बुटवल–उपभोक्तालाई प्रत्यक्ष मार पर्ने गरी मासुको मूल्य नियन्त्रणबाहिर गएको समाचार प्रकाशित भएपछि मासु व्यवसायी संघले चासो देखाएको छ । संघले आइतबार सूचना प्रकाशित गरी मासुको झण्डै तीन महिनापछि महिनापछि मूल्य निर्धारण गरेको छ ।
लुम्बिनी टाइम्स डटकमले शनिबार ‘कुखुराको मासुको मूल्यमा अचाक्ली वृद्धि, किसानसँग २७० मा किनेर ४५० मा बेच्दापनि प्रशासन मौन’ शिषकमा समाचार प्रकाशित गरेको थियो । नयाँ निर्धारित मूल्य अनुसार कुखुराको ४२० र खसीको ९०० रुपैयाँ कायम गरिएको छ । यो मूल्य आइतबारदेखि लागू भएको संघको भनाइ छ ।
संघका अध्यक्ष कृष्ण पौडेलले कुनै पनि व्यवसायीले समितिले तोकेको मूल्य भन्दा बढीमा मासु बिक्री गरेको भेटिए कडा कारबाही गरिने बताए । उनले भने, ‘तोकिएको मूल्य भन्दा बढीमा मासु बिक्री वितरण गरेको पाइएमा सरकारी निकाय र व्यवसायी संघको संयुक्त अनुगमन गरी कारबाही गरिन्छ ।’
लकडाउनका कारण बजार नियन्त्रण गर्न नसक्दा कुखुराको मासुको मूल्य २८० मा बिक्री हुदै आएको मासु ४५० मा बिक्री गरेका छन् । जसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले पनि बजार अनुगमन गर्ने बताएको छ ।