बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ भोलिदेखि बुटवलमा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ शुरु हुँदैछ ।
बुटवल मण्डपमा आयोजित विशेष समारोहकाबीच प्रदर्शनीको उद्घाटन भोलि दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ । प्रदर्शनीको आवश्यक सबै तयारी पुरा संघले जनाएको छ । उद्घाटन कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालको पनि उपस्थिति रहने संघले जनाएको छ ।
बुटवल मण्डपमा निर्माणाधिन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न प्रकृतिका ४ सय ५० वटा स्टलहरु रहने छन् । त्यसैगरी बनेका स्टलहरुलाई विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ ।
प्रदर्शनीको पूर्व सन्ध्यामा बुधवार औद्योगिक जनचेतना र्याली निकालिएको छ । प्रदर्शनी स्थल बुटवल मण्डपबाट शुरु भएको र्याली राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुँदै पुनः प्रदर्शनी स्थलमा आएर समापन भएको थियो ।
र्यालीमा जातजाती, भेषभुषा, विद्यालय, धार्मिक, टोल विकास समिति, उद्योग आदि गरी ५२ संघसंस्थाहरुको सहभागिता रहेको थियो । प्रदर्शनी मुल आयोजक समितिका पदाधिकारी, उपसमितिका सदस्यहरु, सल्लाहाकारहरुको अगुवाईमा गरिएको र्यालीमा औद्योगिक विकासका लागि विभिन्न नारा लेखिएका प्ले कार्ड बोकिएको थियो ।
र्यालीको समापनका अवसरमा सहभागीहरुलाई मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । औद्योगिक जनचेतना र्यालीका संयोजक चन्द्रकान्त खनालले दिएको जानकारी अनुसार विभिन्न ६ वटा विधामा पुरस्कृत गरिएको थियो ।
संयोजक खनालका अनुसार टोल विकास संस्थातर्फ बुटवल उपमहानगरपालिका वडा नं. ६ को स्वास्थ्य सहनसिल आमा समुह प्रथम, श्रृजना साँस्कृतिक आमा समुह वडा नं. ८ दोस्रोे र श्रृजना आमा समुह वडा नं.१० र बुद्ध टोल विकास संस्था तेस्रो, जनजाती तर्फ क्षेत्री समाज रुपन्देही प्रथम, लिलाराम न्यौपाने भैरहवा थारु समुह दोस्रो, रजाय मुस्ताफा मस्जित समिति, बुटवल तेस्रो, धार्मीक–सांस्कृतिक तर्फ श्री ब्रह्म कुमारी इश्वरीय विश्व विद्यालय प्रथम, नेपाल अन्तर्राष्ट्रियकृष्ण भावनामृत संघ,(स्कोन नेपाल) दोस्रो र सन्तोषी माता गुरुकुल विद्यालय, बुटवल ९ तेस्रो भएका छन् ।
त्यसैगरी क्लब–संघसंसथातर्फ नृत्य निर्देशक संघ प्रथम, ग्रिल तथा स्टिल व्यवसायी संघ, रुपन्देही दोस्रो र मिसन गु्रप नेपाल तेस्रो भएका छन् ।
र्यालीमा सहभागी र पुरस्कृतहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य गोपाल प्रसाद भट्टराईले प्रमाणपत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा मूल्याङ्कन समितिका संयोजक बाबुराम बोहोराले मूल्याङ्कन प्रतिवदशन सार्वजनिक गर्नु भएको थियो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष बोनिन पिया, बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख टेकराज पन्थी लगायत बोल्नु भएको थियो । कार्यक्रम मुल समितिका संयोजक माधव प्रसाद पौडेलको अध्यक्षता, सदस्य सचिव हरि बहादुर खत्रीको सञ्चालन र औद्योगिक जनचेतना ¥यालीका संयोजक चन्द्रकान्त खनालको स्वागतमा भएको थियो ।
यस पटकको प्रदर्शनीमा ७ लाख दर्शकले अवलोलकन गर्ने र २५ करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ ।
प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, टिकटक ट्यालेन्ट हन्ट, भजन प्रतियोगिता लगायतका प्रतियोगिताहरु रहने छन् ।
प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित बस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदान–प्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने,अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिने जनाइएको छ ।