बुटवल–बुटवल उपमहानगरले नागरिकको जीवन रक्षा नै पहिलो कार्यभार मान्दै स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यसका साथै बृहत बुटवल, शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई समेत उच्च प्राथमिकतामा राख्दै बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
उपमहानगरको सोमबार सुरु नगरसभाको सातौं अधिवेशनमा आव २०७७/०७८ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले नागरिकको जीवन रक्षामा ध्यान केन्द्रित गरिएको र स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गरे ।
“जीवन रहे समृद्धि पछि पनि हासिल गर्न सकिन्छ भन्ने मान्यताबाट हामी अगाडि बढ्ने प्रयास गरेका छौं, नागरिकको जीवन रक्षा नै आजको पहिलो कार्यभार हो र हाम्रो कर्तव्य पनि त्यहि नै हो ।”–बुटवलको नीति तथा कार्यक्रममा उल्लेख छ ।
दिगो विकास लक्ष्य, हामीले बुटवलले तयार गरेको एकीकृत शहरी विकास गुरुयोजना र पन्ध्रौं योजनाबाट समेत निर्देशित हुँदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा “समृद्ध प्रदेश खुशी जनता” भन्ने प्रदेशको आकांक्षाको एकीकृत विकाससँगै “सवल आर्थिक केन्द्र समुन्नत बुटवल” मार्फत आधार तयार गरि “समृद्ध बुटवल खुशी बुटवलवासी” बनाउने लक्ष्य प्राप्त गर्ने अभियानमा केन्द्रित रहेको बुटवलले बताएको छ ।
बृहत बुटवलको अवधारणा
बृहत बुटवल र भविष्यको महानगरको रुपमा फराकिलो अवधारणाकासाथ छिमेकी पालिकाहरुसंग समन्वयात्मक रुपमा विकास प्रक्रिया अघि बढाउन र तदनुरुपका पूर्वाधार तयार गर्न आवश्यक रहेको बुटवलको नीति तथा कार्यक्रममा उल्लेख छ ।
बुटवलले लिएका नीति तथा कार्यक्रमले बुटवललाई ५ नं. प्रदेशको स्थायी राजधानी घोषणा गर्न थप टेवा दिने विश्वास लिएको नीति कार्यक्रममा उल्लेख छ ।
यस्ता छन् प्राथमिकता विषय
कोभिड १९ को संक्रमण लगायतका महामारी र विपदबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने, उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सृजना गर्दै आर्थिक विकासको गतिलाई निरन्तरता दिने, चालु आ.ब.का अधुरा बार्षिक योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिई सम्पन्न गर्ने । दीगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक कार्य गरिने भएको छ ।
सामाजिक, आर्थिक, र भौतिक पूर्वाधार विकास मार्फत नगरवासीहरुको जीवनस्तर माथि उठाउने, नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, अन्तर सरकारी वित्त व्यस्थापन ऐनलगायतका नेपाल कानूनबाट स्थानीय सरकारलाई प्राप्त अधिकारलाई संस्थागत गर्दै संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिदै असल शासन प्रबद्र्धन गरी स्थानीय सेवा प्रवाह प्रभावकारी बनाइने भएको छ ।
आधुनिक बधशालाको निर्माण सुरु, कृषिलाई प्राथमिकता
