बुटवल- लामो लकडाउनले उद्यौगिक क्षेत्र धराशायी बनेको भन्दै उद्योगीहरू बैंकको ब्याजमा छुट दिन माग गरेका छन् ।
साढे तीन महिनादेखिको लकडाउनले केही उद्योग अझै बन्द अवस्थामा रहेका छन् । सञ्चालनमा आएका उद्योगहरू पनि मजदुर अभावले पूर्ण क्षमतामा चल्न नसक्दा हुँदै बैंकको ब्याजमा छुट र किस्तामा पुर्नताजगी गर्न आग्रह गरेका हुन् ।
रूपन्देही उद्योग संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी उद्योगीहरूले कर, बैंक व्याज किस्ता तथा कर्जा रकम एकैपटक तिर्न सक्ने अवस्था नभएकोले यसको अवधि लम्बाउन आग्रह गरेको हो । संघका अध्यक्ष बाबुराम बोहोराले तहसनहस भएको औद्योागिक क्षेत्रलाई बचाउन बैंकमा उद्योगीले बुझाउनुपर्ने ब्याज, कर्जाको किस्ता र तिर्ने समयअवधि बढाइदिन आग्रह गरे ।
बोहोराले थला परको उद्योग उद्योगीहरुले बैंक तथा वितीय संस्थाबाट लिएको कर्जाको लकडाउन अवधिभरको व्याजदरमा ५० प्रतिशत छुटको व्यवस्था गरिनुपर्ने बताए । उनले भने, ‘उद्योगीहरुले पटक–पटक राहत प्याकेज लागि सरकारसँग आग्रह गर्दै आइरहदा पनि कुनै माग संवोधन भएनन । राज्यले घोषणा गरेका छुटका स्किमहरु पनि कार्यान्वन भएनन । यस्तो अवस्थामा व्यवासीहरु धरासाही बन्दै छन ।’
सरकारले बजेटमा घोषणा विद्युतको डिमाण्ड शुल्क छुट दिने बताए पनि विद्युत महशुल तिर्न जाँदा उद्योगीहरूले उक्त रकम छुट नभएको बताएका छन् । रुपन्देहीमा १ हजार २ सय उद्योगीहरु छन । काठमाडौंपछि सबैभन्दा बढी उद्योगधन्दा भएको जिल्ला रुपन्देही पर्छ ।
संघका महासचिव जीवकान्त काफ्लेले कर्जा प्रदान गर्दा लिने सेवाशुल्क र नविकरण शुल्क बढीमा रु.१० हजारभन्दा बढी लिन नपाउने गरी बैंक तथा वित्तीय संस्थालाई स्पष्ट निर्देशन गरिनुपर्ने बताए ।
कोभिड— १९ को प्रत्यक्ष असर तथा चेन इफेक्ट उत्पादनमुलक सबै उद्योगमा परेकोले उक्त असरबारे अध्ययन गरी उद्योगहरुको वर्गीकरण गरेर वर्गीकरणअनुसार ३ वर्षदेखि ५ वर्षसम्मको लागि ३ प्रतिशत व्याजदरमा पुनर्कर्जाको व्यवस्था हुनुपर्ने काफ्लेको भनाइ छ ।
साना तथा मझौला उद्यम र व्यवसायका लागि सरकारद्वारा व्यवस्था गरिएको ५० अर्बको पुनर्कर्जा कोषलाई सरलिकृत प्रक्रियाद्वारा उत्पादनमूलक क्षेत्रका उद्योगले प्राप्त गर्ने प्राथमिकता दिने दिनुपर्ने बताए ।