दाङ–यातायात व्यवसायीहरुले गाडी सञ्चालन गर्नु पूर्व कम्तिमा २ लाख रुपैयाँ सहुलियत दरमा ऋण दिन सरकार सँग माग गरेका छन् ।
कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीमा सार्वजनिक सवारीका साधनहरु ठप्प रहेको र मर्मत गरेर मात्रै चलाउन सकिने भएकाले गाडी धनीलाई २ लाख रुपैयाँ सहुलियत दरमा ऋण दिन व्यवसायीहरुले सरकार सँग माग गरेका हुन् ।
यातायात व्यवसायीका दाङ जिल्ला समन्वय अध्यक्ष भरतनाथ योगी र अम्बिकेश्वरी सार्वजनिक यातायात प्रालीका अध्यक्ष ज्ञानबहादुर बस्नेतले एक प्रेस विज्ञप्ती जारी गरी गाडी मर्मतका लागि २ लाख रुपैयाँ ऋण, यातायातका साधनमा काम गर्ने मजदुरलाई उचित रकम, स्वास्थ्य सामग्री र श्रमिक विमा समेत सरकारले गरिदिनुपर्ने माग राखेका छन् ।
महिनौ देखी ग्यारेज र घरमा गाडीहरु राख्दा मर्मत नगरी चलाउन सकिने अबस्था नरहेको बिज्ञप्तीमा उल्लेख छ । साथै यातायात व्यवसायीहरुले हाल रहेको भाडामा यात्रुहरु बोक्न नसक्ने समेत स्पष्ट पारेका छन् । गाडीका टायर लगाएत अन्य पाटपूर्जाको मूल्य बढेको भन्दै हालको भाडादरलाई समायोजन गर्न समेत व्यवसायीहरुले सरकार सँग माग गरेका छन् ।
सरकारले यही असार मसान्त सम्म यी मागहरुको सम्बोधन नगरे साउन १ गते जिल्ला प्रशासन कार्यालय दाङमा गाडीको चापी र ब्लुबुकहरु बुझाउन बाध्य हुने व्यवसायीहरुले चेतावनी दिएका छन् । साथै लकडाउन अबधीभरको बैंकमा बुझाउनु पर्ने ब्याज मिहान गर्न र किस्ता बुझाउने समय थप गर्न समेत माग गरेका छन् ।