बुटवल–प्रदेश ५ सरकारले आज सोमबार आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्रीका रुपमा मुख्यमन्त्री शंकर पोखरेलले नै प्रदेशको तेस्रो बजेट ल्याउदैछन् । दिउसो ३ बजे प्रदेश सभामा मुख्यमन्त्री पोखरेलले ३८ अर्ब हाराहारीको बजेट पेश गर्ने छन् ।
लकडाउनले शिथिल बनाएको प्रदेशको अर्थतन्त्रलाई पुनरुत्थान गर्न कृषि क्षेत्रको पुनरुत्थान र वैदेशिक रोजगारबाट फर्कने व्यक्तिहरुका लागि रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर बजेट निर्माण भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयको भनाइ छ।
मन्त्रालयका योजना तथा बजेट महाशाखा प्रमुख जनार्दन पौडेलले करिब ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी भइरहेको बताए। यो चालु आर्थिक वर्ष २०६७/७७ को भन्दा करिब सवा एक अर्ब रुपैयाँले धेरै हो।
योजना आयोगका अनुसार कृषि क्षेत्र र स्वास्थ्य क्षेत्रले अघिल्लो बर्षभन्दा धेरै बजेट पाउनेछन्। अर्कोतर्फ वैदेशिक रोजगारबाट फर्कन सक्ने श्रमशक्तिलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा दिगो समयका लागि आवद्ध गराउन रोजगारमूलक कार्यक्रमहरु थप गरिने छ।
कोरोना कहर साम्य भएपछि वैदेशिक रोजगारबाट स्वदेश फिर्ती हुने श्रमशक्तिको करिब ३० प्रतिशत फेरि नफर्कने योजना आयोगको आँकलन छ। उक्त श्रमशक्तिको दक्षता र उपयोगिताको आधारमा प्रदेशमा नै उत्पादनमूलक क्षेत्रमा आवद्ध गराईराख्न त्यस्ता कार्यक्रमहरु ल्याईने आयोगले बताएको छ।
बजेटमा यस पटक स्वास्थ्य, कृषि र रोजगारीमा बजेट केन्द्रित हुने संकेत सरकारले गरेको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममा कृषि उत्पादन, स्वास्थ्य सुधार र रोजगारी स्थापनालाई प्राथमिकता दिएको थियो ।
कोरोनाले गरेको क्षति न्यूनीकरण गर्न बजेटमा नयाँ कार्यक्रम समावेश गरिने छ भने स्वदेशी श्रमिक प्रयोगमूलक योजना बनाउने र उक्त योजना कार्यान्वयनका लागि बजेटमा समेटिने प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
स्रोत अनुमान समितिको सिफारिसमा अनुमान गरिएको बजेट प्रतिवेदनका आधारमा आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट तयार गरेको छ । चालु आर्थिक वर्षको ३६ अर्ब ४१ करोड ६८ लाखबाट बढेर आगामी आर्थिक वर्षका लागि ३८ अर्ब हाराहारीको बजेट पेश हुने छ । कृषिमा आधारित रोजगारमुलक कार्यक्रम, स्वास्थ्यका पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा बजेट बढ्ने बताइएको छ ।
बजेटमा चालु वर्षको जस्तो पूर्वाधार प्राथमिकतामा नपर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता जनार्दन पौडेलले जानकारी दिए ।
कोरोनाले स्वास्थ्य अवस्थाको हैसियत देखाइदिएकाले पनि सरकारले बजेट रुपान्तरण गर्न बाध्य भएको हो ।
चालु आर्थिक वर्षलाई हेर्ने हो भने कुल ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेटमध्ये भौतिक पूर्वाधारमा दुई तिहाईभन्दा धेरै बजेट विनियोजन गरिएको थियो ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारले जेठ १३ गतेसम्म कुल बजेटको १४ अर्ब ७ करोड ७१ लाख १९ हजार अर्थात ३८.६३ प्रतिशत बजेट मात्र खर्च गरेको छ । तिव्र काम हुने समयमा लकडाउनले गर्दा काम हुन नसकेको प्रदेश सरकारको भनाई छ ।