बुटवल- लुम्बिनी प्रदेश थारु समुदायको बाहुल्य भएको प्रदेश हो। नवलपरासी पश्चिम देखी बर्दियासम्मका तराइका जिल्लामा आदिबासी थारु समुदायको बस्ती छ। पछिल्ला निर्वाचनमा स्थानियदेखी प्रदेश हुँदै केन्द्रसम्मका महत्वपूर्ण पदमा थारु समुदायबाट राम्रै उपस्थिती छ। लुम्बिनी प्रदेशको प्रदेश सभामा थारु समुदायबाट ११ जना सांसद रहेका छन्। उनीहरु मध्ये केहीले लुम्बिनी टाइम्ससँग कुरा गर्दै माघीको अनुभव बारे बताएका छन्।
'माघीको आर्थिक पक्ष हराइसक्यो, साँस्कृतीक पक्ष मात्र बाँकी छ'

बैजनाथ चौधरी (नवलपरासी पश्चिम)
मन्त्री, भौतिक पूर्वाधार विकास
माघी हामी थारु समुदायहरुकोे नयाँ वर्ष हो। जमिनदारकोमा बस्ने कमैया, कमलरी, हरुवा, चरुवा फेरबदल हुने दिन हो। मालिकको घरमा काम गर्दा बर्ष भर कहिले छुट्टी नपाउने कामदारहरुले माघी अर्थात खिचडीको बेला भने एक हप्ता छुट्टी पाउँथे। कामबाट फुर्सद हुनुका साथै आफ्नो मालिक फेर्न पाउने मौका पनि थियो।
एक प्रकारले यो बेला किसान मदजुरहरुको स्वतन्त्रता दिवस पनि हो। खिचडीकै बेला दाजुभाई छुट्ट भिन्न तथा अंशबण्डा हुने समयको रुपमा लिइन्छ। छुट्टिनुपर्दा छुट्टै हरुवा राख्नुपर्ने हुँदा यो उपयुक्त समय हो। माघी पर्वको यो आर्थिक पक्ष हो ।आर्थिक पक्ष बाहेक यसको सांस्कृतीक पक्ष पनि छ। यो पर्वमा चेलीबेटी बोलाएर रमाइलो गरिन्छ।
आफन्तहरु जुटेर धुमधामका साथ मनाइन्छ। अहिले त हरुवा चरुवाको प्रचलन हराइसकेको छ। कमैया कमलरी मुक्ती भए। आफन्तहरु जम्मा हुने, खानपान र नाँचगान गरेर रमाइलो मात्र गरिन्छ । त्यसैले अहिले माघिको आर्थिक पक्ष हराइसकेको छ। साँस्कृतीक पक्ष मात्र बाँकी छ भन्दा हुन्छ। हाम्रो नवलपरासी पश्चिममा पनि धुमधामका साथ यो पर्व मनाउँछौं।
'माघीमा उठीबास लाग्ने हो कि भन्ने चिन्ता हुन्थ्यो'

कृष्णी थारु (बर्दिया)
उपसभामुख, प्रदेश सभा
थारु समुदायको महत्वपूर्ण पर्व भएपनि कमलरी र कमैया भएको अवस्थामा हामीलाई यो माघी किन आउँछ जस्तो लाग्थ्यो। मालिकलाई मन नपरेमा अर्को मालिक खोज्न गाउँ चाहार्नुपर्दथ्यो। माघीपछिको एक हप्ता त मालिक खोज्न हिड्ने र आफ्ना सामान उठाएर अर्को घर जान पथ्र्यो।
७ वर्षको उमेरदेखी म कमलरी बसें। हाम्रो परिवारको आर्थिक अवस्था एकदम कमजोर थियो। मैले काम गर्न नसकेपनि त्यही बस्छ खान्छ भनेर मेरा बुबा आमाले अर्कोको घरमा मलाई कमलरी राख्नुभएको थियो। सुरुमा म पहाडीयाको घरमा कमलरी बसें। २ वर्ष त्यहाँ बसेपछि अर्को गाविस खैरियामा थारु मालिकको घरमा बसें । त्यहाँ पनि साढे २ वर्ष बसें। त्यसपछि बुबा–आमा जमुनाबजीबाट सरेर राजापुर आउनुभयो। बुबाआमा सरेपछि म पनि खैरियाबाट राजापुरको अर्को मालिकको घरमा आएँ। यसरी मालिक फेर्ने दिन माघीकै बेला पर्दथ्यो। विवाह अघि मेरो लागी बुबा आमाले नै मालिक खोजिदिनुहुन्थ्यो।
१५ वर्षको उमेरमा मेरो विवाह भयो। विवाह भएपछि श्रीमान कमैया भए,अनि म बुक्रही भएर एउटै घरमा काम गथ्र्यौ। त्यसपछि श्रीमानले नै मालिक खोज्नुपर्यो। नयाँ मालिक खोज्नुपर्ने सास्तीले माघी पर्व किन आउँछ होला भन्ने लाग्थ्यो। माघी आयो अब त हाम्रो उठीबास हुने होला भन्ने त्रास हुन्थ्यो ।
२०५७ सालमा कमैयामुक्तीको घोषणा भयो। मुक्त भएपछि स्वतन्त्र भइयो। कसैको करकाप भएन। मन परे अर्काको काम गर, मन नपरे अरु केही गर, तर जसरी भएपनि खानु त प¥यो। स्वतन्त्र भएपछि माघी पर्व पनि रमाइलो लाग्न थाल्यो। अनि पो बल्ल माघीको उत्साह थाहा भयो। विपन्न र गरिब समाजमा हामीले पनि गाउँको समिक्षा गर्न थाल्यौ। के गर्ने के नगर्ने भन्ने छलफल हुन थाल्यो। प्रदेश सभामा आएपछि गत दुई वर्ष मैले बर्दियामा नै माघी पर्व मनाए। अहिलेको माघीमा बुटवलमै छु।
'बर्षभरीको समिक्षा,नयाँ नेतृत्व चुन्ने र पारिवारि भेटघाट गर्ने खास अवसर हो'

