भैरहवा । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आईसीबी वान अन्तरगत पूर्वाधार निर्माणको काम प्रायः सकिएपनि महत्वपुर्ण पाटोको रुपमा रहेको विद्युतीय उपकरण जडान (आईसिबी टु) का कामहरु समेत सबै सम्पन्न गर्न अझै कम्तीमा पनि तीन महिना लाग्ने देखिएको छ ।
भौतिक पूर्वाधारका मुख्य कामहरु निर्माण सम्पन्न भई फिनिसिङको काम भैरहेता पनि ती पूर्वाधारहरुमा जडान हुने विद्युतीय एवम् सूचनाका उपकरण आईपुग्न अझै कम्तीमा ३० दिन देखि ४५ दिन लाग्ने भएकाले र ती सामानहरु ल्याएर जडान गर्न पनि उतीनै समय लाग्ने हुदा अझै कम्तीमा ३ महिना लाग्ने देखिएको हो ।
सबै उपकरणहरु आए अबको तीन महिना भित्र जडान गरेर सकिन्छ र अन्य बाँकी काम गरी क्यालिब्रेशन फ्लाइट समेत गरी परीक्षण उडान सन् २०२०को मार्चभित्र सम्पन्न गर्ने लक्ष्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको कार्यालयको रहेको छ ।
अहिले विमानस्थलका विभिन्न संरचनामा जडान हुने अत्यावश्यक विद्युतीय तथा सूचना एवम् अन्य उपकरणहरु अमेरिका, युरोप, चीन लगायतबाट जहाजमा राखेर नेपालतर्फ पठाउन सुरु भएको छ । ‘ती सामानहरु कोलकाताको हल्दिया बन्दरगाह हुँदै भैरहवा आईपुग्नेछ–विमानस्थल आयोजना कार्यालयका प्रमुख तथा ईन्जिनियर प्रबेश अधिकारीले भने–उपकरणहरु जहाजमा राखेर पठाउन सुरु भैसकेको छ, अब जति छिटो सामान आयो त्यति छिटो जडान हुन्छ । जब सम्म ती उपकरणहरु जडान हुदैन तब सम्म भौतिक तर्फ (भवन, टावर, धावनमार्ग) को काम पनि शतप्रतिशत सम्पन्न भएको मान्न सकिदैन, अब हामी उपकरणको पर्खाईमा छौ, जति छिटो आयो त्यति छिटो उपकरण जडान हुन्छ । उपकरण जडान भैसकेपछि क्यालिब्रेशन फ्लाइट सम्भव हुन्छ ।’
ती सामानहरु भैरहवासम्म आउन कम्तीमा पनि ३० दिन देखि ४५ दिनको समय लाग्नेछ ।
विमानस्थल निर्माण सम्पन्न गर्नु पर्ने अन्तिम मिति ३१ डिसेम्बर २०१९ अर्थात १६ पुस २०७६ हो । सिपिङ भएका उपकरणहरुमा टावरका सामान, ब्यागेज कलेक्सन (कन्भेयर बेल्ट),युपिएस, फ्लाइट ईन्फरमेशन सिस्टम डिस्प्ले बोर्ड, प्यासेन्जर ईन्फरमेशन डिस्प्ले बोर्ड, फायर अर्लाम सिस्टम, स्मोक डिटेक्टर सिस्टम, कम्युनिकेशन नेभिगेशनका उपकरण, लिफट, एक्सरे मेशिन र अन्य उपकरणहरु छन् । केही महत्वपुर्ण सामानहरु हवाई मार्गबाट आउनेछन् ।
ती सामान ल्याएर जडान हुन पनि कम्तीमा डेढ महिना सम्म लाग्छ । अर्थात सोझो हिसाबमा पनि विमानस्थललाई अन्तराष्ट्रिय हवाई उडान योग्य बनाउन कम्तीमा ३ महिना अझै लाग्ने देखिएको छ ।
यद्यपि डिसेम्बर ३१ सम्म (आईसीबी वान अन्तरगतका) भौतिक पूर्वाधारका आगमन तथा प्रस्थान भवन, कन्ट्रोल टावर, प्रशासकीय भवन, धावन मार्ग, एप्रोन, ट्याक्सी वे सबैको निर्माण सम्पन्न हुनेछ ।
