बुटवल-प्रदेश ५ ले ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३६ अर्ब ३५ करोड २५ लाख रुपैंयाको बजेट सार्वजनिक गरेको हो ।
कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार (३४.६४ प्रतिशत), पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार (५१.२२ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार रुपैंया रहेको छ ।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री समेत रहेका तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले बजेट पेश गरेका हुन् ।
उक्त बजेटमध्ये आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७५ लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरणतर्फ १७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८८ करोड ३६ लाख समपूरक अनुदानतर्फ ४८ करोड ३३ विशेष अनुदानबाट र २१ करोड र चालु वर्षको खर्च हुन नसकेको रकमबाट ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएको छ । अघिल्लो वर्ष प्रदेश ५ ले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैंयाको बजेट ल्याएको थियो ।