गलकाेट: स्थानीय तहले आन्तरिक आम्दानी मार्फत नै सरकार सञ्चालन गर्नु सङ्घीयताको मर्म भए पनि नेपालका सबै स्थानीय तह आन्तरिक आय बढाउनभन्दा सङ्घ र प्रदेशको बजेटमा निर्भर छन् ।
खासगरी स्थानीय स्रोत र साधनको पहिचान र अधिकतम प्रयोग गरी स्थानीय तहलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा कतिपय स्थानीय तहले करको दायरा फराकिलो नबनाई करको दर मात्रै बढाएको भन्दै विरोधसमेत हुने गरेको छ । बागलुङ नगरपालिकाले करको दायरा फराकिलो बनाउँदै आन्तरिक आम्दानी बढाएको छ ।
आर्थिक वर्ष २०७७/७८ सालमा झन्डै दुई करोडभन्दा बढी कर सङ्कलन गरी रु पाँच करोड ५२ लाख २४ हजार ६ सय १० सङ्कलन भएको बागलुङ नगरपालिकाका राजश्व शाखाप्रमुख काशिराम शर्माले बताए ।
बागलुङ नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ सालमा नगरपालिकाको आन्तरिक आम्दानी रु तीन करोड ३१ लाख ८६ हजार दुई सय २७ सङ्कलन गरेको थियो भने आर्थिक वर्ष २०७६/७७ सालमा आन्तरिक आम्दानीमा केही बढाएर रु तीन करोड ८१ लाख ३९ हजार ६३ सङ्कलन भएको थियो ।
शर्माका अनुसार घर बहाल कर १२ प्रतिशत कायम गरेको नगरपालिकाले ६ प्रतिशतमा झारे पनि घरबहालको अनुगमनपश्चात् गत आर्थिक वर्षमा रु एक करोड ३३ लाख नौ सय ५१ रकम सङ्कलन भएको छ ।
कवाडी करबापत रु १४ लाख ११ हजार नौ सय ८० रकम सङ्कलन भएको छ । नगरपालिकाले नदीजन्य पदार्थ बिक्री वितरणमा समेत कडाइ गर्न थालेको र यसबाट आम्दानीमा उल्लेख्य सुधार भएको राजस्व शाखाप्रमुख शर्माले बताए ।
नगरपालिकाले नदीजन्य पदार्थ बिक्रीबाट रु ६७ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । यसअघि सम्झौता गरेको क्रसर व्यवसायीले नदी दोहन गर्ने तर सम्झौता अनुसारको रकम नतिर्ने गरेकामा अहिले सम्झौता गर्दा साथ राजस्व सङ्कलन गर्ने नीति ल्याएको छ ।
नगरपालिकाले लुकेर रहेका करका स्रोत पहिचान, राजस्व छलीमा कडाइ र प्राकृतिक स्रोत बिक्रीमा कडाइ गर्दा आन्तरिक आम्दानी बढेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।
गत तीन वर्ष पहिलाको आन्तरिक आम्दानीको तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा झन्डै रु दुई करोड २० लाखभन्दा बढी आम्दानी गर्न सफल भएको नगरप्रमुख पौडेलले बताए ।
“हामीले कर बढाएका छैनौँ, केही व्यावसायिक कर घटाएका छौँ, करको दायरा बढाएका छौँ, गुमेका कर उठाउँदै लगेका छौँ भने घरबहाल र ढुङ्गा, गिट्टी, बालुवा बिक्री करलाई व्यवस्थित बनाएका हौँ,” नगरप्रमुख पौडेलले भने, “गत आर्थिक वर्षमा मात्रै रु पाँच करोड ५२ लाख २४ हजार ६ सय १० आम्दानी गर्नु ठूलो उपलब्धि मानेका छौँ ।”
नगरप्रमुख पौडेलका अनुसार वार्षिक रु दुई करोडका दरले आन्तरिक आम्दानी वृद्धि गर्दै जाने लक्ष्य रहेको र सोही अनुसार करको दायरा फराकिलो बनाइएको छ ।
नगरपालिकाले यसअघि सम्पत्ति, व्यवसाय, नाता प्रमाणित लगायतका प्रशासनिक कर मात्रै लिँदै आएकामा पछिल्लो समय विज्ञापन, कवाडी, नदीजन्य पदार्थ बिक्रीलगायतका नयाँ करको क्षेत्रमा वृद्धिपश्चात् आन्तरिक आम्दानीमा वृद्धि भएको हो ।
आन्तरिक आम्दानीलाई अझ बढाउन कर शिक्षा प्रदान गर्ने घर बहाल करको विषयमा अनुगमन गर्ने नगरको अबको योजना छ ।रासस