बुटवल–प्रदेश ५ सरकारको मुख्यमन्त्री कार्यालय तथा अन्य केही मन्त्रालयका आफ्नै फेसबुक र ट्वीटर एकाउण्ट छन् । तर ती नाम मात्रका जस्ता देखिन्छन् ।
मन्त्रालयका सामाजिक सञ्जालमा केही सामग्री मात्र राखिएका छन् । तर महिनौ देखि अपडेट गरिएका छैनन् । केही त वर्षदिन अघिदेखि अपडेट छैनन् ।
अंग्रेजीमा ओसिएमसिएम–पीफाइभ नाम राखिएको ट्वीटर एकाउण्टको लिंक मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेवसाइटमै भेटिन्छ । ट्वीटर हेर्दा १६ महिना अघि २ पटक मात्र ट्वीट भएको देखिन्छ । ट्वीटरमा २०१८ जुलाइ २४ मा मुख्यमन्त्री कार्यालयको फोटो राखिएको छ ।

https://twitter.com/OcmcmP5/status/1021996296574574595
सोही दिन नै मुख्यमन्त्री कार्यालयका कर्मचारी बैठकका २ वटा फोटो पनि अपलोड भएको छ । ट्वीटरमा ती बाहेक अरु केही सामग्री फेला पर्दैन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव एवं प्रवक्ता टेकनारायण पाण्डेले प्राविधिक जनशक्तिको अभावमा ट्वीटरलाई नियमित गराउन नसकेको बताए ।
‘भएका प्राविधिक कर्मचारी समायोजन भएर जानुभयो । अरु भएका कर्मचारीबाट निर्वाह मात्र गरिएको छ । प्राविधिक कर्मचारी व्यवस्थापन गर्न सकेका छैनौं’–उनले भने–‘अब सामाजिक सञ्जाललाई प्रयोग गरेर व्यवस्थित रुपमा सुचना प्रवाह गर्ने योजनामा छौं । मोबाइल एप्स मार्फत जनतासँग प्रदेश सरकार भन्ने कार्यक्रम नै लञ्च गर्न खोजिरहेका छौं ।’
सामाजिक सञ्जाल अपडेट नभएपनि वेवसाइट मार्फत भने सुचना प्रवाह भइरहेको पाण्डेले बताए । मुख्यमन्त्री शंकर पोखरेलले नै सम्हालेको आर्थिक मामिला तथा योजना मन्त्रालयको वेवसाइटमा फेसबुक र ट्वीटरको लिंक भेटिदैन ।
कुलप्रसाद केसी मन्त्री भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयको वेवसाइटमा फेसबुक र ट्वीटर दुवैको लिंक रहेको छ ।
‘आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश पाँच’ लेखिएको फेसबुक एकाउण्टमा पछिल्लो पटक नोभेम्बर २६ मा नेपाल टेलिभिजन कोहलपुरको प्रदेश डायरीको युट्युब लिंक राखिएको छ । त्यस अघि गत भदौ २३ गते २ वटा फोटो अपलोड भएको थियो ।
दुवै फोटोमा संविधान दिवस मनाउने सन्देश दिइएको छ । एउटा फोटोमा संविधान दिवसको लागि राष्ट्रिय झण्डा कसरी बनाउने भनेर सिकाइएको छ । अर्कोमा संविधान दिवसमा प्रयोग गरिने टिसर्ट भनेर फोटो राखिएको छ । फोटोमा भएको सेतो टिसर्टमा राष्ट्रिय झण्डाको चिन्ह छ । भदौ २३ गते ११ महिनापछि फेसबुक अपडेट भएको देखिन्छ ।
आन्तरिक मामिलाको ट्वीटरमा पनि फेसबुक जस्तै पछिल्लो पटक संविधान दिवसको सन्देश राखिएको छ । त्यस अघि अप्रिल २ तारिखमा ‘जापानिज भाषा सिक्ने सरल तरिका’ लेखिएको युट्युव सेयर गरिएको छ ।

युट्युब सेयर गर्नु अघि सन २०१८ अक्टोवर २८ अर्थात २०७५ कार्तिकमा मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालयको सुचना केन्द्रको उद्घाटन गरेको ४ वटा फोटो राखिएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले केन्द्रको सञ्चार तथा सुचना प्रविधी मन्त्रालय सम्बन्धी काम पनि गर्दछ ।
प्रदेशको सूचना प्रविधि तथा सञ्चार सम्बन्धी नीति बनाउने मन्त्रालय आफै सुचना प्रविधिमा सुस्त देखिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी नारायण अर्यालले सामाजिक सञ्जाल मार्फत सुचना प्रवाहमा सुस्तता आएको स्वीकार गरे । ‘सुरुमा केही समय त फेसबुक र ट्वीटर चलाइयो । अहिले अब समय नभएर पनि हो । अरु काममा व्यस्त भइन्छ ।’–उनले भने–‘अब त्यसलाई व्यवस्थित गरेर नियमित अपडेट गर्छौं ।’
भौतिक पूर्वाधार विकास मन्त्रालयको ट्वीटर एकाउण्टमा चारवटा सामग्री मात्र राखीएको छ । तर एक वर्ष यता अपडेट छैन । २०१८ नोभेम्बर २९ तारिखमा एक अनलाइनले लेखेको ‘समायोजनका चुनौती’ शिर्षकको लेख सेयर गरे यता अन्य कुनै सामग्री मन्त्रालयको ट्वीटरमा देखिदैन ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको फेसबुक अक्टोवर ४ तारिखसम्म सुस्त गतीले अपडेट थियो । मन्त्री लिला गिरीको दशैं तिहारको शुभकामना सन्देशको फोटो राखेयता मन्त्रालयको ट्वीटरमा कुनै सामग्री अपलोड भएको छैन ।
सामाजिक विकास मन्त्रालयको वेवसाइटमा सामाजिक सञ्जालको एकाउण्ट भेटिदैन । त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको वेवसाइटमा ट्वीटर एकाउण्टको लिंक त भेटिन्छ तर त्यो प्रदेश मन्त्रालयको नभई संघको कृषि मन्त्रालयको रहेछ ।
प्रदेश सरकारले सेवा प्रवाहलाई सूचना प्रविधि मैत्री बनाउने, शासकीय र विकास निर्माण कार्यमा सूचना प्रविधिको विस्तार गर्ने लगायतका कुरा गरेपनि सूचना प्रवाहलाई अझै सम्म प्रविधि मैत्री बनाउन सकेको छैन ।