बुटवल–कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण केही महिनायता पर्यटन क्षेत्र ठप्प छ । यसको असर अझै यो वर्षभर देखिने सम्भावना छ । तर यो महामारीपछि पर्यटन क्षेत्रमा सुधार होला भन्ने आशले प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा पर्यटन क्षेत्र तर्फ पनि थुप्रै शिर्षकमा बजेट विनियोजन गरेको छ । वार्षिक बजेट पूस्तिकामा संस्कृति र पर्यटनतर्फ १ सय ८२ शिर्षकमा बजेट विनियोजन गरिएको छ । यी मध्ये केही करोडका आयोजनाहरु पनि छन् ।
करोडका आयोजना मध्ये सबै भन्दा बढी बजेट रुरु क्षेत्रमा परेको छ । रुरु क्षेत्रकोे पर्यटकीय विकासका लागि कालीगण्डकी तथा रिडीखोला नियन्त्रण आयोजनाका लागि भनेर आगामी आर्थिक वर्षमा १५ करोड ५४ लाख रुपैया विनियोजन भएको छ ।
यस्तै बृहत्तर लुम्बिनी पर्यटन पर्यटन प्रवद्र्धन कार्यक्रमको लागि २ करोड ५० लाख रुपैया छुट्याइएको छ । यी दुबै शिर्षक बजेट वक्तव्यमा उल्लेख छ । बजेट बक्तव्यमा उल्लेख नगरी बजेट पुस्तिकामा मात्र उल्लेख गरिएका अन्य करोडका आयोजनाहरुमा पाल्पाको श्रीनगर र नुवाकोटमा साँस्कृतिक डबली बनाउने पनि छन् । यी दुबै आयोजनाको लागि तीन–तीन करोडका दरले बजेट उपलब्ध गराइने उल्लेख छ ।
त्यसै गरी बाँकेमा मानसरोवरको प्रतिकात्मक स्थल सहित बोटानिकल गार्डेन निर्माणको लागि २ करोड, अर्घाखाँचीको पाणिनी तपोभूमि पर्यटकीय पूर्वाधार निर्माणका लागि २ करोड, दाङको बाह्रकुने दहमा बहुउदेश्यीय पार्क निर्माणको लागि १ करोड ४० लाख, दाङकै घोरदौरामा साँस्कृतिक डबली निर्माणमा १ करोड २० लाख, तिलोत्तमाको बनवाटिकामा पर्यटकीय पूर्वाधार निर्माणको लागि एक करोड १० लाख रुपैया आगामी आर्थिक वर्षको लागि छुट्याइएको छ ।
पर्यटकीय पूर्वाधार निर्माणमा एक करोड, होम स्टेमा साँस्कृतिक घर निर्माण र परम्परागत बाजा तथा भेषभुषा संरक्षणमा २ करोड छुट्याइएको भएपनि यी विभिन्न जिल्लामा छरिने आयोजना हुन् ।
एक करोडभन्दा कम र ५० लाख भन्दा बढीका एक दर्जन आयोजनाहरु छन् । जसमध्ये दाङको चखौरामा थारु संग्रहालय निर्माण र प्युठानको स्वर्गद्वारी मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि ६०–६० लाख रुपैयाँ विनियोजन भएको छ ।
पूर्वी रुकुमको कमलदह ओडार पदमार्गको लागि ५५ लाख रुपैयाँ खर्च गरिने छ । त्यसैगरी बाँकेको धारापानीको धार्मिक क्षेत्रमा पार्कसहित भौतिक पूर्वाधार निर्माण, रुकुमको ताक्सेरालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने, रुपन्देहीको गजडी दानापुर तालमा पर्यटकिय पूर्वाधार निर्माण, दाङको दंगीशरण थारु कल्चर भिलेज पूर्वाधार निर्माण, घोराहीको मल्टीपरपोज बोटानिकल गार्डेन निर्माण, पाल्पा दरबार संग्रहालय व्यवस्थापन, मणिमुकुन्द सेन दरबार संरक्षण, रामापिथेकश जुलेजिकल पार्क निर्माण, रामापिथेकस जिवांस भेटिएको स्थानमा पहुँच मार्ग व्यवस्थापनको लागि ५० लाखको दरले बजेट विनियोजन गरिएको छ ।