् । यस्तो अवस्थामा बजार अनुगमनसँगै उपभोक्तालाई पनि सचेत बनाउने काम भइरहेको छ भन्नुहुन्छ, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी । “पहिला अनुगमन गर्ने र सम्झाइ बुझाइ गर्ने काम मात्रै हुन्थ्यो तर अहिले कारबाहि नै थालेपछि व्यवसायी सचेत भएका छन्, बजारमा प्रभाव पनि राम्रो परेको छ”, उहाँ भन्नुहुन्छ ।