खलङ्गा : ट्राफिक कार्यालयले सवारी कारवाहीबाट रु १३ लाख बढी राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले गएको आर्थिक वर्षमा विभिन्न शीर्षकमार्फत रु १३ लाख २२ हजार ५० राजस्व सङ्कलन भएको भएको प्रहरी हबल्दार कुशराज शाहीले बताए ।
उनले भने,“आव २०७७/७८ मा एक हजार ३२८ सवारी कारवाहीबाट रु १३ लाख २२ हजार राजस्व सङ्कलन भएको छ । यसमध्ये चालक अनुमतिपत्र बिनै सवारी चलाउने चालकको कारवाहीबाट रु तीन लाख २२ हजार जरिवाना असूली भएको छ । ”
क्षमताभन्दा बढी यात्रु राख्ने २५९ सवारीलाई कारवाहीबाट दुई लाख ५९ हजार जरिवानालगायत अन्य विभिन्न शीर्षकबाट गरी १३ लाख बढी सङ्कलन भएको छ । गत आवमा २६ सवारी दुर्घटना भएका छन् । यसमा चार जनाको मृत्यु भएको छ भने १३ गम्भीर घाइते र ३७ सामान्य घाइते भएका छन् ।
पछिल्लो समयमा सावरी साधनको बढ्ने क्रमले सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिनै सवारी चलाउने चालकको सङ्ख्या बढेको छ ।
ट्राफिक कार्यालयको गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्मको तथ्याङ्क अनुसार लाइसेन्सबिना नै सवारी चलाउने यहाँका ३१९ चालक कारवाहीमा परेका छन् ।
ती मध्ये सबैभन्दा बढी अटो चालक, मोटरसाइकल र ट्र्याक्टर, जीप चालक छन् । अधिकांश चालक लाइसेन्सविहीन रहेको जिल्ला प्रहरी सहायक निरीक्षक बिमलकुमार रावतले जानकारी दिए ।
नर्सरी निर्माण
यहाँको तिला – ७ तुही गाउँमा २८ लाख को उच्चस्तरको नर्सरी निर्माण भएको छ । विभिन्न प्रजातिका बिरुवा उत्पादन गर्ने उद्देश्यले नर्सरी निर्माण गरिएको हो ।
वन मन्त्रालय, अनुकूलन कोष, विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा पेश नेपालको साझेदारीमा सञ्चालित क्याप्स कर्णाली परियोजना अन्तर्गत नर्सरी निर्माण गरिएको हो ।
निर्माण गरिएको नर्सरीमा डालेघाँस, बकाइनो, निवारो, खनिउ, पालमोनिया, किम्बो र बुद्धचित्रका बिरुवा उमारिएको छ । नर्सरीमा उत्पादन गरिएको बिरुवा खाली रहेको वनमा वृक्षरोपण गरिने छ ।
जलवायु परिवर्तनले पारेको असरलाई कम गर्दै स्थानीय बासिलाई अनुकूलन गराउनको लागि नर्सरी निर्माण गरिएको सो सस्थाले जनाएको छ ।
नर्सरीमा उत्पादन गरिएका बिरुवा तुहि गाउँका नागरिकलाई निःशुल्क उपलब्ध गराइने प्राविधिक विष्णुप्रसाद लुइँटेलले बताए ।
नर्सरीमा जडीबुटी अन्तर्गत अतिश र टिमुरका बिरुवा पनि राखिएको भएको छ । ग्रामीण भेगका स्थानीयवासीकोे जीवनस्तर नर्सरीले केही राहत हुने वडाध्यक्ष हस्त बुढाले बताए ।
माझपातल सामुदायिक वनमा तीन हजार र तातोपानी गाउँपालिको सर्मिमा चार हजार ६०० डाले घाँससहित रुख प्रजातिका बिरुवा रोपिएको जनाइएको छ ।
यसले जलवायु परिवर्तन, अनुकूलन र जीविकोपार्जनमा सहयोग गर्ने सामुदायिक वनका अध्यक्ष मुनिलाल बुढाले जानकारी दिए । रासस