बुटवल–प्रदेश नं. ५ सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ को २५६४ औं बुद्ध जयन्तीका अवसर पारेर बिहीबार औपचारिक रुपमा समापन भएको छ ।
प्रदेश सरकारले बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार प्रसारका साथै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले गत बर्ष बैशाख पुर्णिमामा भ्रमण बर्षको औपचारीक शुभारम्भ गरेको थियो ।
भ्रमण बर्षका अवसरमा लुम्बिनी लगायत यस संग सम्बन्धित कपिलबस्तुका बुद्ध संग सम्बन्धित क्षेत्रहरु, नवलपरासीको रामग्राम, रुपन्देहीको देवदह लगायतका क्षेत्रहरुको प्रवद्र्धन र प्रचार प्रसारका महत्वपुर्ण कार्यक्रम आयोजना गरिएका छन् ।
सोहि कार्यक्रममा २५६४ औं बुद्ध जयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा कोरोना भाइरस(कोभिड १९) महामारी विरुद्ध साझा संकल्प गर्दै लुम्बिनीमा दीप प्रज्वलन समेत गरिएको थियो । कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले दीप प्रज्वलन गरी महामारी बिरुद्ध लड्न साझा ऐक्यवद्धताका लागि सबैलाई आब्हान गरे ।
कार्यक्रममा लुम्बिनी भ्रमण बर्ष मुल समितिका संयोजक समेत रहेका मुख्यमन्त्री पोखरेलले बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) बिरुद्ध जुध्नका लागि बुद्ध दर्शनलाई आत्मसात गर्न सकिए मानव समूदायलाई आवश्यक पर्ने आत्मवल प्राप्त गर्न सकिने बताए ।
उनले बौद्ध दर्शनले मानिसलाई निराशको बाटो नभएर आत्मविश्वास, मानसिक रुपमा शान्ति कायम गर्न मार्गदर्शन गर्ने र भाइरस विरुद्ध लडन सफलता प्राप्त गर्न महत्वपूर्ण भुमिका खेल्ने बिश्वास ब्यक्त गरे ।
उनले कोरोना भाइरस बिरुद्ध लडन अपनाउनुपर्ने सामाजिक दूरीका लागि आत्मसंयम आवश्यक पर्ने बताउदै बुद्धका दर्शनलाई आत्मसात गर्न सकिए आत्मसंयम प्राप्त गर्न सकिने बिश्वास पनि ब्यक्त गरे ।
मुख्यमन्त्री पोखरेलले भ्रमण बर्षको समापन संगै बुद्ध पूर्णिमाको कार्यक्रम प्रदेशका जनताको उल्लेख्य सहभागिता गराएर आयोजना गर्ने योजना महामारीको संक्रमण नियन्त्रणका लागि पालना गर्नुपर्ने सामाजिक दूरी जस्ता कारणले स्थगित गर्नुपरेको बताए ।
कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री तथा भ्रमण बर्षका कार्यकारी समितिका संयोजक लिला गिरीले भ्रमण बर्ष कार्यक्रम लुम्बिनी र बुद्धसंग सम्बन्धित स्थानहरुको बिकास र प्रवद्र्धन गर्ने उद्धेश्यले केन्द्रीत गरिएको बताउदै ती स्थानहरुको प्रचार प्रसार, स्थानीयमा संरक्षण र बिकासमा अपनत्वको भावना विकास भएको बताए ।
उनले भ्रमण बर्षमा लुम्बिनी र यससंग जोडिएका बौद्ध स्थानहरुको तत्कालिन सामाजिक परिवेश, बस्तुस्थितीलाई उजागर गरेर स्थापित गर्ने र लुम्बिनी आउने बिश्वभरिका पर्यटकहरुलाई ती क्षेत्रको भ्रमणका लागि पुग्ने वातावरण बनाएर पर्यटकका बसाइ अवधि लम्ब्याउने उद्धेश्य अनुरुप भ्रमण बर्षमा धेरै कार्यक्रमहरु सम्पन्न गरिएको जानकारी दिए ।
मन्त्री गिरीले भ्रमण बर्षले प्रदेशको पर्यटनलाई स्थापित गर्न, प्रवद्र्धन गर्नका लागि, लुम्बिनी र यस संग जोडिएका क्षेत्रहरुको बिकास, गौतम बुद्धले स्थापित गरेको दर्शनको प्रचार प्रसार लगायत प्रदेशका पर्यटकीय क्षेत्रको बिकासका लागि आयोजना गरिएको बताए ।
उनले प्रदेश सरकारको पहिलो कार्यक्रम लक्ष अनुरुपनै सफलतापुर्वक सम्पन्न भएकाले यसले उत्साह थपिएको र आगामि दिनमा अझै प्रभावकारी रुपले आयोजना गरिने बताए ।
यस्तै भ्रमण बर्षमा आयोजना गरिएका मायादेवी प्रसुति उत्सव, सुजाता खिर उत्सव, बौद्ध साहित्य गोष्ठी, अन्तर्राष्ट्रिय बौद्ध दर्शन गोष्ठी, त्रिपिटक बाचन लगायतका महत्वपुर्ण कार्यक्रम सम्पन्न भएका प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव डा. राधा वाग्लेले जानकारी दिए ।
उनले लुम्बिनी भ्रमण बर्षका आयोजना भएका कार्यक्रम प्रभावकारी भएका तर, यसको समापन लगायत यस बर्षका केही कार्यक्रम कोरोना भाइरसको महामारीका कारण आयोजना गर्न नसकिएको जानकारी गराए । भ्रमण बर्षका कार्यक्रम अन्तर्गत एक बर्ष सम्म बुद्धसंग सम्बन्धित स्थानहरुमा प्रत्येक महिनाको पुर्णिमामा फुल मुन डे कार्यक्रम आयोजना गरिएको उनले बताए ।