बुटवल– बुटवलको हाटबजार आंशिक रुपमा सञ्चालनमा आएको छ। लकडाउन खुकुलो भएसँगै २ हप्ता अघिबाट उपमहानगर कार्यालय अगाडिको हाटबजारमा व्यापार सुरु भएको थियो।
लकडाउन अघि हप्ताको दुइ दिन बुधबार र शनिबार सञ्चालन हुने हाटबजारमा अहिले सातै दिन बजार लाग्ने गरेको छ। बजारको एकतिहाइ भन्दा कम ठाउँमा मात्र पसलहरु देखिन्छन्। उत्तर तर्फका केही सेडमा पसल राखिएपनि दक्षिण तर्फका भागहरु खाली रहने गरेका छन्।
हाटबजारमा अहिले कपडा र फेन्सीका सामानहरु मात्र बिक्रीका लागि राखिएका छन्। तरकारीहरु राखिएको छैन। केही तरकारी पसलहरु भने हाटबजार बाहिर सडक पेटीमा राख्ने गरिएको छ।
हाटबजार भित्र पसल राख्न ७ सय ४४ सेड राखिएका छन्। त्यसबाहेक बजारका दिनमा बाहिर पनि लस्करै पसलहरु राखिएका हुन्छन्। बाहिर सडकपेटीमा केही चहलपहल भएपनि भित्र धेरै भाग खाली देखिन्छ भने चहलपहल नगन्य छ । ‘बाह्र दिनजति भयो मैले सामान राख्न थालेको ग्राहकहरु नै आएका छैनन्’–लकडाउनपछि हाटबजारमा पुन व्यापार थालेका लिलाधर पन्थीले भने–‘बिहान ९ बजेदेखि ५ बजेसम्म पसल राख्ने गरेका छौं, दिनभर यस्तै सुनसान छ।’
बुटवल उपमहानगरपालिकासँग भएको अनौपचारिक सहमतिअनुसार बजार सुरु गरेको हाटबजार व्यवसायी संघ रुपन्देहीले जनाएको छ। बजार खोल्नेबारे उपमहानगरसँग अनौपचारिक सहमतिमा पसल राख्न थालेको हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेकबहादुर जिसीले बताए।
‘असार १८ गते बुटवल उपमहानगरमा छलफल भएर अहिलेलाई अनौपचारिक रुपमा बजार खोल्दै जाउँ साउन लागेपछि पूर्ण खोलौंला भन्ने कुरा भएको छ’–उनले भने–‘तर कसरी खोल्ने भन्ने थप छलफल हुन बाँकी छ।’
बुटवल उपमहानगरपालिकाले हाटबजार खोल्नेबारे व्यवसायीहरुसँग छलफल भइरहेको र बजार राख्न अनुमति नदिइसकेको बताएको छ। उपमहानगरका वरिष्ठ अधिकृत विष्णु खनालले व्यापारीहरुले स्वेच्छिक रुपमा पसल राखेको र भिड बढेमा नियन्त्रण गर्ने बताए।
‘मान्छेको दैनिक गुजारासँग सम्बन्धित विषय पनि भयो, एकदम कडाइ गरेर जान सक्ने अवस्था पनि समय सान्दर्भिक भएन–उनले भने–‘अर्को कुरा स्वास्थ्य सुरक्षालाई ख्याल नगरी बजार सञ्चालन गर्ने पनि गाह्रो विषय छ।’ हाटबजार व्यवसवायीहरुसँग चरणबद्ध छलफलमै रहेको खनालले बताए।
संघका अध्यक्ष जिसीले साना व्यवसायीलाई हातमुख जोर्न समस्या भएर दुरी कायम गरेर छिटपुट रुपमा मात्र अहिले पसल राखेको बताए।
‘रोगले भन्दा बढी भोकले मर्ने अवस्था भएकाले अलिअलि भएपनि सुरु गरौ भनेर खोलेको हो–उनले भने–‘यहाँका स्थानिय र कोठा भाडामा बसेकाहरुले मात्र बजार राखेका छौं, लकडाउनमा कतिपय पहाडतिर जानुभएको छ, केही भारततिरका व्यापारी हुनुहुन्छ, उहाँहरु आइपुग्नु भएको छैन।’
यस्तै बुटवलको दीपनगर र देवीनगरका हाटबजार पनि फाटफुट सञ्चालनमा आएका छन्।