काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु बजेटको मध्यावधि समीक्षा प्रतिवेदन पेश गर्नुभएको छ ।
बैठकमा समीक्षा प्रतिवेदन पेश गर्नुहुँदै अर्थमन्त्री पौडेलले बजेटको आकार घटाइएको जानकारी दिनुहुँदै पुँजीगत खर्चतर्फ भने बजेट खर्च बढाउन जोड दिइएकोले विकास निर्माणका कामहरू प्रभावित नहुने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले कृषि र पर्यटनमा सुधार हुने देखिए पनि उत्पादनमूलक क्षेत्रमा समस्या देखिएकाले पनि अर्थतन्त्रमा समस्या कायमै रहेको भएपनि यसलाई चुनौतीका रुपमा लिएर अघि बढ्ने बताउनुभयो ।
बैठकमा सांसदहरुले बजेट कटौती गर्ने अनि निकटतम र पहुँचका आधारमा बजेट दिने प्रवृत्ति हटाउनुपर्ने, विकास निर्माणका कामलाई तीव्रता दिएर जनतालाई परिवर्तनको अनुभूति दिने गरी काम गर्नुपर्ने लगायतका विषयमा जोड दिनुभयो ।
सांसदहरुले मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउने तर्फ सबैको एकमत हुनुपर्ने, आवश्यकता र औचित्यको आधारमा मात्र योजना तथा कार्यक्रमको छनौट र बजेटको विनियोजन गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।
यस्तै राष्ट्रिय सभाको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश गनुभयो ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुव बहादुर प्रधानले मन्त्रिपरिषद्को बाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सभा समक्ष पेश गर्नुभयो ।
राष्ट्रिय सभाको बैठकले पूर्व सांसद कर्मा घलेको निधनमा शोक व्यक्त गदै शोक प्रस्ताव पनि पारित गरेको छ ।