बुटवल–रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण अवधि फेरि ६ महिना थपिएको छ । कोरोना भाइरसका कारण उत्पन्न संकटले काम सम्पन्न हुन नसकेको भन्दै ६ महिना थप गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।
३० जुन २०२० मा निर्माण सक्ने लक्ष्य राखिएको विमानस्थलको काम आगामी डिसेम्बरसम्ममा संरचना निर्माणको काम सक्ने नयाँ लक्ष्य राखिएको छ । त्यसपछि विमानस्थलको सञ्चालन पूर्वको तयारीमा करीब ३ महिना लाग्नेछ । यसरी आगामी ९ महिनाभित्र विमानस्थल व्यवसायिक सञ्चालनमा आइसक्ने उनले जानकारी दिए ।
पर्यटन मन्त्री भट्टराईका अनुसार यो विमानस्थलमा अहिले उपकरणहरु जडानको काम भइरहेको छ । कतिपय उपकरणसमेत आयात गर्न नपाएपछि काम प्रभावित भएको उनको भनाई छ ।
यस अवधिमा विमानस्थल निर्माणमा ३ प्रतिशत भौतिक प्रगति थप भएको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।
उनकाअनुसार अहिले गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत रहेको छ । नयाँ मिति अनुसारसमेत यो आयोजना राष्ट्रिय गौरवका आयोजनामध्ये पहिलोपटक सम्पन्न हुने आयोजनाका रुपमा लिने गरी निर्माणलाई तिब्रता दिने प्रतिवद्धता पर्यटन मन्त्री भट्टराईले गरे ।
गौतमबुद्ध विमानस्थलको भौतिक संरचनाको काम करीब सम्पन्न भएको छ । मन्त्रालयका अनुसार लकडाउनकै बीचमा धावनमार्ग र पार्किङ जोड्ने लिंक ट्याक्सी वे को निर्माणको काम सम्पन्न भएको छ ।
रनवे लाइट जडानको काम समेत अन्तिम चरणमा रहेको छ । टर्मिनल भवनमा एयर कन्डिसन तथा अन्य उपकरण जडान सम्बन्धी कार्य जारी रहेको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।
यसबीचमा मार्वल, टायल राख्ने तथा रंगरोगनको काम समेत भइरहेको छ । मेसिनरी र यन्त्र उपकरण आउने क्रम शुरु भएको मन्त्रालयको भनाइ छ । यसबीचमा ५ करोड रुपैयाँ मुआब्जाको भुक्तानीमा समेत खर्च भएको छ । विमानस्थल निर्माणमा अहिले पनि २९ चिनियाँसहित २७५ कामदार खटिएका छन् ।