बुटवल–प्रदेश ५ मा उत्पादन हुने फोहोरबाट बिजुली निकाल्नका लागि प्रदेश सरकारले तयारी थालेको छ ।
प्रदेशमा उत्पादन हुने फोहोरको वर्गीकरण गरी उर्जा उत्पादनका लागि अध्ययन गरेको भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।
बिजुली निकाल्नका लागि फोहोरको वर्गीकरण गर्ने र बिजुली निकाल्न काम नलाग्ने फोहोर मात्रै डम्पिङ गर्ने उनले बताए ।
‘सड्ने फोहोर, प्लाष्टिक र धातुजन्य फोहोर छुट्टाएर मात्रै बिजुली निकाल्न सकिन्छ, उनले भने–त्यसका लागि सबैभन्दा पहिले नागरिकमा चेतना जगाउनु आवश्यक छ ।’
फोहोरको छुट्टाछुट्टै व्यवस्थापनका लागि स्थानीय सरकारसँग समन्वय गरेर काम थाल्ने उनले बताए ।
प्रारम्भिक अध्ययन पूरा, १ दिनमा ४ सय ५९ युनिटसम्म बिजुली निकाल्न सकिने
गत असारसम्म प्रदेशका विभिन्न जिल्लामा गरिएको अध्ययनले एक दिनमा १ सय ३७ देखि ४ सय ५९ युनिटसम्म बिजुली उत्पादन गर्न सकिने देखाएको छ ।
मन्त्रालयले चालु आर्थिक वर्षमा फोहोरबाट बिजुली निकाल्नका लागि ९० लाख रुपैयाँ बजेट छुट्टाएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय उर्जा शाखाका इन्जिनियर सूर्यदेव गुप्ताले प्रदेशभर २०७५ माघबाट गरिएको अध्ययनका क्रममा गुल्मीको रेसुंगामा सबैभन्दा बढी फोहोर संकलन भएको पाइएको बताए । मन्त्रालयले प्रदेशका सबै जिल्लाका एक–एक स्थानीय तहलाई आधार मानेर अध्ययन गरेको थियो ।
उनी भन्छन्–स्थानीय सरकारसँग सहकार्य गरेर फोहोरको वर्गीकरण गर्दै व्यवस्थापन गर्न सकियो भने बिजुली उत्पादन गर्न सकिन्छ ।’
अध्ययनअनुसार गुल्मीको रेसुंगा नगरपालिकामा १ दिनमा ४ सय ५७ युनिट, कपिलवस्तुको बुद्धभूमिमा ३ सय ३० युनिट, रुपन्देहीको देवदहमा २ सय ६० युनिट, नवलपरासी पश्चिमको सुनवलमा १ सय ७७ युनिट बिजुली उत्पादन गर्न सकिन्छ ।
यस्तै अर्घाखाँचीको सन्धिखर्कमा २ सय १६ युनिट, रुकुम पूर्वको सिस्ने गाउँपालिकामा १ सय ८३ युनिट, प्युठानको स्वर्गद्वारी नगरपालिकामा १ सय ५३ युनिट, बाँकेको नरैनापूर नगरपालिकामा १ सय ४६ युनिट बिजुली निस्कने संभावना छ ।
गुप्ताका अनुसार बर्दियाको मधुवन नगरपालिकामा २ सय १४ युनिट, दाङको लमही नगरपालिकामा २ सय १४ युनिट, पाल्पाको रामपूर नगरपालिकामा १ सय ६४ युनिट बिजुली निकाल्न सकिन्छ ।