डिल्लीबहादुर चौधरी (दाङ)
सभापति, सार्वजनिक लेखा समिति, प्रदेश सभा
माघी हाम्रो ठूलो चाड हो। विहान हामी नदिमा पैसा राखेर नुहाएका छौ। बर्षभरी गरेको पाप बगेर जाओस भनेर पहिले–पहिले तामाको पैसा राखेर नुहाउँथ्यौ। अहिले त अरु पैसा राखेर नुहाइन्छ। विहान दिदीबहिनीहरुको लागि चामल, मास र नुन छुट्याउँछौं। त्यसपछि आमालाई ढोग्ने गर्छौ। त्यसबाहेक आँफू भन्दा बढि उमेरका सबैलाई ढोग्ने चलन छ।
घर–घरमा ढोगेर सबैको आशिर्वाद लिइसकेपछि हाम्रो बस्तीमा दिउसो गाउँभरीको बैठक बस्छ । जो मुख्य मान्छेको घरमा बसिन्छ, आज उनलाई गाली गर्ने छुट हुन्छ। त्यसलाई बखेरी भन्ने चलन छ। त्यहाँ खान पान पनि गरिन्छ। भोली विहानै बसेर फेरि नयाँ नेता चुन्ने गरिन्छ। नयाँ नेतृत्व चुन्न आउँदा खाएर आउन पाइँदैन। अर्को चलन पनि छ। आज हामी पुरुषहरुले महिलाहरुलाई खुवाउँछौं । भोली महिलाहरुले पुरुषहरुलाई खुवाउनुपर्दछ।
बर्षभरीको समिक्षा गर्ने, नयाँ नेतृत्व चुन्ने खास समय हो। नयाँ नेतृत्व चुनेपछि गाउँको सुखदु:खको जिम्मf त्यही नेतामा जान्छ। तर उनले एक्लै गर्न पाउँदैनन् सबैसँग सल्लाह गर्नुपर्दछ। विगतमा माघीमा केही नराम्रा पक्ष पनि थिए। कमैया राख्ने फेर्ने दिनको रुपमा यो पर्व रहेको थियो। अहिले कमैया मुक्ती भइसकेकाले त्यो अवस्था छैन। विशुद्ध सामाजिक र साँस्कृतीक पर्व बनेको छ। जहाँ भएपनि माघीमा हामी आफ्नो घरमा जम्मा हुन्छौं। म पनि काम विशेषले भारततिर थिएँ। माघी मनाउन हतार हतार दाङ आएको छु।
'माघी नमनाइकन कुनै महत्वपूर्ण काम सुरु हुँदैन थियो'

तुलसी प्रसाद चौधरी (रुपन्देही)
सांसद, प्रदेश सभा
चेलीबेटी बोलाएर मिठो–मिठो खाने, नाँच गान गर्ने गरी हामी माघी मनाउँदै छौं। हाम्रो थारु समुदायको महत्वपूर्ण दिन हो। हाम्रा पूर्वजहरुले खिचडी नखाइकन, माघे सक्रान्ती नमनाइकन कुनै महत्वपूर्ण काम सुरु गर्दैन थिए। विवाहवारी आदि इत्यादि माघे सक्रान्ती पछि नै हुन्थ्यो। त्यतीबेला मुख्य आयश्रोत भनेको धान हो। कृषीमा अहिले जस्तो उपकरण थिएन। त्यसैले पुस महिना धान स्यहारेर सकेपछि माघ महिना केही फुर्सदिलो हुन्थ्यो। खर्च पर्च जुटाउन सहज थियो। हरुवा-चरुवाले आफूले गर्दै आएको जग्गा जमिन्दारलाई सुम्पेर मालिक खोज्न अर्को गाउँमा जाने प्रचलन थियो।
माघी अघि जमिन्दारले काम छोड भन्दैन थिए। पहेँलो भात खाइसकेपछि मालिकको घरमा बस्ने हरुवा चरुवाले मन परे आफू बसिरहेको ठाउँमा बस्थे चित्त नबुझे अर्को ठाउँमा जान्थे। कसैको कर हुँदैन। माघीमा हाम्रो थारु समुदायले पहेलो भात अर्थात खिचडी मुख्य परिकार हो। पहुँच हुनेकोमा माछा मासुका परिकार पनि हुन्छ। हाम्रो हजुरबुबाहरुले विगतमा खिचडीको अघिल्लो दिन बँदेल, खसी, बगुर काट्ने गर्दथे। त्यो देखेर हामी सानो हुँदा रमाइलो मान्थ्यौ। अहिले एक किलो भएपनि बजारमा पाउँछ। त्यसैले सामुहिक रुपमा बँदेल, खसी काट्ने प्रचलन कम छ । तर पनि सामुहिक रुपमा माघी मनाउने चलन उस्तै छ।