कपिलवस्तु–धान उत्पादनका लागि उर्वर मानिने कपिलवस्तुमा यतिबेला रोपाइँको चटारो छ। तर, कोरोना भाइरसको महामारीका कारण मजदुर पाइएका छैनन्। टाढाबाट मजदुर आउन नपाएपछि मजदुर अभाव छ। सधैजसो रोपाइँ गर्ने बेलामा मजदुर नपाएर हैरान हुने किसानले लकडाउनकै मौकामा सजिलो उपाय खोजे–प्रविधिको प्रयोग गर्ने।
यसअघि रोपाइँका लागि हलोले जोत्दा र रोपाइँ गर्दा श्रमिक नपाउने समस्या थियो। रोपाइँका लागि खेत जोत्ने कार्यमा रोटाभेटर, जिरोटिलको प्रयोग गर्न थालिएको छ भने धान रोप्न राइस प्लान्टरको प्रयोग गर्न शुरु गरिएको छ।
रोटाभेटरले खेत जोत्दा एकै पटकमा जोत्ने र सम्याउने कार्य पुरा गरी खेतलाई रोपाईका लागि तयार पार्छ। त्यसैगरी एउटा राइस प्लान्टरले प्रतिघण्टा १० कठ्ठा जग्गाको क्षेत्रफलमा रोपाइँ गर्छ।
शुरुमा प्रविधिको प्रयोग जटिल देखिएपनि श्रम र श्रोत जोगाउन प्रभावकारी देखिने गरेको छ। कृषि क्षेत्रमा यान्त्रिकरण र प्रविधिको प्रयोगले कृषि कार्यलाई सहज बनाएको कृषकहरु बताउँछन्।
कोरोना संक्रमणका बेला व्यक्तिव्यक्ति बीचको भौतिक दुरी कायम गराउन समेत प्रविधिको प्रयोगले सहयोग पुगेको कपिलवस्तु तौलिहवाका किसान रामेश्वर चौधरीले बताए । उनले मान्छेले रोपेको जस्तो मेशिनले रोपेको हुन्न कि भन्ने लागेकोले शुरुमा मजदुर खोजेको र मजदुर नपाएपछि मेशिन लगाएर रोप्न थालेको बताए। कृषि क्षेत्रमा प्रविधिको प्रयोगलाई बढावा दिन सरकारले कृषि यन्त्र खरिदमा विशेष अनुदान दिन आवश्यक रहेको कपिलवस्तुका कृषक बताउँछन् ।
कपिलवस्तु जिल्लामा कुल ८२ हजार हेक्टर खेतीयोग्य जग्गाको क्षेत्रफल रहेकोमा ७० हजार हेक्टरमा धान खेती हुँदै आएकोे छ। जिल्लामा प्रतिहेक्टर ३ दशमलव ४५ मेट्रिक टन धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ।