बुटवल–गत मंसिर १७ गते बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको गेटै अगाडि भएको दुर्घटनामा स्कुटर चालकको ज्यान गयो।
ना ७ ख १३३९ नम्बरको ट्रकको ठक्करबाट लु ४९ प २५२ नम्बरको स्कुटर चालक भरत शर्माको घटनास्थलमै ज्यान गएको थियो।
त्यसअघि मंसिर १० गते बुटवल कालिकानगरमा बा १२ च ७४५६ नम्बरको कार डिभाइडरमा ठोकिँदा देवदहका विपिन ज्ञवालीले उपचारको क्रममा ५ दिनपछि ज्यान गुमाए।
देवदहको भलुही नजिकै मंसिर १५ गते राती भएको मोटरसाइकल दुुर्घटनामा १८ वर्षे किशोर निरज ढकालको ज्यान गयो। मंसिर २३ गते तिलोत्तमाको जानकीनगरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बुटवल कालिकानगरका आविष्कार खनालको काठमाडौमा उपचार भइरहेको छ।
यी पछिल्ला सवारी दुर्घटनाका केही प्रतिनिधि घटना मात्र हुन्। सडकमा सवारी चाप बढेसँगै दुर्घटनाको संख्या पनि त्यत्तिकै बढिरहेको छ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार रुपन्देहीमा मंसिरको २७ गतेसम्म ३७ वटा सवारी दुर्घटना भएका छन्। जसमा १६ जनाको मृत्यु भएको छ। त्यस्तै २४ जना गम्भीर घाइते छन्। ३१ जना सामान्य घाइते भए।
महिना नसकिँदै मंसिरमा कात्तिकको भन्दा बढी सवारी दुर्घटना भएको छ भने मृत्यु हुनेको संख्या पनि धेरै छ।
कात्तिक महिनाभर २५ वटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो। त्यसैगरी गत असोजमा रुपन्देहीमा ८ वटा दुर्घटनामा ३ जनाको ज्यान गएको थियो। यसरी हेर्दा सवारी दुर्घटनाको दर महिनैपिच्छे बढेको देखिन्छ।
रुपन्देहीमा मात्र होइन लुम्बिनी प्रदेशमा पनि सवारी दुर्घटनाको दर महिनैपिच्छे बढेर गएको छ। प्रदेशमा मंसिर १ गतेदेखि २७ गतेसम्मको अवधिमा १ सय २५ वटा सवारी दुर्घटना भएको छ। जसमा ४८ जनाले ज्यान गुमाएका छन्। १ सय १५ जना गम्भीर घाइते भएका छन्।
कात्तिक महिनामा दुर्घटनाको संख्या मंसिरमहिना भन्दा १८ वटा कम छ। प्रदेशमा कात्तिक महिनामा १ सय ७ वटा दुर्घटना भएकोमा ५१ जनाको मृत्यु भएको छ। कात्तिकमा मृत्यु हुनेको संख्या धेरै देखिएपनि गम्भीर घाइते हुनेको संख्या जारी मंसिर महिनामै बढी देखिएको छ। कात्तिकमा गम्भीर घाइते हुनेको संख्या ९१ रहेको छ।
लुम्बिनी प्रदेशमा असोज महिनामा ७३ वटा दुर्घटना भएकोमा २४ जनाले ज्यान गुमाएका थिए भने ४८ जना गम्भीर घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
महिनैपिच्छे दुर्घटनाको संख्या लगातार बढ्नुमा बढ्दै गरेको सवारी चाप पनि एउटा कारण हो। सवारी चाप बाहेक अन्य केही कारण पनि रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्लीनारायण पाण्डे बताउँछन्।
‘कोभिडका कारण अहिले धेरैले निजी सवारी साधन लिए, त्यसले सडकमा सवारी चाप बढाएको छ।’–उनले भने–‘मान्छेहरु काम विशेषले होटल वा अरु कतै बास बस्थे। अहिले त्यसरी बस्दैनन्, अबेरै भए पनि हतार गरेर आफ्नै घर जाने गर्छन।’
डिएसपी पाण्डेले नयाँ निजी गाडी लिएकाहरुमा सवारी चलाउने अभ्यास नभएको हुनसक्ने उल्लेख गरे। ‘सवारी किनेर लाइसेन्स भएर पनि अभ्यास कम भएकाले सवारी चलाए, लाइसेन्स नभएकाले पनि चलाउन खोजे’–उनले भने–‘यसले पनि दुर्घटना संख्या बढाउने कारक बन्यो।’
पाण्डेले दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड फेरि लागू गर्ने तयारीमा रहेको बताए। कोभिडको कारण बीचमा टिप्पर लगायतका साधनमा टाइमकार्ड लागू भएको थिएन। अब फेरि लागू गर्ने उनले बताए। ‘त्यसबाहेक सवारी चेकिङ पनि बढाउँछौं’–उनले भने।