बुटवल-लुम्बिनी प्रदेश सरकारले बजेट संसोधनको काम थालेको छ। पूर्ववर्ती सरकारले ल्याएको बजेट संसोधन गरेर केही नयाँ कार्यक्रमसहित बजेट ल्याउने सरकारको तयारी छ।
बजेटका लागि मन्त्रीविहिन रहेका मन्त्रालयमध्ये बढी कार्यक्रम रहेका ३ मन्त्रालयको जिम्मा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई दिइएको छ। मन्त्रिपरिषदको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले थप ३ मन्त्रालयको जिम्मा चौधरीलाई दिएका हुन्।
बजेटको तयारी गर्नका लागि आफुलाई थप ३ वटा उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, वन वातावरण तथा भु संरक्षण मन्त्रालय र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी आएको मन्त्री चौधरीले बताए।
मन्त्री चौधरीले मुख्यमन्त्री कुलप्रसाद केसीले सम्हाल्दै आएका मध्येका ३ मन्त्रालयको बजेट र कार्यक्रम संसोधनको काम गर्ने बताए।
मन्त्रिमण्डल विस्तार गर्न केही ढिलाई हुने भएपछि मन्त्रीहरुले जिम्मेवारी बाँडेर बजेट संसोधनको काम गरिरहेका छन्।
सरकारले पूर्ववर्ती सरकारका केही योजना र कार्यक्रममा हेरफेर गर्ने जनाएको छ। केही कार्यक्रम थप्ने र केहीका नाम परिवर्तन गर्ने केसी सरकारको तयारी छ।
गठबन्धन सरकारले बनाएका १३ मन्त्रालयमध्ये आन्तरिक मामिला तथा सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय मन्त्रिविहिन छन्। अरु २ राज्यमन्त्री थपिनेछन् । एकजना कांग्रेसबाट र एकजना माओवादीबाट राज्यमन्त्री थप्ने तयारी छ।
तर मन्त्रिमण्डल विस्तारमा भने ढिलाई भएको छ। मुख्यमन्त्री केसी मन्त्रालयका काममा भन्दा बढी औपचारिक कार्यक्रम, उद्घाटन, बधाई सम्मान जस्ता कार्यक्रममा बढी व्यस्त भएपछि मन्त्रालयका काम समेत प्रभावित बनेका छन्। अर्कोतर्फ मन्त्रीविहिन रहेका मन्त्रालय कामविहिन छन्।
मन्त्री नआएकाले कुनैपनि काम अघि बढ्न नसकेको एक मन्त्रालयका सचिवले बताए। उनका अनुसार मन्त्री नआउँदा सामान्य निर्णय गर्न पनि मुख्यमन्त्रीलाई नै समय लिएर सोध्नुपर्ने बाध्यता छ।