बुटवल । बुटवलका पत्रकार माधव नेपालले शाइन रेसुंगा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले स्थापना गरेको उक्त पुरस्कार बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा आज पत्रकार नेपाललाई प्रदान गरिएको हो । नेपालपत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा स्थापित पुरस्कारको राशी रु ५० हजार १ सय ११ रहेको छ ।
बैंकले पत्रकार महासंघ रुपन्देहीमा रु ५ लाख अक्षयकोष स्थापना गरेको छ । उक्त अक्षयकोषको ब्याजबाट गतवर्षदेखि पुरस्कार वितरण गर्न थालिएको हो ।
दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार नेपाल बीबीसी नेपाली सेवा र बुटवल एफएममा कार्यरत हुनुहुन्छ ।
बैंकका अध्यक्ष थानेश्वर पौडेल, प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र पत्रकार महासंघ रुपन्देहीकाअध्यक्ष रामराज पोखरेलले पत्रकार नेपाललाई पुरस्कार राशीको चेक र कदर पत्रले पुरस्कृत गर्नुभएको हो ।
वार्षिकोत्सवको अवसरमा बैंकले गुल्मीको बलेटक्सार र तिलोत्तमाको ज्योतिनगर शाखालाई उत्कृष्ट ग्रामीण शाखाका रुपमा पुरस्कृत गरेको छ । समारोहमा बैंकले डिजिटल क्रेडिट कार्ड शुभारम्भ गरेको छ ।
पुरस्कार वितरण समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले इथिकल बैकिङ, राष्ट्र बैंकको मार्गनिर्देश अनुसार अघि बढेकाले शाइन रेसुंगा काठमाडौं उपत्यकाबाहिर प्रधानकार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको उल्लेख गर्नुभयो ।
बैंकका अध्यक्ष पौडेलले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवका अवसरमा १४ हजार बृक्षरोपण गरेको, डिजिटल बैकिङ साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरी ३० वटा कार्यक्रममा ३ हजार बढीलाई सहभागी गराएको, वन वाटिकाको टिकटिङलाई अनलाइन गरिएको र डिजिटल स्कूल परियोजना अन्तर्गत १५ वटा सरकारी विद्यालयमा रु २० लाख बराबरको उपकरण प्रदान गरिएको बताउनुभयो ।
यस्तै शाइन उद्यमशीलता कार्यक्रम अन्तर्गत कलेजमा अध्ययनरत विद्यार्थी र युवालाई उद्यमशीलबनाउन र स्वरोजगार अभिबृद्धि गर्न ३३ वटा क्याम्पसमा उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम गरिएको जानकारी गराउनुभयो । प्रदेश १ र २ वाहेक ५ वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा रहेकामा बैंकका ६० प्रतिशत शाखाहरु ग्रामीण क्षेत्रमा रहेका बैंकले जनाएको छ ।