काठमाडौं-एक अर्ब २१ करोड रूपैयाँभन्दा बढीको प्राथमिक सार्वजनिक सेयर (आइपिओ) निष्कासनको अन्तिम तयारी भएको छ। नेपाल धितोपत्र बोर्डले लघुवित्त र हाइड्रोपावर कम्पनीलाई आइपिओ निष्कासनको अनुमति दिएको हो।
निष्कासनको अन्तिम तयारीमा रहेका कम्पनीमध्ये सबैभन्दा बढी सेयर हाइड्रो कम्पनीको रहेको छ। हाइड्रो समूह अन्तर्गतका कम्पनीहरू ९९ करोड पाँच लाख ९४ हजार रूपैयाँ बराबरको आइपिओको तयारीमा छन्।
लघुवित्त समूह अन्तर्गतका संस्थाले भने २२ करोड ७५ हजार रूपैयाँ बराबरको साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने भएका हुन्।
धितोपत्र बोर्डमा लामो समयदेखि अध्यक्ष नियुक्त हुन नसक्दा बेला आइपिओ निष्कासन हुने/नहुने अन्योल थियो। तर पछिल्लो समयमा बोर्डको नेतृत्व सम्हालेका व्यक्तिहरूले अध्यक्षको नियुक्त हुन नसके पनि आइपिओ निष्कासनको प्रक्रियालाई नरोक्ने निर्णय गरेका हुन्।
आइपिओ निष्कासनका लागि कतिपय संस्थाले ८–९ महिनाअघि नै बोर्डमा आवेदन दिएका थिए। करिब ७ महिनापछि आइपिओ निष्कासनको अनुमति पाएको नेष्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रूपैयाँ बराबरको ८ लाख २८ हजार ७सय ५० कित्ता सेयर जारी गर्दैछ। नेष्डोको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल तोकिएको छ।
त्यस्तै, जालपा सामुदायिक लघुवित्तले प्रतिकित्ता सय रूपैयाँको दरले ५ करोड २२ लाख रूपैयाँ बराबरको सेयर निष्कासन गर्दैछ। जसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा प्रभु क्यापिटलले पाएको छ। राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता आइपिओ ८ करोड ५० लाख रूपैयाँ बराबरमा जारी गर्ने भएको छ।
हाइड्रोपावरतर्फ बलेफी र र ग्रिन भेन्चर कम्पनीले ९९ करोड ५ लाख ९४ हजार रूपैयाँ बराबरको आइपिओ बजारमा ल्याउने तयारी गरेका छन्। बलेफी हाइड्रोले ३६ करोड ५५ लाख ९४ हजार र ग्रिन भेन्चरले ६२ करोड ५० लाख रूपैयाँ बराबरको आइपिओ जारी गर्न बोर्डबाट अनुमति पाएका हुन्।