बुटवल-दन्त स्वास्थ्यकर्मीहरुको एउटा समूहले बाँसको बिँड भएको ब्रस बजारमा ल्याएको छ। प्रिभेन्टिभ डेन्टिष्टहरुको मुस्कान समूहले बाँसको बिँड भएको ब्रस काठमाडौँ र बुटवलको बजारमा ल्याएको हो। ब्रसको उत्पादन गरिरहेको मुस्कान समूहमा बुटवलको आधुनिक समाज डेन्टल केयर प्रालिका अध्यक्ष अमृत भुसाल पनि आबद्ध रहेका छन्।
अहिले परिक्षणको रुपमा पहिलो लट बजारमा ल्याएको मुस्कान समूहका सदस्य भुसालले बताए। ‘सुरुमा अहिले १० हजार ब्रस बजारमा ल्याएका छौं। अहिलेलाई काठमाडौ र बुटवलमा मात्र परिक्षणको रुपमा बजारमा पठाएका छौं।’-उनले भने-‘ग्राहकबाट कस्तो प्रतिक्रिया आउँछ। मन पराउँछन कि पराउँदैनन् हेर्दै छौं।’ परिक्षण उत्पादन सफल भएमा बाँसको बिँड भएको ब्रसलाई थप विस्तार गर्ने भुसालले जानकारी दिए।
बाँसको ब्रस वातावरणमैत्री भएको मुस्कान समूहको दाबी छ। ब्रसमा भएको प्लाष्टिक र रबरको हेण्डल कुहिँदैन’ भुसालले भने ‘बाँसको हेण्डल डिस्पोज गर्न पनि सहज हुन्छ।’
बाँसको बिँड भएको ब्रस काठमाडौँमा उत्पादन हुने गर्दछ। ब्रसमा प्रयोग हुने बाँस भारतबाट आयात भएको छ। परिक्षणपछि नियमित उत्पादन गर्न थालेमा नेपालमै उत्पादित बाँस प्रयोग गर्ने मुस्कान समूहका सदस्य अमृत भुसालले बताए। १० लाखको लागतमा मुस्कान समूह तथा कम्पनीले ब्रस उत्पादन गरेको हो।
उत्पादिन ब्रसलाई मुस्कान ब्रस नाम दिइएको छ। ब्रस नरम खालको रहेको मुस्कान कम्पनीको दाबी छ। ‘हरेक दाँतमा सफा गर्न सक्ने तरिकाले ब्रसको डिजाइन गराएका छौं। हामीले बजारमा ल्याएको ब्रस नरम ब्रस हो’-भुसालले भने-‘नरम भएकाले दाँतमा लागेका फोहर अड्केका खानेकुरा सहज तरिकाले सफा हुन्छ।’
बजारमा ब्रसको मूल्य सय रुपैयाँ तोकिएको छ। उत्पादन बढी हुँदा यसको मूल्य केही सस्तो पर्न सक्ने भुसालले बताए। अबको केही दिनभित्र बुटवलका सबै डेन्टल क्लिनिकमा यो ब्रस उपलब्ध हुने उनको भनाइ छ।
मुस्कान समूहले छिट्टै बच्चाले प्रयोग गर्ने ब्रस पनि बजारमा ल्याउन लागेको छ। त्यसका साथै फ्लोराइडयुक्त दन्तमन्जनको पनि उत्पादनको तयारी थालेको मुस्कान समूहले जनाएको छ।