रुपन्देही । राज्यले प्रदान गरेका अवसर र सहुलियत लिन धेरै झन्झट व्यहोर्नु परेको गुनासो उद्योगी महिलाले गरेका छन् ।
रुपन्देही उद्योग संघले नेपाल राष्ट्र बैकबाट महिलाको आर्थिक उत्थान एवं उद्यमशिलताका लागि गरिएका प्रयासहरु विषयमा आज बुटवलमा आयोजना गरेको अन्तरक्रियामा सहभागीले मुलुकको समृद्धिका लागि महिला उद्यमशिलताको विकास गर्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रमको शुभारम्भ गर्दै रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले औद्योगिक विकासका लागि उद्यमशिलताको विकास जरुरी रहेको उल्लेख गर्नुभयो । त्यसका लागि संघले सधै जागरण र शसक्तिकरणको भूमिका निभाउँदै आएको उहाँको भनाइ छ ।
अध्यक्ष पौडेलले उद्यम क्षेत्रमा लागेका र लाग्न चाहाने महिलाहरुलाई राज्यले संरक्षणको नीति लिएर आर्थिक उत्थानका गतिविधिलाई प्राथमिकतामा राख्न सुझाव दिनु भयो । उहाँले आज उद्यम क्षेत्रमा महिलाहरुको सहभागितालाई बन्चित गर्ने र पक्षपातपूर्ण व्यवहार गर्ने अवस्थाको अन्त्य गर्दै राष्ट्र बैकले लक्षित गरेको कार्यक्रमलाई सही रुपमा कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।
संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोराले बैकबाट दिइने सुविधा र सहुलियत लिन महिलालाई निकै गाह्रो भएको कुरालाई सहज बनाउनतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, भैरहवा शाखा निर्देशक रञ्जना पौडेल पण्डितले बैंकले संस्थागत रुपमा विपन्न वर्गमा कर्जा प्रवाह गर्ने र सामाजिक रुपले पिछडिएका समुदायलाई सहुलियत प्रदान गर्ने लक्ष्य सहित कार्यक्रमको सुरुवात गरेको बताउनुभयो ।
लक्षित बर्गलाई कुल कर्जामा ५ प्रतिशत सहुलियत कर्जा अनिवार्य रहेको र त्यो ग्रामिण विकास बैंक, लद्यु वित्तहरुबाट पनि दिने प्रावधान रहेको हुँदा ती ठाउँमा पुग्न आग्रह गर्नुभयो ।
बैंकले महिलाहरुको आम्दानीमा बृद्धि गरी समाजमा हैसियत बढाउँदै जिवनस्तर उकास्ने लक्ष्य सहित अगाडि सारिएका कार्यक्रमहरुमा महिलाहरुको पहँुच पुग्न नसकेकोप्रति आफु गम्भिर बनेको जनाउँदै उहाँले सहुलियत लिनका लागि उद्यमी महिलाहरु सक्रिय र सचेत भएर लाग्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा संघका पूर्व महिला सचिव माया खनाल, पूर्व कार्यसमिति सदस्य रेनुका खरेल, महिला उद्यमी समितिकी सहसंयोजक शारदा शर्मा, महिला उद्यमीहरु सावित्रा रेग्मी, मञ्जु भुसाल, जमुना सुवेदी लगायतले महिलाहरुले पाउनुपर्ने सहुलियत र सहयोग पाउन नसकेको गुनासो गर्नुभयो ।