ती पूर्वाधारमा विद्युतीय र सूचनाका उपकरणहरु जडान नहुँदा सम्म पुर्ण नहुने र केही स्थानमा ती उपकरण जोडेर फेरि काम गराउनु पर्ने भएकाले सबै काम सम्पन्न हुन कम्तीमा पनि तीन महिना अझै लाग्ने देखिएको हो ।
‘विमानस्थलमा अबको ढिलाई भनेको उपकरणका कारण मात्रै हो । जती छिटो उपकरण आएर जडान हुन्छ, त्यति छिटो उडानका लागि योग्य बन्छ–आयोजना प्रमुख अधिकारीले भने –अहिले काम छिटो भैरहेको छ । विभागिय मन्त्रीज्यू पनि दशैंको बिदामा समेत आएर निर्देशन दिई हौस्याएर जानुभयो । आयोजना कार्यालय, निर्माण कम्पनी मजदुर सबै उत्साहित भएर लागी परेका छन् ।’
पछिल्लो समय क्यास फ्लो गर्न नसकेपछि चिनियाँ निर्माण कम्पनीले आफुले पाउने रकमबाट कट्टा हुने गरी रकम दिन (प्रि पेड) माग गरेको थियो । अहिले अतिरिक्त रकम २८ करोड बढी पाएपछि काममा तीब्रता आएको छ ।
आयोजना कार्यालयको अबको लक्ष्य भनेको तोकिएको समय डिसेम्बर ३१ भित्र पूर्वाधारको सबै काम सक्ने रहेको छ ।
अहिले अन्तर्राष्ट्रिय प्रस्थान भवनको छानो हाल्ने काम सुरु भएको छ । टर्मिनल भवन अगाडि कार पार्किङ (पब्लिक), विमानस्थल प्रवेशद्वार, र अगाडि पर्खाल लगाउने काम सुरु भएका छन् ।
अन्य बाँकी कामहरुमा उपकरण जडान नै मुख्य हो । धावनमार्ग दायाँबायाँ विद्युत जडान गर्न अन्तिम अवस्थामा छ । ती बिद्युतीय उपकरणहरु चीनबाट आउनेछ । धावनमार्गको मार्किङको काम सम्पन्न भएको छ । एप्रोन र टेयाक्सी वेमा मार्किङको काम भैरहेको छ ।
भौतिक पूर्वाधारमा उपकरण जडान गरी परिक्षण गरी त्यहाँ नमिलेमा या काम नगरेमा पुनः नयाँ ल्याएर गर्नु पर्ने हुन्छ । अबको बाँकी काम भनेको उपकरण जडान गरिसकेपछि उपकरणले काम गरे नगरेको परीक्षण गर्ने क्यालिब्रेशन फ्लाइट हो । यो सानो जहाज ल्याएर उपकरणले काम गरेनगरेको परिक्षण गरिन्छ । त्यसपछि मात्रै विमानस्थल उडानका लागि योग्य भएको प्रमाणित हुन्छ । भौतिक निर्माणका बाँकी काम र उपकरणहरु आएपछि जडान र त्यसपछि क्यालिब्रेशन फ्लाइट गरी उपकरणले काम गरेनगरेको हेर्न कम्तीमा ३ महिना भन्दा बढी लाग्छ । पुस माघमा तुवाँलो लाग्यो र हुस्सु कुहिरो बढी लाग्यो भने यो समय अझपछि धकेलिनसक्छ । दातृ निकाय एडिबीको प्रक्षेपणअनुसार पनि सन् २०२०को जुन महिनासम्म उडान हुनेछ ।
आयोजनाको कार्यालयले सन् २०२०को पहिलो त्रैमासिक मार्च महिना भित्रै क्यालिब्रेशन फ्लाइट र परीक्षण उडान गर्ने लक्ष्य लिएको आयोजना प्रमुख अधिकारीले बताए ।
२०७१ सालबाट निर्माण सुरु गरिएको विमानस्थल २०७४ सालमै सम्पन्न हुनुपर्ने थियो । तर निर्माण कम्पनीको ढिलासुस्ती, मुख्य ठेकेदार र स्थानीय आपूर्तिकर्ताबीच आपसी मतभेद, तराई–मधेश आन्दोलन, भारतीय नाकाबन्दी, नदीजन्य सामग्रीको अभावजस्ता कारणले आयोजना निकै पछि धकेलिदै आएको छ । यसअघि २ पटकसम्म म्याद थप गरिएको थियो । पछिल्लो समय तेश्रो पटक निर्माण सम्पन्न हुने समय थप गरी २०१९को डिसेम्बर ३१ सम्म पुर्याईएको हो ।