काठमाडौँ । वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्नुभएको हो ।
योजनाको शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री दाहालले रोजगारी कै लागि बाध्यात्मक रुपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने कुरा नै अबको जिम्मेवारी भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले विदेशमा रहेका सबै नेपालीलाई सामाजिक सुरक्षा कोषले शुरु गरेको दूरगामी महत्त्वको कार्यक्रममा जोडिन र सुरक्षित महसुस गर्न आग्रह गर्नुभयो ।
उहाँले आगामी वैशाखबाट शुरु हुने सबै अनौपचारिक स्वरोजगार क्षेत्रका श्रमिकहरू सम्म सामाजिक सुरक्षा योजना पुग्ने निश्चित भएकाले राज्यले दिने सामाजिक सुरक्षाको दायरा फराकिलो बन्दै गएको बताउनुभयो ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने गर्ने उद्देश्यले कार्यक्रम शुभारम्भ गरिएको हो । उक्त योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ ।
स्वीकृत कार्यविधि बमोजिम वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम दुई हजार रुपैयाँ मासिक रूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् ।
कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा ३० अर्ब ८७ करोड रुपैयाँ योगदान रकम सङ्कलन भएको छ ।
कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो ।