काठमाडौँ । मुलुकमा आउने प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३८ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको आठ महिना (साउन–फागुन)सम्म प्रत्यक्ष वैदेशिक लगानी ३७ दशमलव ९३ प्रतिशतले घटेको हो । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य कमी आएको हो ।
उद्योग विभागका अनुसार यो आठ महिनामा १५९ परियोजनामार्फत २० अर्ब ५६ करोड २३ लाख रुपियाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । अघिल्लो वर्ष सो अवधिमा ३३ अर्ब १२ करोड ६६ लाख रुपियाँको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष १२ अर्ब ५६ करोड ६५ लाख रुपियाँ कमी हो ।
यो वर्ष १५९ वटा परियोजनामा १३४ वटा साना उद्योग, २२ वटा मझौला र तीनवटा ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । ती परियोजनामार्फत नौ हजार ४७८ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।