बुटवल–व्यापार संघकै नाम राखेर २०१० सालमा बुटवल व्यापार संघ स्थापना भएको थियो । तर अहिलेको रुपन्देही व्यापार संघसँग बुटवल व्यापार संघसँग खासै साइनो भने छैन । ४० को दशकतिर बुटवल व्यापार संघ बुटवल उद्योग वाणिज्य संघमा रुपान्तरण भयो ।
त्यस अघि नै व्यापारी र उद्योगीको विवादका कारण रुपन्देही उद्योग संघको जन्म भइसकेको थियो । यस क्षेत्रमा बुटवल उद्योग वाणिज्य संघ र रुपन्देही उद्योग संघ व्यवसायिक संस्थाको रुपमा सक्रिय हुँदै गए ।
२०४६ सालमा मुलुकमा प्रजातन्त्र पुनस्र्थापना भयो । पञ्चायतको ठाउँमा दलिय शासन मुलुकमा सुरु भयो । समय बित्दै जाँदा व्यवसायिक संघसस्थाहरुमा पनि राजनीति घुस्यो । त्यसकै कारण २०५७ सालमा रुपन्देही व्यापार संघको जन्म भयो ।
बुटवल उद्योग वाणिज्य संघमा कांग्रेस निकटका व्यवसायीहरु हावी हुँदै गए । अनि रुपन्देही उद्योग संघमा कम्युनिष्ट विचारका व्यवसायीहरुको प्रभाव बढ्यो । उद्योग संघलाई केही कांग्रेस निकट व्यवसायीले पनि नेतृत्व गरे ।
तर उद्योग वाणिज्य संघको नेतृत्वमा भने कांग्रेस निकट बाहेक अन्यले ठाउँ पाउन सकेनन् । बुटवल उद्योग वाणिज्य संघको २०५५ सालमा भएको अधिवेशनमा कांग्रेस निकट व्यवसायीबाट ज्ञानेन्द्र कसजु र वामपन्थी व्यवसायीबाट मोतीराज पाण्डे संघको अध्यक्षमा भिडेका थिए । ज्ञानेन्द्र कसजु चुनाव जितेर संघको अध्यक्ष बने ।
टंक पोखरेल लगायत केही कम्युनिष्ट निकट कार्यसमिति सदस्यमा रहेपनि उद्योग वाणिज्य संघमा कांग्रेस निकट व्यवसायीकै प्रभाव थियो । कम्युनिष्ट निकट अधिकांस उद्योगी रुपन्देही उद्योग संघमा आबद्ध थिए । कम्युनिष्ट निकट व्यापारीहरु भने व्यापारी भने छुट्टै संस्था खोल्न तर्फ लागे ।
फलस्वरुप व्यापारीहरुलाई लक्षित गरी रुपन्देही व्यापार संघ खुल्यो । रुपन्देही व्यापार संघमा अहिले पूर्व एमालेहरुकै बर्चस्व छ । हालका अध्यक्ष पदमप्रसाद श्रेष्ठ राष्ट्रिय जनमोर्चा निकट मानिन्छन् । उनीबाहेक यस अघिका मोतीराज ज्ञवाली, शंकर भट्टराई, टंक पोखरेल, श्रीकृष्ण पोखरेल र मोती पाण्डे पूर्व एमाले निकट हुन् ।
तिनै मोती पाण्डे उद्योग वाणीज्य संघमा अध्यक्ष पदमा ज्ञानेन्द्र कसजुसँग पराजित भएका थिए । कांग्रेस निकट व्यवसायी ज्योति भण्डारी व्यापार संघको कार्यसमितिमा रहेपनि सचिव पद जित्न सकेनन् । यसरी व्यवसायिक संस्थाहरुलाई राजनीतिले नराम्ररी गाँजेको छ ।
रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष टंक पोखरेलले व्यापार संघ छुट्टै खुल्नुमा दलीय राजनीति मात्र कारण नभएको दाबी गर्छन् ।
‘केही मात्रामा त्यस्तो पनि देखिन्छ । तर अर्को कुरा व्यवसायिक संस्थामा उच्च वर्ग र खास समुदायका मानिसको प्रभाव पनि थियो’–उनले भने–‘पछिल्लो पटक अन्य समुदायका मानिसहरु पनि व्यवसायमा आए । आएपछि स्वभाविक रुपमा उनीहरुले पनि भूमिका पनि खोज्ने भए । यस्तो प्रचलन जताततै छ ।’
पोखरेलले विगतमा व्यवसायिक संस्थाहरु बजार केन्द्रीत थिए । आफूहरुले ग्रामिण क्षेत्रका व्यवसायीलाई पनि समेटेर रुपन्देही व्यापार संघ खोलेको बताए । ‘व्यवसायीहरुको बृद्धि भएपनि स्वभाविक रुपमा संघ संस्थाहरु जन्मिन्छन्’–उनले भने–‘हामी सबै व्यवसायीक संस्थाको उदेश्य त आर्थिक गति चलायमान बनाउनु नै हो ।’
बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजुले बुटवल उद्योग वाणिज्य संघ आम व्यवसायीको साझा संस्था भएकोले राजनीतिक भयो भनेर बुझ्न बताउँछन् । ‘देशभरका जिल्ला र नगरपालिकामा उद्योग वाणिज्य संघ छ । आधाजसोमा वामपन्थी र आधामा प्रजातान्त्रिक विचार धाराकै छन्’–उनले भने ‘मेरो राजनीतिक लाइनको आएन भनेर भातृसंस्था खोल्ने हो भने त्यसले समग्र व्यवसायिक क्षेत्रलाई केही कमजोर बनाउँछ ।’ कसजुले बुटवल उद्योग वाणिज्य संघमा दलगत, समयुदाय र वर्गका आधारमा विभेद नभएको भन्दै १४–१५ वर्ष कार्यसमितिमा बसेकाहरु नेतृत्वमा पुग्ने गरेकाले त्यस्तो देखीएको हुन सक्ने बताए ।
उनले जतिओटा संस्थाहरु खुलेपनि व्यवसायीक समस्यामा सबै संस्था एक हुनुपर्ने बताए । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघपछि तत्कालीन नेकपा माओवादी समर्थित व्यवसायीहरु मिलेर नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन खोलेर आफ्ना गतिविधि अगाडि बढाएको थियो । व्यवसायीहरु आफै राजनीतिक कित्ताकाट हुँदैनन् । तर संघ र सम्बन्धी ठाउँमा आफ्नो प्रभाव बढाउन दल र तिनका नेताले व्यवसायीहरुलाई उचाल्ने र व्यवसायिक संस्थामा राजनीतिकरण गर्ने गर्दछन् ।