बुटवल । बुटवलमा दशैं सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा सोमबारदेखि संघको सचिवालय परिषर वालमन्दिरमा दशैं सस्तो बजार सञ्चालन गरिएको हो ।
पाँच दिनसम्म सञ्चालन गरिने दशैं सस्तो बजारको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले दशैं सस्तो बजारका माध्यमबाट खस्किँदै गएको बुटवलको व्यापार प्रवद्र्धन गर्नुको साथै बजारलाई गुल्जार बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले बुटवलको बजार विस्तारै स्थानान्तरण हुँदै गएको बताउँदै बुटवलको गौरव र आकर्षलाई बढाउनको लागि स्थानीय तथा संघसंस्थाहरुले पनि सोंच्ने बेला आएको भनाइ राख्नुभयो । उहाँले बुटवलमा मानिसहरुको आकर्षण बढाउनको लागि वडा नं. १ पुरानो बुटवल (बटौली) बाट कामको सुरुवात गर्नुपर्ने बताउँदै नगरपालिकाले सोही अनुसार कामको थालनी गरेको जानकारी गराउनु भयो ।
कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपभोक्ताको हितको लागि दशैं सस्तो बजार सञ्चालन गरिएको बताउँदै बाहिर बजारमा भन्दा सुलभ मुल्यमा बस्तुको विक्रिवितरण गरिने जानकारी गराउनु भयो ।
संघले विगतदेखि सञ्चालन गर्दै आएको दशैं सस्तो बजार एउटा निरन्तरता मात्रै नभएर सर्वसाधारणलाई लक्षित गरेर राष्ट्र बैंक संघको सहकार्यमा नयाँ नोट सटहीको व्यवस्था मिलाईएको, नुन, तेल, चिनी, मसला लगायतका दैनिक उपभोग्य सामान राखिएको जानकारी गराउनु भयो । यसबाट लाभ लिन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उपभोक्ताको हित प्रशासनको प्राथमिक चासोको विषय रहेको बताउँदै उपभोक्ताको समेत हितमा हुनेगरी व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले विशेष गरेर चाडपर्वको समयमा मासु तथा मिठाईको गुणस्तर तथा उपभोक्ता मुल्यलाई समेत ध्यान दिनुपर्ने भनाइ राख्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंककी निर्देशक रञ्जना पण्डित पौडेलले रसिया युक्रेन युद्धले नेपालमा मात्रै नभएर विश्वमै मुल्यबृद्धि भएको भनाइ राख्नुभयो । उहाँले यसका कारण नेपाली अर्थतन्त्र ठूलो दवावमा रहेको बताउँदै दुई तिन वर्ष यता आयातमा भएको अत्याधिक बृद्धिले अधिक व्यापार घाटा, विदेशी सञ्चिती कमजोर हुन पुगेपनि विदेशी सञ्चिती भने सुधारोन्मुख रहेको जानकारी गराउनुभयो ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी लगायतले शुभकामना व्यक्त गर्दै संघले सरकारले गर्नुपर्ने काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
यहि असोजको १४ गते पञ्चमी सम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा विभभिन्न सामग्रीहरु सुपथ मुल्यमा पाइने महासचिव बिमलराज भट्टराईले जानकारी दिनुभयो ।
दशैँ बजारमा नेपाल दुग्ध विकास संस्थान (डिडिसी), साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सहित विभिन्न कम्पनीका घ्यू, पनिर, रसवरी लगायतका दुग्धजन्य उत्पादन, नुन, चामल, तेल, चामलको तेल चिया, कपि, अचार, साबुन, कपडा, जुत्ता चप्पल लगायतका दैनिक उपभोग्य सामान सहित, अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूल लगायतका सामगिहरुको विक्रि वितरण गरिने संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताउनुभयो ।
त्यस्तै दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकको सहयोगमा नयाँ नोट सटहीको व्यवस्था मिलाईएको छ, लायन्स क्लव अफ बुटवल युथले निःशुल्क सुगर परीक्षण गरेको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य कुलप्रसाद श्रेष्ठ (कृष्ण)ले जानकारी गराउनु भयो ।