भैरहवा -मुस्लिमहरुको महान पर्व इद आज मुस्लिम धर्मावलम्बीहरुले घरैमा रहेर मनाइरहेका छन । इद र वकरइदका लागि बनाइएका इदगाह आजको पनि गत वर्ष झै सुनसान रहे । ईदगाह वर्षको दुई पटक मुस्लिम समुदायले नमाज पढ्ने विशेष ठाउँ हो । हजारौ मुस्लिम समुदाय एकत्रित भई नमाज पढ्ने यो ठाँउ अहिले कोरोना महामारीले सुनसान भएको छ । जोखिमलाई मध्यनजर गर्दै ईद घरैमा नमाज पढेर मनाइएको छ ।
हर्षोल्लासका साथ मनाइने ईद पर्व ईदगाहमा गएर सामुहिक रुपमा पढ्ने गरे पनि गत वर्ष झै यस पटक सुनसान रुपमा मनाइयो । यस वर्ष कोरोनाको कहर तथा निषेधज्ञाले गर्दा कठिन परिस्थितिमा भैरहवाको बसडिलवा, पिपरहियामा रहेको ईदगाहमा कोही पनि देखिएनन भने अन्य मस्जिदमा मौलानाहरुले पनि नियमित नमाज अदा गरेर मनाए ।
रुपन्देहीमा २ दर्जन बढि ईदगाह र मस्जिद छन, अधिकांस मस्जिदको ढोका बन्द छ । प्रर्थनाका लागि सधै खुल्ला हुने मस्जिदका ढोका कोरोनाका कारण इदमा मात्र होइन, नियमित साप्ताहिक नमाजमा पनि बन्द नै छ । इदको नमाज कतै कतै ४–५ जनाको समूहमा सामाजिक दुरी कायम गरी पढे पनि अन्य मस्जिदहरु सुनसान नै रह्यो ।

मदरसा कठौतिया समितिका कोषाध्यक्ष मुसाफिर अलिले बढ्दो संक्रमणका कारण यस वर्षको इदको नमाज इदगाहमा नभएको बताए । ‘गत वर्ष पनि जोखिमका कारण नमाज स्थगित गरेका थियौ, यस वर्षपनि कोरोनाको दोस्रो लहरका कारण घरघरमै पढ्न अनुरोध गरेका थियौ । सोही अनुरुप मुस्लिम समुदायले ईदको नमाज घरैमा पढेका छन्।’ उनले भने । ‘यस्तो विसम परिस्थितिमा नेपाल सरकारको निर्देशनमा रहेर ईद मनाइएको छ ।’ ४ दशक बढि समयदेखि वर्षेनी बसडिलवा इदगाहमा नमाज हुदै आएको थियो ।
आजकै दिन मुस्लिम समूदायको पवित्र महिना तथा कुरआन अवतरण भएको महिना रमजान (रोजा) सकिएको दिन ईद हो । बिहीबार सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिए पछि रोजा सकिएर आज इद मनाइको छ । एक महिनाको रोजा पूरा गरिसकेपछि आज इदुलफित्र अर्थात इद मनाइन्छ ।

ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (इद) भैरहवा सहित देश विदेशभरि धुमधामका साथ मनाइने गरेपनि अहिले केही रौनकता छैन । यो पर्व आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (व्रत) को समापन पनि हो । ‘ज्यान रहे ईद त फेरि पनि मनाइन्छ । यस्तो अवस्थामा समुदाय र परिवारलाई संक्रमणबाट बचाउनु ठूलो कर्तव्य हो।’ मस्जिद रहमानियाका मौलना फैजूल्लाले भने ।
ईदको दिन बिहानै नुहाइधुवाइ गरी सुकिला, सफा कपडाका साथमा वासनादार अत्तर लगाई इदगाह (नमाज पढ्न बनाइएको विशेष खुल्ला ठाउँ) वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढिन्छ । सो पश्चात एकआपसमा गला मिलाएर इद मुबारक भन्दै एकआपसमा शुभकामना साटासाट गर्ने नमाजपछि ईदको विशेष परिकार सेवईका साथै अन्य मिठाईका परिकारहरु एक अर्कालाई खुवाउने, ठूलाबडासँग आशीर्वाद लिने र साथीभाइसँग जमघट भई मिलनको पनि पर्व हो । तर अहिले मुस्लिम समुदाय आफै पकाएर आफै खाने गरेका छन, पाहुना तथा छरछिमेक पनि अतिथी बनेर अरुको घर गएका छैनन ।

विपन्न, अशक्त, टुहुरा, असहाय आदिलाई दान दिएर खुशी पार्नु पर्ने यो चाडको प्रमुख विशेषता हो । रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिना भन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ । रमजान महिना मुस्लिम समूदायको लागि महत्वपूर्ण महिना हो यस महिनाको सुरुवातबाट नै स्वर्गका ढोकाहरु खोलिन्छ र नर्कका ढोका बन्द हुने धार्मिक विश्वास छ ।
रोजाको अवधिमा शारीरिक रुपमा दुब्लो भए पनि मानसिक रुपमा निकै गौरवान्वित ठान्ने मुस्लिमले इस्लाम धर्मका पाँच आधारभूत सर्त कलमा, रोजा, नमाज, जकात र हजअन्तर्गत हजबाहेक सबै आधारभूत सर्तहरु पूरा गर्ने अवसर प्राप्त गर्छन् ।
