भैरहवा । स्थानीय ब्यपार प्रवर्द्धन गर्ने उद्देश्य सहित भैरहवामा आयोजित ८ औ लुम्बिनी राष्ट्रिय महोत्सव सोमबार सकिएको छ । मंसिर २३ देखि पुस ४ गतेसम्म सञ्चालन भएको महोत्सवमा २ लाखको हाराहारीमा दर्शकले अवलोकन गरेको र ५ करोड बढी कारोबार भएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र नेपाल उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को समापन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले देशको अर्थतन्त्र निकै नाजुक अवस्थामा पुगेको बताउनुभयो ।
अर्थतन्त्रमा अहिलेको जस्तो समस्या कहिल्यै नभएको बताउँदै उहाँले हरेक क्षेत्र संकटमा रहेको बताउनुभयो । उहाँले बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा उद्योगी व्यवसायी पुगेकाले राज्यले निकास दिनुपर्नेमा जोड दिनुभयो ।
संविधानसभा सदस्य आदित्य नारायण कसौधनले महोत्सव सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । उहाँले चर्को बैंक ब्याजदरले उद्योगी व्यवसायीसँगै आम नागरिक मारमा परेको गुनासो गर्नुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले नेता र कर्मचारीले सुशासनको पालना नगरेसम्म राष्ट्रको अर्थतन्त्र बलियो हुन नसक्ने जिकिर गर्नुभयो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले मुलुकको विकासमा सबैको भूमिका महत्वपूर्ण रहने धारणा राख्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले पुस मसान्तमा बैंकको किस्ता तिर्न सक्ने अवस्था नरहेको बताउँदे चर्को बैंक ब्याजदरका कारण मुलुक समस्यामा परेका कारण निकास खोज्न सरकारसँग आग्रह गर्नुभयो ।
उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले मेला महोत्सवको आयोजना गर्न स्थायी मण्डपको आवश्यकता रहेको भनाइ राख्नुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले प्रतिकूल परिस्थितिमा पनि महोत्सव सम्पन्न गरिएको बताउँदै अस्थायी संरचनामा ठूलो धनराशी खर्च गर्नुपरेको गुनासो गर्नुभयो ।
‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ गत मंसिर २३ गतेदेखि भैरहवास्थित अञ्चलपुरमा आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ (पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) सुरु भएको थियो ।