सुर्खेत-कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७-०७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सोमबार कर्णाली प्रदेश सभा समक्ष बजेट पेश गरेका हुन् ।
कुल वजेट मध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरण तर्फ ९ प्रतिशत विनियोजन गरिएको छ। मुलुकको करिब २१ प्रतिशत भूगोल, ६ प्रतिशत जनसख्या र चालू आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको योगदान करिब ४.३ प्रतिशा योगदान रहेको छ।
यस प्रदेशको चालु आर्थिक वर्षमा आर्थिक बृद्धिदर ३६ प्रतिशतले हुने अनुमान सहित आगामी आर्थिक वर्षमा करीब ६ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य लिएको छ। गत आर्थिक वर्षको तुलनामा करीब ५० करोड न्यून रहेको कर्णालीको वजेट कोरोना केन्द्रित परिस्थिति बमोजिम मुलभुत रुपमा महामारी नियन्त्रण, भोकमरी न्यूनीकरण र रोजगारी सिर्जनामा केन्द्रित रहेको छ।
वजेटमा विकटता, विपन्नता र वेरोजगारीसँग जुधिरहेको कर्णाली प्रदेश हालको कोभिड १९ रोगबाट मृत्यु हुने व्यक्तिका परिवारलाई १ लाख राहत घोषणा गरेको छ । यस विश्व महामारीको नियन्त्रणका लागि १ अर्ब ५५ करोड विनियोजन गरिएको छ ।
प्रदेश अस्पतालमा ३०० आइसोलेसन बेड, ४० सघन उपचार कक्ष (आई.सि.यु.) र ४० भेन्टिलेटर सहितका विशेष सघन उपचार कक्ष बनाउने हरेक जिल्ला अस्पतालमा कम्तिमा पचास वटा आइसोलेसन बेड, कम्तिमा दश सघन उपचार कक्ष (आई.सि.यु.) र कम्तिमा पाँच भेण्टिलेटर सहितको सघन उपचार कक्ष तयार गर्न बजेट विनियोजन गरिएको छ।
प्रदेश अस्पताललाई ३०० शैयाको शिक्षण अस्पताल बनाउने, राकम कर्णालीमा ट्रमा अस्पतालको स्थापना गर्ने, घुम्ती अस्पतालको अवधारणा र दूर स्वास्थ्य (टेलिमेडिसिन) सेवा सञ्चालन गर्ने लगायतका नवीन र दूरगामी कार्यक्रम सहित स्वास्थ्य क्षेत्रका लागि करीब ९ प्रतिशत बजेट विनियोजन गरेको छ।
त्यसैगरी बजेटमा मुलुक र प्रदेश वाहिर रोजगारीका लागि गएका हजारौं कर्णालीबासी वर्तमान सङ्कटले घर फिर्ता भएका छन्। विगतदेखि नै खाद्य सङ्कट भोगिरहेको प्रदेशले हाल थप समस्या सामना गरिरहेको यस प्रदेशले घर फर्किएका व्यक्तिहरूलाई श्रम र उत्पादनसँग जोडेर कृषि क्षेत्रको सुधार गर्दै श्रम सहितको राहतका लागि करीब १ अर्ब बजेट विनियोजन गरेको छ।
खाद्य भण्डारण र आपूर्तिका लागि एक स्थानीय तह एक अन्न भकारी कार्यक्रम ल्याइएको छ । बजेटले रोजगारीलाई उच्च प्राथमिकता जनाउदैआफ्नो गाँउ स्व आत्मनिर्भर बनाऔँ अभियानका साथ बजेटको ठूलो हिस्सा करीब २० प्रतिशत अर्थात रु. ७ अर्ब उत्पादन बजेट रोजगारीका लागि विनियोजन भएको छ। कोरोना महामारीबाट फर्किएका बेरोजगार युवालाई श्रममूलक रोजगारीको माध्यमबाट विकास क्रियाकलापसँगै रोजगारी सिर्जना गर्न मुख्यमन्त्री रोजगार कार्यक्रम अघि बढाइएको छ ।
त्यसै गरि बजेटमाश्रम सहितको रोजगारी कार्यक्रम, रोजगामूलक पूर्वाधार विशेष कार्यक्रम, सामाजिक सुरक्षा तथा जीविकोपार्जन कार्यक्रम अन्तर्गत सञ्चालन हुने गरी खाना, नाना र छाना कार्यक्रम र रु. १ करोड सम्मका आयोजनाको कार्यान्वयन गर्दा मेशिन र उपकरणको प्रयोग नगर्ने नीति घोषणा गरिएको छ।
आधारभूत खाद्य उपजमा आत्मनिर्भरता विकास गर्ने, रैथाने बालीको प्रवर्द्धन गरी कर्णालीको मौलिक पहिचान कायम राख्ने कार्यक्रम सहित यस वजेटले कृषिलाई महत्वपूर्ण स्थान दिएको छ। प्रदेशभित्र उन्नत जातका फलफूल र पशुनश्ल सुधारका लागि ४७ करोड बजेट बाँडफाँट गरेको छ ।
एक स्थानीय तह एक उत्पादन विशेष कार्यक्रम, मेरो किसान मेरो अन्नदाता कार्यक्रम, उत्पादन परिमाणमा आधारित कृषक प्रोत्साहन, अर्गानिक उत्पादन प्रोत्साहन, स्रोत केन्द्रको विकास, पकेट क्षेत्र प्रवर्द्धन र सामुदायिक बीऊ बैंक कार्यक्रम जस्ता गरिबमुखी कार्यक्रम ल्याइएको छ।
कोभिड १९ को कारणले अध्ययन, अध्यापन र सिकाईमा परेको प्रभावलाई न्यूनीकरण गर्न दुर्गम पहाडी क्षेत्र सहित प्रदेशका सबै जिल्लामा एफ.एम. रेडियो, टेलिभिजन र इन्टरनेट समेतको माध्यमबाट दूर शिक्षा प्रदान गर्न भर्चुअल रिसोर्स सेन्टर (स्रोत केन्द्र) स्थापना गर्ने घोषणा गरी रु ११ करोड वजेट छुट्याइएको छ।
बैंक खाता छोरीको सुरक्षा जीवन भरिको, दलित महिला आय आर्जन कार्यक्रम लगायत महिला, दलित, युवा, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख र सिमान्तीकृत लगायत लक्षित वर्गको उत्थान र विकासका लागि सामाजिक न्याय, सुरक्षा र सशक्तीकरणका सामाजिक उत्तरदायी बजेट ल्याइएको छ ।