काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधार गर्ने कुरा सजिलो नभए पनि अठोट गरेमा सम्भव रहेको बताउनुभएको छ । आइतबार साँझ नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले दृढताका साथ अठोट गरे नेपाली अर्थतन्त्रको सुधार गर्न सकिने बताउनुभएको हो ।
‘‘मैले राष्ट्र र जनताका अगाडि गरेको संकल्पलाई पूरा गर्ने संकल्प लिएको छु । यो संकल्पमा एक जुट हुन सबैलाई अनुरोध गर्दछु । अर्थतन्त्र सुधार गर्ने कुरा, नेपाली अर्थतन्त्रको अबको बाटो निर्धारित गर्ने कुरा र संस्कार बदल्ने कुरा सजिलो छैन । तर हामीले परिस्थितिलाई सकारात्मक परिवर्तन ल्याउने अठोट गरेमा असम्भव हुँदैन ।’’ अर्थतन्त्र सुधारका लागि राष्ट्र र अन्तर्राष्ट्रिय परिस्थितिको सवाललाई सामना गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले सुशासन र समृद्धिको नयाँ यात्राको रुपमा परिभाषित गरेर सरकार अगाडि बढेको उल्लेख गर्नुभयो । बेथिति र नेपाली युवाले पाइरहेको हैरानीलाई कम गर्नेगरी सरकार अगाडि बढेकोसमेत बताउनुभयो।
सरकारको प्राथमिकता र न्यूनतम कार्यक्रममा अब यो देशले लिनुपर्ने बाटोको प्रारम्भिक मार्गचित्र प्रस्तुत गरेको उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘मैले गम्भीरताका साथ संसदमा आफ्ना विचार संक्षिप्त भए पनि राखेको छु । परम्परागत ढंगले हुँदैन, नयाँ संरचनामा जानुपर्छ भनेको छु ।’’
प्रधानमन्त्री प्रचण्डले अहिले आफूलाई अर्थशास्त्रका विज्ञको असाध्यै खाँचो भएको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अहिले मैले अर्थशास्त्रका बारेमा विज्ञको असाध्यै बढी आवश्यकता महसुस गरेको छु ।’’
प्रधानमन्त्री प्रचण्डले लामो राजनीतिक संघर्ष र नयाँ संविधानले दिएको अधिकार खोस्ने कुरा भए त्यो दुर्भाग्यपूर्ण हुनेसमेत बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘‘जनताका अधिकार खोस्ने कुरा गरियो भने त्यो भन्दा दुर्भाग्यपूर्ण कुरा केही पनि हुँदैन । संघीयता कार्यान्वयनका विषयमा हामी इमान्दर बन्नुपर्छ । सोच बदल्ने कुराको निम्ति नै मैले नयाँ ‘ओरियन्टेसन’तर्फ जाने कुरा गरिरहेको छु ।’’