बहुप्रतिक्षित पशु बधशाला निर्माणकार्य सुरु भएको छ । करिब २३ करोड बराबरको लागतमा बन्ने यो बधशाला मुलुककै अत्याधुनिक हुने बताइएको छ ।
यस्का लागि बुटवलले प्रदेश सरकारसँगको संयुक्त लगानी र निजी तथा गैर सरकारी क्षेत्र समेतको सहकार्यमा डीपीआर तयार पारेर निर्माणकार्यका लागि सम्झौता गरेको छ । बुटवलले नगरको आर्थिक विकासको मुख्य आधारका रुपमा सहरी कृषिलाई लिदै कृषि प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
जोखिममा खटिनेको बीमा, आयुर्वेद र योगाको विस्तार गरिने
बुटवलमा रहेका निरन्तर खटिरहेका महिला स्वास्थ्य स्वयंसेविका र अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने बुटवलका पत्रकारहरुलाई एक लाख बराबरको कोभिड १९ जोखिम बिमा गरिने भएको छ ।
कोभिड १९ नियन्त्रण हेतु आयुर्वेदिक औषधि वितरण, योगाभ्यास तथा जीवन शैली परिवर्तन गर्ने कार्यक्रम नियमित रुपमा समुदायस्तरमा सञ्चालन गरिने भएको छ । प्रकृति मैत्री स्वच्छ जीवन प्रणाली प्रवद्र्धनगरी बुटवलवासीको रोग प्रतिरोधी क्षमता बृद्धि गर्न विभिन्न निरोधात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ ।
आम्दा अस्पताललाई विशिष्टिकृत सिटी अस्पताल बनाइने, ट्रमा सेन्टर निर्माणको पहल थालिने
सिद्धार्थ बाल तथा महिला अस्पताललाई बाल तथा प्रसुतीको विशिष्टकृत सिटी अस्पतालका रुपमा रुपान्तरण गरी संचालन गर्न आवश्यक तयारी गरिने भएको छ ।
केन्द्र र प्रदेश सरकारको सहयोग तथा नीजि क्षेत्रको सहकार्यमा ट्रमा सेन्टर स्थापनाको लागि आवश्यक पहल गरिनेछ ।
बुटवलले स्वास्थ्य संस्थाहरुको ल्याबबाट ४० वर्ष माथिका नागरिकहरु र अपाङ्गता भएका तथा एकल महिलाहरुको रक्तचाप, अल्बुमिन र मधुमेह निशुल्क रुपमा जांच गर्ने व्यवस्था यसअघि नै मिलाएको छ ।
शिक्षामा वैकल्पिक प्रविधि र पद्दति
कोरोना भाइरसको संक्रमणको सन्त्रासले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गरी शिक्षामा बैकल्पिक प्रविधि र पद्दतिको प्रयोग बढाइने भएको छ ।
सबै बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाको समान अवसर उपलब्ध गराउन “सिङ्गो बुटवल, एक विद्यालय” को अवधारणा अनुरूप शिक्षाको नयाँ पद्धति बिकास गरिने भएको छ । अनाथ एवं विपन्न परिवारका बालबालिकाहरूलाई अन्य बालबालिका सरह शिक्षाको पहुंचमा ल्याउन विशेष व्यवस्था गरिने छ ।
बुटवललाई प्राणी जगतको अध्ययन केन्द्रका रुपमा रामापिथेकस जियोलोजिकल पार्क निर्माणका लागि प्रदेश सरकारसँग समन्वय र सहकार्य गरिनेछ ।
पार्किङलाई प्राथमिकता, स्तरीय सडक निर्माण
प्रदेशको अस्थायी मुकाम, दुई मुख्य राजमार्गको संगम स्थल र मुलुकको प्रमुख व्यापारिक नाका भएकाले पनि बुटवलमा जनघनत्व र ट्राफिक जाम अन्यत्रभन्दा धेरै छ ।
यसैले बुटवलमा अब निर्माण हुने कुनै पनि भवनको पार्किङलाइ अनिवार्य गरिएको छ । मुख्य शहरी क्षेत्रमा भवन निर्माण गर्दा अनिवार्य रुपमा अन्डरग्राउण्ड पार्किङसहितको भवन निर्माण गर्ने गरी कानूनी प्रबन्ध मिलाइने भएको छ ।
