बुटवल–बुटवल उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७७/०७८ का लागि वार्षिक कार्यसञ्चालन तालिका बनाएको छ।
यस आर्थिक वर्षको लागि स्वीकृत पूर्वाधार निर्माण तर्फका योजनाहरु कार्यान्वयन गर्न उपमहानगरको पछिल्लो कार्यपालिका बैठकले वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत गरेको हो।
वार्षिक कार्यसञ्चालन तालिका अनुसार वैशाख मसान्तमै चालू आर्थिक वर्षका योजनाहरु सम्पन्न गर्ने उल्लेख छ।
वैशाखमा योजना सम्पन्न गरेर जेठ मसान्तसम्म योजनाको अनुगमन, सुपरिवेक्षण र फरफारक गर्ने कार्य सक्ने निर्णय भएको छ।
असार महिनामा आगामी वर्षको बजेट तथा योजना तर्जुमाको काम मात्र गर्ने उपमहानगरले जनाएको छ।
वार्षिक कार्यसञ्चालन तालिकामा उल्लेख भएअनुसार भदौ, असोज र कात्र्तिकमा चालू वर्षका योजना स्टिमेट सक्ने र उपभोक्ता समिति गठन गर्ने, मंसिर र पुस महिनामा उपभोक्ता समितिलाई तालिम दिने र माघ मसान्तसम्म उपभोक्ता समितिसँगको सम्झौता सक्ने उल्लेख छ।
ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरुको लागि कात्र्तिक मसान्तसम्म सूचना प्रकाशित गरिसक्ने, कात्र्तिकदेखि माघ मसान्तसम्म योजनाहरुको सम्झौता गर्ने अवधि तोकिएको छ। भाद्रदेखि मंसिर मसान्तसम्म क्रमागत योजनाहरु सम्पन्न गराउने उपमहानगरको तालिकामा लेखिएको छ।
जनप्रतिनिधि आएपछि पनि स्थानीय तहहरुमा असारे विकासको क्रम उस्तै छ। असारमा हतारमा हुने विकासका कामको प्रवृत्तिलाई रोक्न भन्दै कार्यतालिका ल्याएको उपमहानगरले जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा पनि वैशाख मसान्तमै योजना सम्पन्न गर्ने गरी बुटवल उपमहानगरले कार्यतालिका बनाएको थियो।
तर पनि योजना सम्झौताको कामपछि सम्म चलिरहेको थियो। कोरोना महामारीका कारण चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनको कारण विकास निर्माणका काम पनि प्रभावित भएका थिए। असार १ गते लकडाउन खुकुलो भएसँगै ठाउँ–ठाउँमा असारे विकास भएको देखिएको थियो।