भैरहवा–कोरोना भाईरस संक्रमणको जोखिम बढ्दो छ। भारतबाट नेपाल आउनेहरु अधिकांशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सरकारले सीमा क्षेत्रमा झनै कडाई गर्ने बताइरहेको छ। तर, रुपन्देहीको सिमा क्षेत्रमा हाट बजार लाग्ने गरेको छ। लकडाउनको समयमा प्रशासनले अनिश्चितकालसम्मका लागि रोक लगाएको हाटबजार रुपन्देहीको करौतामा निर्वाध रुपमा लाग्ने गरेको छ।
तीव्ररुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सर्तकता अपनाउनका लागि हाटबजारमा रोक लगाएपनि नेपाल–भारत सीमा क्षेत्र नजिकै पर्ने सो बजार नियमित छ। प्रहरी चौकी मुडिला करौताको ठीक अगाडि रहेको उक्त बजार विगत २ महिनादेखि नियमित लाग्दै आएको छ।
‘स्थानीय प्रभात शुक्लाजीको जमिन हो वषौंदेखि बजार लाग्दै आएको छ, पहिला बैठकी दिने गरेपनि अहिले लिने गरेका छैनन्, कोरोना भाईरसको महामारीले २ महिना जति बन्द थियो अहिले नियमित हाट लागिरहेको छ’–स्थानीय राजन कुमारले लुम्बिनी टाइम्ससँग भने।
भारतमा तीव्र रुपमा कोरोना संक्रमण फैलिएकोले हामीलाई पनि धेरै जोखिम छ, सुरक्षाका सामान्य शर्त र नियमहरु पालना नगरी भारतीयहरु बजारमा आउने गरेका छन्।
‘यसले त गाउँभर नै संक्रमण फैलिने हो कि भन्ने डर छ’–उनले भने।
नेपाल–भारत ओहोरदोहोर गर्न नेपाल सरकारले नै बन्देज लगाएपनि बजारका अधिकांश व्यापारी सीमापारिबाट आउने गरेका छन्।
‘भारत वडहराका किसानहरु तरकारी लिएर बजारमा बेच्न आउँछन्। सिधाबाटो आउँदा रोकतोक छ, खेतैखेतको बाटो प्रहरीलाई छलेर तरकारी बेच्न आउने गरेको उनीहरु बताउछन्’–उनले भने।
हप्ताको ३ दिन आइतबार, मंगलबार र बिहीबार लाग्ने यो बजार सीमा क्षेत्र नजिकै नेपाली भूमिमा लाग्ने भएकोले सीमापारिका किसान, व्यापारीहरु नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई छलेर भएपनि बजारमा आउने गरेका छन्।
पारीबाट गहुँ, चामल लिएर बजार गर्न आउनेहरुको पनि खेतमा लाम लाग्ने गरेको छ। वडाहरा, हरिवंशपुर, ठोठरी, भुसौला, लोटन सम्मका भारतीय नागरिक बजार भर्न आउँछन्।
हाटबजारमा हुने भीडभाड र चहलपहलका कारण कोरोना संक्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि पटक–पटक विज्ञप्ति प्रकाशित गरी मानिसहरुको भीडभाड तथा जमघट हुने कार्य बन्द गर्न, मास्कको प्रयोग गर्न आग्रह गर्दा समेत अवज्ञा भएको छ।
प्रहरी चौकीको ठीक अगाडि भारतीयहरु आएर हाटबजार लगाउँदा समेत प्रहरी मुकदर्शक बनेको छ।
अनिवार्य रुपमा मास्क लगाउन र भौतिक दूरी कायम गर्नुपर्ने भएपनि त्यस्तो कुनै प्रकारको सुरक्षा मापदण्ड अपनाइएको छैन।
बजारको माध्यमले पनि नेपाल–भारत ओहोरदोहोर निकै बढेको छ। खुला सीमाका कारण खेतको बाटो भएर आउँदा सीमित प्रहरीले रोक्न पनि सम्भव छैन।
यस्तो ओहोरदोहोरले भारतमा समुदायस्तरमै फैलिएको कोरोना भाइरसको संक्रमण सहजै नेपालमा आउन सक्छ।
‘सरकारले लकडाउन गर्ने समयमा गाउँपालिका क्षेत्रका सबै बजार बन्द थिए, अहिले लकडाउन हटेकोले स्थानीय बजारहरु क्रमशः शुरु भएका छन्, यसमा गाउँपालिकाले कुनै हस्तक्षेप गरेको छैन’–सम्मरीमाई गाँउपालिकाका प्रमुख जितेन्द्रनाथ शुक्ला बब्लुले भने।