“हाम्रो सडक–हाम्रो सहभागिता, स्तरीय सडक–हाम्रो प्रतिबद्धता” अनुरुप सडक सुधारका कार्यलाई निरन्तरता दिइने र स्तरीय सडक निर्माणमा जोड दिइने भएको छ । नगर क्षेत्रभित्र चक्रपथका लागि अति आवश्यकीय पूर्वाधार तयार गरी नगर बस सेवा सञ्चालनका लागि समन्वय गर्ने नीति कार्यक्रममा उल्लेख छ ।
“हाम्रो बुटवल, सुरक्षित बुटवल” लाई साकार पार्न तिनाउ नदीमा तटबन्ध सहितको तिनाउ करीडोर निर्माण गर्न संघीय सरकारसँग समन्वय एवम सहजिकरण गरिने भएको छ । यस्तै मोतिपूर र सेमलार क्षेत्रमा स्याटेलाईट सहरको विकासका निम्ती आवश्यक अध्ययन कार्य अघि बढाईनेछ ।
पर्यटन बोर्ड गठन गरिने
बुटवलका पर्यटकीय क्षेत्रहरुलाई एउटै सर्किटमा राखेर प्रवद्र्धन गरिने भएको छ । संघ, प्रदेश सरकारको सहकार्यमा जितगढी किल्लाको संरक्षण, हिलपार्कमा विशाल बुद्ध मूर्ति स्थापना र जितगढी युद्धसंग्रहालय निर्माण तथा पुरानो बटौलीको मौलिक पहिचान स्थापित गर्न गुरुयोजना कार्यान्वयनमा ल्याई पर्यटकीय स्थलको रुपमा क्रमश विकास गरिने भएको छ ।
कृषिलाई स्वरोजगारको आकर्षक क्षेत्र बनाइने
कृषी क्षेत्रलाइ स्वरोजगारीको आकर्षक क्षेत्र बनाइने भएको छ । कृषि क्षेत्रलाई बुटवलको जिवनयापनको महत्वपुर्ण आधारका रुपमा ग्रहण गर्दै नविनतम सिप तथा प्रविधिको प्रयोग मार्फत आधुनिकिकरण तथा व्यवसायीकरण गरी बुटवलको कृषि क्षेत्रको उत्पादकत्व तथा उत्पादनलाई वृद्धि गर्ने नीति लिइने भएको छ ।
कोभिड १९ संक्रमणको कारण रोजगारी गुमाएका, विदेशबाट फर्किइ कृषिकर्ममा लाग्न चाहेका युवायुवती तथा नागरिकहरुलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउने नीति कार्यक्रममा उल्लेख छ ।
जमिनको चक्लाबन्दी मार्फत चक्लाबन्दी खेती प्रणाली प्रर्वद्धन गर्न, करार खेतीलाई प्रोत्साहन गर्न र निजी तथा सार्वजनिक रुपमा रहेका खेती योग्य बाँझो जमिनको समुचित सदुपयोग गर्नका लागि भूमि बैक स्थापना गरी कार्यान्वयनमा ल्याउने नीति कार्यक्रममा उल्लेख गरिएको छ । संरक्षित कृषि सुनिश्चित वचत” भन्ने अवधारणा साकार पार्न कोशिस गरिने भएको छ ।
श्रम बैंकको स्थापना
बुटवलले सञ्चालन गरेको मेयर युवा इलम कार्यक्रम मुलुककै नमुना मानिन्छ । यो कार्यक्रमलाई अझ विस्तार गर्दै प्रभावकारी बनाइने भएको छ ।
विभिन्न संघ संस्था तथा विकास साझेदारहरु समेतको सहकार्यमा वेरोजगार युवाहरुलाई लक्षित गरी रोजगारमूलक सीप प्रदान गर्न मेयर युवा इलम र उपप्रमुख महिला उद्यम विकास कार्यक्रम लाई निरन्तरता दिइने नीति कार्यक्रममा उल्लेख छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा संकलित बेरोजगारको विवरण र वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्केका र अन्य बेरोजगारको विवरण सहित श्रम बैंक स्थापना गरिने भएको छ ।