बुटवल । रु १५ करोड आर्थिक कारोबार गर्दै तिलोत्तमाको मणिग्राममा आयोजना गरिएको दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ आज सकिएको छ ।
महोत्सव मूल आयोजक समिति संयोजक एवं आयोजक तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले पाँच लाख पाँच हजार दर्शक उपभोक्ताले महोत्सवको अवलोकन गरेको बताउनुभयो ।
महोत्सव समापन कार्यक्रममा बोल्दै नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले अझैपनि सरकारले लगानीमैत्री वतावरण बनाउन नसकेको गुनासो गर्नुभयो ।
उद्योगमैत्री नीति बनाएर राज्यले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो । बैंकहरुले मनोमानी रुपमा ब्याज वृद्धि गर्दा उद्योगीहरु धरासायी हुने अवस्था सृजना भएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुली, चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय सदस्य मनिषकुमार जोशी, उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली लगायतले उद्योगी ब्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
गत मंसिर १५ गतेदेखि शुरु भएको महोत्सवको अन्तिम दिन दुर्गेश थापा, हरिमाया रायमाझी, लक्ष्मी बस्नेत लगायतका कालाकारको प्रस्तुतिमा दर्शकहरु रमाए । कार्यक्रममा विभिन्न विधाका प्रतियोगितामा बिजयीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । महोत्सव अवधिमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, मम्मी डान्स, कुस्ती प्रतियोगिता, ब्याडमिन्टर प्रतियोगिता समेत संचालन गरिएको थियो ।
तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजना तथा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमाको सहआयाजनामा भएको महोत्सवमा २ सय ४१ स्टलहरु सहभागी रहेको स्टल ब्यवस्थापन उपसमिति संयोजक सतिश सापकोटाले जानकारी दिनुभयो ।