भैरहवा–विकास निर्माणको काम गर्न प्रत्येक वर्ष नयाँ नयाँ नीति लिएपनि विकास बजेट खर्च हुने क्रम उस्तै छ।
समयमै टेण्डर आह्वान गरी निर्माणको कामका लागि सरोकारवाला निकायले ताकेता गरेपनि रुपन्देहीमा यस वर्ष पनि पूँजीगत खर्च ६३ प्रतिशत मात्र भएको छ।
आर्थिक वर्ष २०७६/७७मा रुपन्देही जिल्लाले ३८ अर्ब ३० करोड ६२ लाख ५७ हजार ७ सय ७२ रुपैयाँ अख्तियारी पाएपनि वर्षभरि ३३ अर्ब ३९ करोड ११ लाख ९ हजार ६ सय ११ रुपैयाँ अर्थात ८७ दशमलव १६ प्रतिशत बजेट मात्र खर्च गरेको छ। विनियोजित रकम मध्ये ४ अर्ब ९१ करोड ५१ लाख ४८ हजार १ सय ६१ रुपैयाँ फ्रिज भएको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीका प्रमुख कोष नियन्त्रक चन्द्र प्रसाद भुसालका अनुसार चालुतर्फको अधिकांश बजेट खर्च भएपनि पूँजीगत तर्फको खर्च निराशाजनक छ।
अहिलेको विश्वव्यापी कोरोना भाइरसको महामारी, टेण्डर निष्काशनमा भएको ढिलाई र आर्थिक वर्षको अन्त्यतिर खर्च गर्ने परिपाटी भएकोले सोंचेअनुरुपको विकास निर्माणको काम हुन नसकेपछि उक्त बजेट फ्रिज भएको हो।
चालूतर्फको ३२ अर्ब ४९ करोड ३७ लाख ५ सय ७४ मध्ये २९ अर्ब ७० करोड १० लाख ६५ हजार १ सय ७८ रुपैयाँ अर्थात ९१ दशमलव ४१ प्रतिशत खर्च भएको छ। त्यस्तै विकास बजेट पुँजीगततर्फ ६३ दशमलव ४८ प्रतिशत अर्थात् ३ अर्ब ६९ करोड ४४हजार ६६ ४ सय ३३ रुपैयाँ खर्च भएको छ।
पूँजीगततर्फ ५ अर्ब ८१ करोड २५ लाख ५७ हजार १ सय ९८ रुपैयाँ अख्तियारी आएको प्रमुख कोष नियन्त्रक भुसालले जानकारी दिए।
पूँजीगततर्फ सडक डिभिजन बुटवलले अख्तियारी पाएको २ अर्ब ८ करोड ६० लाख मध्ये ५८ प्रतिशत, संघीय आयोजना कार्यान्यनयन इकाई सिद्धार्थनगरले १ अर्ब ३ करोड २१ लाखको ८४ प्रतिशत, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ४६ करोड ४५ लाखको ५९ प्रतिशत र व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकले ६९ करोडको ३० प्रतिशत बजेट मात्र खर्च गरेको कोष नियन्त्रक तथा सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए।
पूँजीगततर्फकै राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति कार्यक्रमका लागि २८ करोड ७५ लाख अख्तियारी आएकोमा ८७ प्रतिशत र भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाका लागि १६ करोडमध्ये ४५ प्रतिशत मात्र खर्च गरेको पौडेलले बताए।
पूँजीगततर्फको बजेट विगतका वर्षहरुमा पनि खर्च नभएर फ्रिज भइरहेको अवस्था थियो। विश्वव्यापी कोरोना भाइरसको महामारीले देश नै लकडाउन भएकोले यसको प्रत्यक्ष असर विकासमा पनि परेको कार्यालयले जनाएको छ।
राजश्व संकलन ९१ अर्ब बढी
राजश्व संकलनमा देशकै प्रमुख जिल्लाको सूचीमा पर्ने रुपन्देहीले बितेको आर्थिक वर्षमा ९१ अर्ब ८३ करोड १ लाख ९३ हजार २ सय २२ रुपैयाँ राजस्व संकलन गरेको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीले दिइएको जानकारी अनुसार वर्षेनी बढिरहेको राजश्व आम्दानी यस आर्थिक वर्षमा घटेको छ। गत आर्थिक वर्ष ०७५/०७६ मा ९९ अर्व ३५ करोड ७५ लाख २ हजार ९२ रुपैयाँ राजस्व संकलन गरेको भएपनि अहिले कोरोना भाइरसका कारण राजश्व संकलनमा कमी आएको हो।
जिल्लाको सबैभन्दा बढी राजश्व संकलन गर्ने कार्यालय भैरहवा भन्सार कार्यालय हो। भन्सार कार्यालयले ७० अर्ब ५५ करोड ३२ लाख १९ हजार, आन्तरिक राजश्व कार्यालय बुटवलले ८ अर्ब ४१ करोड ६३ लाख, आन्तरिक राजश्व कार्यालय भैरहवाले ८ अर्ब ३७ करोड ७० लाख, कोष तथा लेखा नियन्त्रण कार्यालयले ३ अर्ब ७५ करोड २ लाख राजश्व संकलन गरेको छ।
३ वर्षपछि खर्च दर घट्यो
रुपन्देही जिल्लाको बजेट खर्च विगत तीन वर्ष देखि बढदै गएको भएपनि आर्थिक वर्ष २०७६/७७मा घटेको छ।
पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने वजेट खर्च हरेक वर्ष बढ्दै गएको थियो। आर्थिक वर्ष ०७५/०७६ मा पूँजीगततर्फ ३७ अर्ब २१ करोड बजेट विनियोजन भएकोमा ९२ दशमलव ३७ प्रतिशत मात्रै खर्च भएको थियो।
त्यस्तै आर्थिक वर्ष ०७४/०७५ मा २१ अर्ब ८२ करोड बजेट बजेटको ९० दशमलव ४३ प्रतिशत र आर्थिक वर्ष ०७३/०७४ मा कुल बजेट २० अर्ब ८४ करोड बजेटको ७४ दशमलव ४३ प्रतिशत खर्च भएको थियो।
पछिल्लो ३ वर्ष बजेट खर्च बढ्दै गएको थियो। तर आर्थिक वर्ष २०७६/७७ मा गत वर्ष भन्दा ५ प्रतिशतले खर्च दर घटेको छ।