तिलोत्तमा, वैशाख १० । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रा.लि.को आवास परियोजना तिलोत्तमा होम्स्मा घर हस्तान्तरण गर्न सुरु गरिएको छ । निर्माण सम्पन्न भएका घरहरु सम्बन्धित घर धनीलाई हस्तान्तरण गर्न सुरु गरिएको हो ।
आइतबार कम्पनीले अग्रीम बुकिङ गरेकाहरु मध्ये दुई जनालाई घर हस्तान्तरण गरेको छ । क्रमशः निर्माण सम्पन्न गरिएका घरहरु सम्बन्धित धनीलाई हस्तान्तरण गरिने प्रा.लि.का अध्यक्ष नेत्र वनले जानकारी दिनुभयो । आइतबार आयोजित कार्यक्रममा कम्पनीले शंकर प्रसाद पौडेल र रिद्धी शर्मालाई घर हस्तान्तरण गरेको छ ।
कम्पनीका अनुसार उहाँहरुले सबैभन्दा पहिला घर बुकिङ गर्नुभएको थियो । कम्पनीले तिलोत्तमा–७ भलबारीमा झण्डै ६ विगाहा क्षेत्रफलमा सुरु गरेको आवास विकास परियोजनामा हालसम्म ४४ वटा घरहरु निर्माण भएका छन् । ती घरहरुलाई फिनिसिङ र आन्तरिक सजावट गर्ने काम हाल भैरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले १०९ वटा घरको साथैं परियोजनास्थल कम्पाउण्ड भित्र सबै घरपरिवारले उपयोग गर्न मिल्नेगरी अत्याधुनिक कमर्शियल कम्प्लेस, सामुदायिक भवन, ब्याडमिन्टन कवर्ड हल, बास्केटबल कोर्ट, स्वीमिङ्ग पुल, चिल्ड्रेन्स पार्क, जिमखाना, मन्दिर, हेल्थक्लव, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, ग्रीन जोन रहनेछन् । परियोजना स्थलभित्र मापदण्डअनुसारको सडक खानेपानी, विद्युत्को व्यवस्था गरिएको छ ।
घरको स्वामित्व ग्रहण गर्दै घरधनी शंकरप्रसाद पौडेलले सबै सुविधासहितको आवास पाउँदा आफू निकैं खुशी भएको बताउँदै राज्यले गर्नुपर्ने एकीकृत बस्ती निर्माणको काम निजी क्षेत्रले गर्नु प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । यस्तै अर्का घरधनी रिद्धी शर्माले शहरी कोलाहलमा भन्दा तिलोत्तमा होम्स्मा बस्दा निकैं आनन्दको अनुभूति भएको बताउनुभयो ।
त्यसअवसरमा प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले छरिएको बस्तीमा राज्यलाई आधारभूत आवश्यकता पुर्याउन कठिन भैरहेको अवस्थामा एकीकृत आवास परियोजनाले धेरै परिवारलाई सबै सुविधा एकैं ठाउँमा पुर्याउन सकिने बताउनुभयो । यस्तै तिलोत्तमा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष देवीप्रसाद पंगेनीले एकीकृत बस्ती बस्नु निकैं स्रहानीय कार्य भएको बताउँदै नवआन्तुक परिवारलाई आफ्नो वडामामा स्वागत गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयो ।
यस्तै करहिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष हेमराज पौडेलले तिलोत्तमा होम्स्मा बस्ने परिवारलाई हरेक समयमा सघाउन स्थानीय समुदाय सधैं तत्पर रहने बताउनुभयो । सिंचाई नहर व्यवस्थापन समितिका अध्यक्ष रेशम रोकाले तिलोत्तमा होम्स् यस क्षेत्रका लागि नमूना रहेको बताउँदै परियोजनालाई सहजीकरण गर्न आफूहरु सधैं तयार रहेको स्पष्ट पार्नुभयो । तिलोत्तमा होम्स् यस क्षेत्रको सबैभन्दा पहिलो आकर्षक आवास परियोजना हो ।
यहाँ जग्गा र घरको क्षेत्रफलको आधारमा ग्रुप ए मा ४२ वटा र ग्रुप बी मा ६७ वटा घरहरु निर्माण हुँदै छन् । गु्रप ए मा पर्ने घरको कुल क्षेत्रफल १५ धुर र भवन २९२० स्क्वायर फुट र गु्रप बी मा पर्ने घरको कुल कुल क्षेत्रफल १० धुर र भवन २१८१ स्क्वायर फुटको हुनेछन् । परियोजनाको निर्माण कार्य सर्वश्रेष्ठ बिल्डर्सले गरेको छ ।
कम्पनीका अध्यक्ष वनले सरकारले निर्धारण गरेका मापदण्डलाई पालना गरी सम्पूर्ण सुविधा एकै ठाउँमा प्राप्त हुनेगरी सुरक्षित र स्मार्ट आवास क्षेत्र निर्माण गर्ने सरकार नीतिअनुरुप निजी क्षेत्रबाट यो परियोजना कार्यान्वयन गर्न थालिएको बताउनुभयो । परियोजना अन्तर्गत् बन्ने घर तथा अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने सामाग्री सरकारले तोकेको मापदण्डअनुसारका हुने र निर्माण कार्य पूर्णतः ईञ्जिनियरको सुपरीवेक्षणमा हुने कम्पनीले जनाएको छ ।
परियोजना निर्माण स्थलको माटो परीक्षण गरी त्यसको आधारमा नक्सा डिजाइन गरिएकोले यहाँ बन्ने घरहरु भूकम्प प्रतिरोधात्मक हुनेछन् । परियोजना स्थलमा ढल निकास, खानेपानी व्यवस्थापन, टेलिफोन, विद्युत् जस्ता पूर्वाधार विकासको काम कम्पनी आफैंले गर्नेछ । परियोजना अन्तर्गत् बन्ने घरहरुको निर्माण कार्य सकिएर सम्पूर्ण घर बिक्री भएपछि त्यहाँ रहने सार्वजनिक स्थान तथा पूर्वाधारको सञ्चालन तथा व्यवस्थापनको जिम्मा त्यहाँ रहने सोसाइटी आफैंले गर्ने अध्यक्ष वनको भनाइ छ । घर खरिदको लागि कम्पनीले फाइनान्स सुविधाको सुविधा समेत उपलब्ध गराएको छ ।