बुटवल-के तपाईं हालै विदेशबाट आउनुभएको हो ? यतिबेला, कोरोना भाईरस संक्रमणको जोखिम छ ।
तपाईलाई सरकारी क्वारेन्टिनमा बस्न मन छैन, घरमै बस्न पनि जोखिम ठान्नुहुन्छ भने अब बुटवलमै शुल्क तिरेर होटलमा बस्न पाईन्छ। बुटवलका ७ वटा होटल क्वारेन्टिनका रुपमा सञ्चालनमा आएका छन् ।
बुटवल उपमहानगरपालिकाले कालिकापथको नमबुद्ध होटल, नयाँ बसपार्कको विशाल होटल र हिल्सन होटल, ट्राफिकचोकको नन्दन होटल र डिलाइट होटल, गोलपार्कको न्यु सनराइज होटल, लक्ष्मीनगरको बीटीआइ गेष्टहाउसले पाहुनासँग शुल्क लिएर क्वारेन्टिनको रुपमा होटल सञ्चालन गरेका छन् ।
क्वारेन्टाइन राखिएका होटलमा विदेशबाट घर फर्केका नेपालीहरुले बस्न पाउने छन् । यही असार ३ गते बुटवल उपमहानगरले सुचना जारी गरी क्वारेन्टिनका रुपमा पाहुना राख्नको लागि प्रस्ताव पेश गर्न होटल व्यवसायीहरुलाई आह्वान गरेको थियो ।
सूचना अनुसार ७ वटा होटल व्यवसायीले इच्छा व्यक्त गरेको र सात वटैलाई होटललाई क्वारेन्टिन राख्न अनुमति दिएको बुटवल उपमहानगरका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहले जानकारी दिए । होटल व्यवसायीले ननएसी कोठामा १२ सयदेखि १७ सय सम्म र एसी कोठामा १३ सय ५० देखि २२ सय रुपैया सम्म प्रति दिन शुल्क तिर्नुपर्ने हुन्छ ।
ननएसीमा १७ सय तिर्नेले खान र बस्ने दुबै पाउने छन् । एसीकोठामा २३ सय रुपैयामा खाने बस्ने सुविधा छ । क्वारेन्टिनको रुपमा होटल सञ्चालन गरेपछि सकभर खुल्ला रुपमा पाहुना राख्न पाइने छैन ।
‘तर आउने जाने बाटो फरक छ र जोखिमपूर्ण व्यवहार हुँदैन भने राख्न सक्नुहुन्छ ।’ उपमहानगरका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहले भने ‘क्वारेन्टिन राखेका होटल व्यवसायीहरुले नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्दछ ।’
क्वारेन्टिनको रुपमा रहेको नमोबुद्ध होटलमा अहिले ८ जना पहुना छन् । उनीहरुलाई नगरपालिकाले तोकेको भन्दा सहुलियत दरमा राखेको नमोबुद्धका सञ्चालक बाबुराम अर्यालले बताए ।
‘१५ सय रुपैयामा कोठासहित २ छाक खाना हलुका नास्ता उपलब्ध गराएको छु ।’ उनले भने ‘नगरपालिकाले तोकेको भन्दा सस्तो दरमा दिएका हौं । सामाजिक दायित्वको हिसाबले केही पैसा हामीलाई पनि होस् बस्नेलाई पनि मर्का नपरोस भनेर सहुलियत गरेको हो ।’
आफ्ना २ होटल मध्ये नमोबुद्धमा क्वारेन्टिन राखेपनि अर्को नमोबुद्ध इन्टरनेश्नलमा भने नराखेको अर्यालले बताए । सनराइजमा ३ जना र विशाल होटलमा एक जना पाहुना क्वारेन्टिनको रुपमा बसेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण र लकडाउनको कारण यतिबेला होटल व्यवसाय ठप्प छ । क्वारेन्टिनमा पाहुना राख्दा नगन्य मात्र फाइदा हुने होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसीले बताए । ‘मापदण्ड अनुसार दिँदा फाइदा धेरै हुँदैन । त्यसरी बस्ने पाहुना पनि निकै कम छन् ।’ उनले भने ‘होटल व्यवसाय त निकै धरासायी भएको छ । पहिलेको तुलनामा ५ सयमा २ जना पनि पाहुना छैनन् ।’