काठमाडौँ । साताको पाँचौ दिन विहीबार सेयर बजार घटेको छ । पुँजी बजार मापक नेप्से परिसूचक ५७ अंकभन्दा बढीले घटेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार सो अंकले घटेर २०२२.६४ विन्दुमा कारोबार बन्द भएको छ । लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले अनियन्त्रित कर्जा लगानी, प्रोभिजन र लाभांशमा गरेको कडाइको असर सेयर बजारमा देखिएको छ।
बिहीबार २.७८ प्रतिशतले घटेको सेयर बजारमा ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच भएको छ । जसबाट २ अर्ब ५२ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिनको कारोबारमा २०३ कम्पनीका ऋणपत्रको मूल्य घटेको छ भने १४ कम्पनीका ऋणपत्रको मूल्य बढेको छ । १ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।
सेयर बजार घटे पनि नेपाल हाइड्रो डेभलपर लिमिटेड, सामलिङ पावर कम्पनी लिमिटेड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ–२ कम्पनीले भने नाफा कमाएका छन् ।
यस्तै, विभिन्न ३७ वटा कम्पनीको सेयर मूल्य भने १० प्रतिशतको हाराहारीमा घटेको छ । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ७० लाख ७३ हजार रुपैँया बराबरको सेयर कारोबार भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त बैंकको २ लाख ७६ हजार ७५८ कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको १४६८ पटक कारोबार भएको छ ।