बुटवल । बुटवलका २ वटा व्यवसायीक स्थलमा दुग्ध सहकारीका किसानहरुले धर्ना दिएका छन् । बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र डेरि उद्योग संघका पूर्व अध्यक्ष समेत रहेका नेत्र पाठकले संचालन गरेको पाठक दुध डेरीले दुधको पैसा नतिरेको भन्दै किसानहरुले धर्ना दिएका हुन्।
दुध खरिद गरेको रकम पटक पटक ताकेता गर्दा पनि नतिरेको भन्दै किसानहरु आएर दुबै पसलमा धर्ना दिएको बताएका छन् ।सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरेका अनुसार कस्तूरी मिष्ठान्न भन्डारले १३ लाख ७० हजार ४ सय र पाठक दुध डेरीले ११ लाख ६० हजार तिर्न बांकी छ । पटक पटक चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्काउंदै आएकाले अनिश्चितकालीन धर्नामा बस्नु परेको सहकारीका अध्यक्ष घिमिरेले बताए ।
पाठक डेरिले जिल्ला डेरि उद्योग संघको रोहबरमा एक हप्तामा साटिने भाका राखेर १० लाखको चेक दिएका छन् भने बाँकी पैसा भोलि नगदै दिने सहमति गरेको धर्ना बस्न आएका एक किसानले बताए । कस्तुरी मिस्ठान भण्डारले भने अझै पैसा दिने संकेत नगरेको उनले बताए ।